रुपैडिहास्थित नेपालगन्ज रोड रेलवे स्टेसनबाट लखनउका लागि बिहान र गोन्डाका लागि साँझ रेल सेवा सञ्चालन गर्न माग तीव्र बनेको छ । सीमावर्ती क्षेत्रका यात्रुलाई आवतजावतमा सहजता प्रदान गर्न रेलको समय परिवर्तन गर्नुका साथै सेवा विस्तार गर्न माग गरिएको हो ।
दैनिक रेल यात्री संघका अध्यक्ष जाफर इमाम रिजवीले रेल मन्त्रालय, पूर्वोत्तर रेलवेका महाप्रबन्धक र सांसदलाई पत्र पठाउँदै नेपालगन्ज रोडबाट लखनउको ऐशबागसम्म बिहान ६ः३० बजे रेल सञ्चालन गर्न माग गरेका छन् । उक्त रेल फर्किएर राति ९ः३० बजे नेपालगन्ज रोड रेलवे स्टेसन पुग्ने व्यवस्था गर्न उनले आग्रह गरेका छन् ।
राति १० बजेपछि भारत–नेपाल सीमा बन्द हुने भएकाले रेलबाट फर्किने यात्रुले समयमै नेपाल प्रवेश गर्न सक्ने गरी समयतालिका बनाउनुपर्ने उनको भनाइ छ ।
हाल लखनउका लागि सीधा रेल सेवा नहुँदा नेपाली र भारतीय सीमावर्ती क्षेत्रका यात्रुले समस्या भोग्दै आएका छन्। गत अगस्ट ३० मा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र केन्द्रीय रेलमन्त्री अश्विनी वैष्णवले रेललाई हरियो झण्डा देखाएर सेवा सुरु गरे पनि लखनउसम्मको सीधा रेल सेवा उपलब्ध हुन नसकेको समाचारमा उल्लेख छ ।
बाँके, बर्दिया, कञ्चनपुर, कैलाली र सुर्खेतलगायत नेपाली जिल्लाका साथै सीमावर्ती भारतीय क्षेत्रका बासिन्दा उपचार, व्यापार, शिक्षा र सरकारी कामका लागि लखनउ जाँदा निजी तथा सरकारी बस र ट्याक्सीमा निर्भर हुनुपरेको छ। यसले यात्रा लामो र खर्चिलो हुने गरेको छ भने यात्रुले पर्याप्त सुविधा पनि पाउन सकेका छैनन् ।
यसैगरी, साँझ गोन्डाबाट नेपालगन्ज रोडका लागि रेल सेवा नहुँदा बहराइचमा अध्ययनरत विद्यार्थी, वकिल, व्यापारी र विभिन्न पेसामा आबद्ध व्यक्तिले महँगा ट्याक्सी तथा बस प्रयोग गर्नुपर्ने बाध्यता रहेको रिजवीले पत्रमा उल्लेख गरेका छन् ।
उनले बहराइचबाट साँझ ६ बजे छुटेर ७ः३० बजे नेपालगन्ज रोड पुग्ने गरी रेल सञ्चालन गर्न र त्यसपछि उक्त रेललाई गोन्डातर्फ पठाउने व्यवस्था गर्न माग गरेका छन्। यसबाट हजारौँ यात्रुलाई सुविधा पुग्नुका साथै रेलवेले प्राप्त गर्ने राजस्वसमेत बढ्ने उनको दाबी छ ।
दैनिक रेल यात्रु तथा गोन्डा–नेपालगन्ज रोड खण्डमा आवतजावत गर्ने यात्रुले गोन्डाबाट साँझ ६ः५० बजे छुट्ने ७५११३ डाउन रेललाई साँझ ५ बजे नै छुटाउने व्यवस्था गर्न पनि माग गरेका छन् । उक्त रेल नेपालगन्ज रोडसम्म सञ्चालन गर्न सके सीमावर्ती क्षेत्रका यात्रुलाई ठूलो राहत पुग्ने उनीहरूको अपेक्षा छ ।






























