विनय दीक्षित
बाँके नरैनापुरमा पटक पटक शैक्षिक विषय, मुद्दा र एजेण्डामा आन्दोलन हुँदै आएपनि एकजना शिक्षिकाले पछिल्लो तीन वर्ष देखि विद्यालय नगएर घरबाटै तलब बुझेको खुलेको छ ।
नरैनापुर गाउँपालिका वडा नं.२ रोशनपुरवा गाउँमा रहेको श्री नेपाल राष्ट्रिय मदरसा अरबिया आधारभूत विद्यालयमा गाउँपालिका अनुदानबाट कम्प्युटर शिक्षकको रुपमा नियुक्त रहेकी ज्योति कुमारी यादव पछिल्लो तीन वर्ष देखि घरबाटै तलब बुझ्दै आएको खुलेको हो ।
शिक्षिका यादवलाई विद्यार्थी र गाउँका अभिभावकले चिन्दैनन् । कागजी रुपमा कसैलाई थाहा नदिई गोप्य रुपमा भर्ना भई नियुक्त रहेकी शिक्षिका यादव सोही विद्यालयका प्रधानाध्यापक राजकुमार यादवको बुहारी हुन् ।
विद्यालयमा शिक्षक संख्या बारे खोजी गर्दा शिक्षिका यादवको नाम सुनेपछि अभिभावक र विद्यार्थी आफै आश्चर्यचकित देखिए । “हामीले कहिले पनि शिक्षिका यादवलाई विद्यालयमा आएको देखेका छैनौ”, स्थानीय अभिावक समेत रहेका साजिद खाँले भने, “निज यहाँ शिक्षक रहेको बारे कसैलाई जानकारी छैन ।”
नरैनापुर शिक्षा युवा तथा खेलकुद शाखाको लेजर अनुसार निज शिक्षिका यादवको मासिक तलब २० हजार रुपैया नियमित रुपमा गएको र निजले विद्यालयको उपस्थिति रजिष्टरमा नियमित हस्ताक्षर गरेको देखिन्छ । मधेश प्रदेशमा घर भएकी र विद्यालयमा उपस्थित नै नहुने शिक्षिका यादवको हस्ताक्षर विद्यालयकै प्रधानाध्याक राजकुमार यादवले गर्दै आएको तथ्य पनि बहिरियो ।
शिक्षिका यादवलाई गोप्य रुपमा मिति २०८० साल असोज २४ गते नियुक्त गरिएको नरैनापुर गाउँपालिकाले जनाएको छ । ‘गाउँपालिका श्रोतका अनुसार विद्यालयबाट माग भएको तलब कागजात रुजु गरेर हामी सम्बन्धित विद्यालयमा पठाउँछौं’, श्रोतले भन्यो, ‘कर्मचारी भर्ना प्रक्रियामा सम्बन्धित शाखा र विद्यालयको मात्र सरोकार हुन्छ ।’
विद्यालयका प्रधानाध्यापक राज कुमार यादवले त्यस्तो अवस्था नरहेको बताएका छन् । ‘सामाजिक सञ्जालहरुमा मैले पनि विषय बारे जानकारी पाएको हुँ’, दैनिक नेपालगन्ज संग कुरा गर्दै उनले भने, ‘म यसमा के कसो हुन गएको हो म आफै बुझ्दैछु ।’
‘घटना बारे जानकारी आउने वित्तिकै हामीले विद्यालयको आवश्यक विवरणहरु झिकाएका छौं’, दैनिक नेपालगन्ज संगको कुराकानीमा नरैनापुर शिक्षा शाखा प्रमुख कमल प्रतिक केसीले भने, ‘यो नितान्त गम्भिर विषय हो ।’
'सिमावर्ती क्षेत्रमा विद्यालय रहेको र त्यहाँ आवतजावत गर्ने बाटो समेत असुविधा भएकोले विद्यालयमा नियमित अनुगमन हुन नसकेको हो', शिक्षा प्रमुख केसीले भने, 'अनाधिकृत नियुक्ती र तलब बारे जानकारी आएपछि सो बारे जाँच अघि बढाएका छौं ।'
‘जाँचपछि घटनाको विषयमा आवश्यकता अनुसार कारवाही हुन्छ’, शिक्षा प्रमुख केसीले भने, ‘यदि सूचना अनुसार नै घटना भएको रहेछ भने यो नरैनापुरका लागि गम्भीर र लागमर्दो घटना हो ।’
विद्यालयमा अब सिसिटिभी र इ—हाजिरी
विद्यालयका गतिविधि, विद्यार्थी र शिक्षकको उपस्थिति आदि नियमन गर्न नरैनापुरमा अब विद्यालयलाई डिजिटल प्रविधिबाट जोडिदै छ ।
प्रारम्भिक रुपमा माध्यमिक विद्यालयहरुलाई सिसिटिभी र इहाजिरीबाट जोडिने अभियान अघि बढाइएको नरैनापुर शिक्षा युवा तथा खेलकुद शाखाले जनाएको छ । विद्यालयमा विद्यार्थी र शिक्षकको उपस्थिति बारे पटक पटक विवादित सूचना आउने गरेकोले विद्यालयहरुलाई नियमन गर्न थालिएको शाखाले जनाएको छ ।
‘विद्यार्थीको भविष्यसंग लापरवाही गर्ने विरुद्ध हामी नितान्त निर्मम छौं’, शिक्षा शाखा प्रमुख कमल प्रतिक केसीले भने, ‘शिक्षामा लापरवाही र नातावाद कृपावाद हामी खारेज गरेर अघि बढेका छौं ।’
‘विद्यालय प्रति हुने गुनासो बारे हामीले नियमित अभिभावक संग समेत सहकार्य गरेर अघि बढ्ने प्रयासमा छौं’, केसीले दैनिक नेपालगन्ज संग भने, ‘विद्यालय प्रति केहि गुनासो भए प्रत्यक्ष रुपमा हामीलाई सूचित गर्न समेत हामीले अभिभावकलाई आव्हान गरेका छौं ।’






























