नेपालगन्जमा जारी ऐतिहासिक रामलीलाको मुख्य आकर्षणका रूपमा रहेको रावण वध कार्यक्रम बुधबार दिउँसो गरिने भएको छ । बडादसैँको अवसरमा रामलीला मैदानमा दिउँसो १ बजे ४५ फिट अग्लो रावणको विशाल पुतला दहन गरिने श्री रामलीला सञ्चालक समितिले जनाएको छ ।
आकर्षक रूपमा तयार पारिएको भीमकाय रावणको पुतला दहन हेर्न उल्लेख्य दर्शक उपस्थित हुने अपेक्षा गरिएको छ । श्री रामलीला सञ्चालक समितिका अध्यक्ष सन्तोषकुमार कानोडियाले रावण वध अवलोकनका लागि सबैलाई अपिल गरेका छन् ।
नेपालगन्जको पहिचानका रूपमा स्थापित ऐतिहासिक रामलीलाको १५९औँ शृंखला असोज २५ गतेदेखि सञ्चालन भइरहेको छ । हरेक दिन साँझ ८ बजेदेखि मञ्चन हुँदै आएको रामलीलामा भगवान् राम र सीताको जीवनीमा आधारित विभिन्न प्रसंग नाटकीय रूपमा प्रस्तुत गरिँदै आएका छन् ।
रामलीला मञ्चनको अन्तिम दिन बिहीबार साँझ ८ बजे भरत मिलाप तथा श्रीरामको शुभ राज्याभिषेक कार्यक्रम आयोजना गरिने समितिले जनाएको छ । रावण वध, भरत मिलाप र राज्याभिषेकजस्ता धार्मिक कार्यक्रमले रामलीलाका भक्तजन तथा स्थानीय समुदायलाई आध्यात्मिक आनन्द प्रदान गर्ने विश्वास गरिएको छ ।






























