भोटेकोशी बाढी पीडितहरूको राहतका लागि नेपालगन्ज भन्सारमा सहजीकरणको काम गर्दै आएका ७५ बर्षीय ज्येष्ठ नागरिक अब्दुल सलाम सिद्दिकीले प्रधानमन्त्री प्रकोप उद्दार कोषमा २ लाख ५१ हजार रूपैयाँ सहयोग गरेको छन् । उनले कोषमा जम्मा गरिएको भौचर नयाँ पुस्ता सहित प्रशासन पुगेबा बाँकेका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामांगलाई हस्तान्तरण गरेका थिए । ‘नयाँ पुस्तामा मानवीय सहयोगको भावना विकास होस् भनेर सँगै लगेको हु’, उनले भने ।
त्यस्तै, नेपालगन्ज भन्सारमा कार्यरत कर्मचारीहरूले कोषमा २ लाख ३८ हजार ५ सय ७८ रूपैयाँ सहयोग गरेको नेपालगन्ज भन्सार प्रमुख, जनार्दन पौडेलले जानकारी दिएका छन् ।
त्यस्तै, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हालसम्म १३ अर्ब २३ करोड १० लाख ८१ हजार २६७ रूपैयाँ जम्मा भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार शुक्रवार साँझ ५ बजेसम्म विभिन्न नौवटा बैंकमा रहेको कोषको खातामा ९ अर्ब ६८ करोड २३ लाख ५५ हजार २५ रूपैयाँ जम्मा भएको छ ।
त्यस्तै, कोषका दुईवटा बैंकमा रहेका डलर खातामा २ करोड ३२ लाख ८४ हजार ७७ अमेरिकी डलर जम्मा भएको कार्यालयले जनाएको छ ।
सरकारले कोषमा जम्मा भएको रकममध्ये भदौ १० गते रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीबाट प्रभावितको राहत तथा उद्धारका लागि यसअघि नै १ अर्ब रूपैयाँ निकासा गरिसकेको छ । राहत रकम राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत बाढीपीडितका लागि निकासा गरिएको हो ।





























