नेपालगन्जमा सामाजिक सरोकार र नागरिक समाजको भूमिकामाथि बहस गरिएको छ । महेन्द्र पुस्तकालय नेपालगन्ज, बाँकेको आयोजनामा भएको छलफलमा समाज, बौद्धिक वर्ग र नागरिक उत्तरदायित्वका विविध पक्षमाथि करिब दुई घण्टा विमर्श भयो । जहाँ विश्वविद्यालयका प्रमाणपत्र मात्रै बौद्धिकताको मानक हुन नसक्ने धारणा व्यक्त गरिएका छन् ।
कार्यक्रममा सहभागी वक्ताहरूले कुनै एउटा विषयको विज्ञ हुँदैमा सबै विषयमा जानकार बन्न खोज्ने प्रवृत्तिले समाजलाई अगाडि बढाउन नसक्ने निष्कर्ष निकाले । समाजलाई सही दिशामा अघि बढाउन विषयगत ज्ञान, विवेक, सामाजिक चेतना र जिम्मेवार नागरिक सहभागिता आवश्यक रहेको उनीहरूको धारणा थियो ।
छलफलका केन्द्रविन्दु, मुख्य वक्ता डा. अरुणा उप्रेतीले आफ्ना अनुभव र अनुभूति सुनाइन् । पत्रकार वीरेन्द्र जैसीले उनीसँग संवाद गर्दै समाजका विभिन्न समसामयिक र सामाजिक सरोकारका प्रश्न उठाए । जैसीले राखेका प्रश्नको डा. उप्रेतीले खुलेर जवाफ दिइन् । संवादका क्रममा सामाजिक व्यवहार, बौद्धिकता र नागरिक समाजको जिम्मेवारीका विषयले विशेष स्थान पाए । पोषण विद् डा. नेपाली खानाबारे पनि जानकारीमूलक धारणा राखेकी थिइन् ।
विश्वविद्यालयको औपचारिक शिक्षा र प्रमाणपत्रलाई मात्रै बौद्धिकताको आधार मान्न नसकिने विचार डा. राजन पाण्डेले राखे । ज्ञानको दायरा फराकिलो हुनुपर्ने र समाजप्रतिको बुझाइ तथा जिम्मेवारी पनि बौद्धिकताको महत्वपूर्ण पक्ष भएको उनको आशय थियो ।
कार्यक्रममा प्राडा कृष्णप्रसाद घिमिरे, नेता आइपी खरेल, साहित्यकार सुमित्रा न्यौपाने र पत्रकार हेमन्त कर्माचार्यलगायतले पनि डा. उप्रेतीसँग विभिन्न प्रश्न राख्दै आफ्ना धारणा व्यक्त गरे । सहभागीहरूले सामाजिक सरोकारका विषयमा प्रश्न उठाउने र फरक विचार सुन्ने अवसरका रूपमा कार्यक्रमलाई उपयोग गरेका थिए ।
कार्यक्रमको अवधारणा र विषयवस्तुमाथि लेखक नरेन्द्रजंग पीटरले धारणा राखेका थिए । सामाजिक बहसलाई फरक ढंगले अघि बढाउने उद्देश्यसहित तयार गरिएको कार्यक्रमको अवधारणा सहभागीहरूले राम्रो मानेका थिए ।
महेन्द्र पुस्तकालयका अध्यक्ष बलराम यादवको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण पुस्तकालयका निवर्तमान सचिव मणिरत्न अर्यालले गरेका थिए । समाजका विविध प्रश्नमा खुला संवाद र विचार आदानप्रदान गर्ने अवसर जुटाएको भन्दै सहभागीहरूले महेन्द्र पुस्तकालयलाई यसखालका कार्यक्रमको निरन्तरता दिन आग्रह गरे ।






























