बाँके नरैनापुर गाउँपालिका प्रशासकीय अधिकृत र अध्यक्ष विहीन भएका कारण सेवा प्रवाहमा जटिलता देखिएको छ । यस आर्थिक वर्षको पौष महिनामा वितरण हुनु पर्ने सामाजिक सुरक्षा भत्ता अहिले सम्म वितरण हुन सकेको छैन । नरैनापुर गाउँपालिका भित्र ६ वटै वडामा रहेका ३ हजार ४ सय ७६ जना लाभग्राही सेवा पाएका छैनन् ।
गाउँपालिका अध्यक्ष विरामीका कारण भारतको लखनउमा रहेको र २ महिना अघि प्रशासकीय अधिकृत मणिराम खरालको सरुवा भएपछि गाउँपालिकाको सेवा प्रवाह प्रभावित हुँदै आएको छ । ‘पौष महिना भित्रै पाउनु पर्ने भत्ता अहिले सम्म आएको छैन’, नरैनापुर ५ का लाभग्राही मंगल गोडियाले भने, ‘वितरण नहुने कारण बारे पनि कुनै जानकारी आएको छैन । सुनेछु गाउँपालिका अध्यक्ष नभएका कारण वितरण भएको छैन, उनले भने, बाँकी समस्या के हो हामीलाई जानकारी छैन । ’
‘प्रशासकीय अधिकृत नभएका कारण भत्ता वितरण हुनसकेको छैन’, नरैनापुर गाउँपालिका सामाजिक सुरक्षा तथा पंजीकरण शाखाका सहायक गोबिन्द गोडियाले भने, ‘लेखा शाखाबाट प्रशासकीय अधिकृत र त्यहाँबाट कोष लेखा नियन्त्रण कार्यालयमा पेश गर्नु पर्ने भएकोले समस्या देखिएको हो ।’
शिक्षक तथा कर्मचारीको तलब, विभिन्न विकास निर्माण बजेट, विद्यालयको खाजा, सहित आर्थिक क्रियाकलाप प्रभावित भएको नरैनापुर गाउँपालिका सूचना अधिकारी लक्ष्मीकान्त मिश्राले बताए । ‘थुप्रै योजनाका कार्यहरू समेत अघि बढेका छैनन्’, मिश्राले भने, ‘प्रशासकीय अधिकृत नभएका कारण गाउँपालिका नै जटिल अवस्थामा पुगेको छ ।’
‘केहि सिस्टम पनि फेरबदलका कारण समस्या देखिएको हो’, सामाजिक सुरक्षा शाखा प्रमुख जीवन लाल यादवले दैनिक नेपालगन्ज संग भने, ‘पहिला गाउँपालिकाबाट सिधै बैंक र बैंकबाट लाभग्राहीको खातामा पैसा पुग्थ्यो, अहिले कोष तथा लेखा नियन्त्रण कार्यालयबाट वितरण हुने तयारी भएका कारण ढिला भएको हो ।’ ‘कतिपय ब्यक्तिहरूको खातामा रहेको नाम र लगतमा लेखिएको नाममा फरक देखिएपछि त्यसलाई सच्याउने कार्य चलिरहेको थियो’, यादवले भने, ‘प्रशासकीय अधिकृत पनि नभएका कारण कतिपय काम समयमा हुन सकेको छैन ।’
‘आगामी ३ दिन भित्रै सामाजिक सुरक्षा भत्ता वितरण कार्य सुरु हुन्छ’, यादवले भने, ‘प्रशासकीय अधिकृत आउने जानकारी प्राप्त भएकाले समस्या समाधान हुन अब समय लाग्दैन ।’
वडामा कर्मचारी, जनप्रतिनिधि नभेटिदा सेवाग्राहीलाई सास्ती
नरैनापुरमा रहेका वडा कार्यालयको बेहाल अवस्था बाँके नरैनापुर गाउँपालिकामा कर्मचारीको छाडाशैलीले गर्दा सेवाग्राहीहरू सास्ती खेप्दै आएका छन् । आफ्नो समय सुविधा अनुसार कर्मचारी कार्यालय आउने प्रवृति बढ्दै गएपछि सेवाग्राहीको गुनासो बाहिर आएको हो ।
मंगलवार साढे १० बजेको समयमा एउटा मन्दिरको आयस्ता बारे जानकारी लिन वडा नं.३ कार्यालय पुगेका स्थानीय सुन्दरलाल यादवले सचिवलाई भेट्न सकेनन् । ‘सचिव भेटाउन धेरै कठिन काम हो’, दैनिक नेपालगन्ज संग कुरा गर्दै यादवले भने, ‘नियमित ड्युटी गर्ने स्थानीय कार्मचारी नै हुन्छन्, सचिवलाई देख्नै नपाएको धेरै भो ।’
सोमवार देखि नै अनुपस्थित रहेकी वडा सचिव वसन्ती कुलाल आफु अनुकूल वडा कार्यालय आउने गरेको कर्मचारीले बताएका छन् । ‘कोहलपुरमा उनको घर छ’, एक कर्मचारीले भने, ‘कुनै जरुरी काम नभए सम्म आउने कुरै हँुदैन ।’
मंगलवार ४ र २ नं.वडा सचिव जय प्रकाश पाठक पनि अनुपस्थित देखिए । दुईवटा वडाको जिम्मेवारी पाएका पाठक अनुपस्थित देखिएपछि ४ नं.वडा अध्यक्ष मनोज शर्माले सचिव ब्यक्तिगत काममा नेपालगन्ज गएको जानकारी आएको बताए । ‘औपचारिक विदा लिए नलिएको जानकारी छैन’, उनले भने, ‘कार्यालयमा छैनन् त्यति जानकारी छ ।’
नरैनापुर वडा नं.३ वडा नं.१ वडा नं.२ र वडा नं.५ मा वडा अध्यक्ष आफै अनुपस्थित रहेको पाइएको छ । वडा अध्यक्ष र सचिवहरू नियमित वडा कार्यालयमा नबस्ने गरेका कारण सेवाग्राहीले सामान्य सिफारिसका लागि समेत सास्ती खेप्दै आएका छन् ।