नेपालमा जेसीबी निर्माण तथा हेभी इक्विपमेन्टको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्स प्रालिले पश्चिम नेपालका ग्राहकलाई लक्षित गर्दै नेपालगन्जमा नयाँ मेसिन जेसीबी एग्रिम्याक्स सार्वजनिक गरेको छ ।
होटल सिद्धार्थ नेपालगन्जमा कम्पनीले आयोजना गरेको ‘पार्टनर इन प्रोग्रेस’ कार्यक्रममा २५० भन्दा बढी ग्राहक, व्यावसायिक साझेदार तथा उद्योग क्षेत्रका प्रतिनिधिको उपस्थितिमा मेसिन सार्वजनिक गरिएको हो ।
कार्यक्रममा नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय समिति सदस्य टेकबहादुर खड्का, बाँकेका अध्यक्ष लीलाराज उपाध्याय, बर्दियाका वरिष्ठ उपाध्यक्ष विमल केसी, महासंघका पूर्व केन्द्रीय वरिष्ठ उपाध्यक्ष कर्ण मल्ल र एमएडब्लु अर्थमुभर्सका प्रमुख कार्यकारी अधिकृत तेजप्रसाद सुवेदीले संयुक्त रूपमा एग्रिम्याक्सको अनावरण गरे ।
सामग्री ओसारपसार तथा व्यवस्थापनका लागि डिजाइन गरिएको एग्रिम्याक्स बहुउपयोगी मेसिन हो । बेल ह्यान्डलर, उच्च क्षमताका सोभेल र क्ल्याम्पजस्ता परिवर्तन गर्न मिल्ने उपकरण जडान गर्न सकिने यस मेसिन कृषि, प्लाइउड उद्योग, रेडिमिक्स कंक्रिट तथा क्रसर प्लान्ट, ढुंगा–गिट्टी तथा बालुवा डिपो, उखु र कोइला उद्योगलगायतका क्षेत्रमा उपयोगी हुने कम्पनीले जनाएको छ । प्लान्ट तथा हायर व्यवसायमा समेत यसको प्रयोग गर्न सकिनेछ ।
कार्यक्रममा जेसीबीका अन्य उत्पादन जेसीबी ३डीएक्स सुपर, जेसीबी २२५ एलसीएम एक्स्काभेटर र जेसीबी जेनेरेटर पनि प्रदर्शन गरिएको थियो । ती उपकरणले निर्माण, अर्थमुभिङ तथा विद्युत् उत्पादनका क्षेत्रमा जेसीबीका विभिन्न विकल्प प्रस्तुत गरेका थिए ।
कार्यक्रमको अवसरमा १० जना ग्राहकलाई जेसीबी मेसिन हस्तान्तरण गरिएको थियो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुवेदीले ग्राहकलाई मेसिनको साँचो हस्तान्तरण गरेका थिए । मेसिन हस्तान्तरणले जेसीबी उत्पादनप्रति ग्राहकको निरन्तर विश्वास र पश्चिम नेपालमा कम्पनीले विस्तार गरेको व्यावसायिक साझेदारीलाई प्रतिबिम्बित गरेको कम्पनीले जनाएको छ ।






























