खम्ब पुन
शहरी क्षेत्रमा कयौं मानिस डेरामा बसेर आफ्ना दैनिक जीवनका कार्यहरू गर्दै आएका हुन्छन् । आपनो घरभन्दा डेरामा बस्ने मानिसलाई कतिपय संस्कारका कामले अप्ठ्यारो बनाई दिएको हुन्छ ।
हिन्दू धर्ममा जन्म र मृत्यु संस्कार निकै महत्वपूर्ण मानिन्छ । यसै कुराको दृष्टिगत गर्दै नेपालगन्जको बसपार्क नजिक निर्माण हुन गइरहेको क्रियापुत्री घर निर्माण अन्तिम चरणमा पुगेको छ ।
नेपालगन्ज उपमहानगरपालिका वडा नं. ४ मा निर्मार्णाधीन नगरकै पहिलो क्रियापुत्री घरको निर्माण तीव्ररूपमा अगाडि बढेको छ । नागरिक स्तरमा पहल लिएर निर्माण गरिएको अत्याधुनिक सुविधा सहितको क्रियापुत्री भवनको अबको केही समयपछि संचालनमा ल्याउने गरी काम अन्तिम चरणमा पुगेको हो ।
साढे २ तले उक्त भवनमा पुरुष र महिला क्रियापुत्री अलग अलग बस्ने कुरुवा कोठा र प्रशासनिक प्रयोगका लागि व्यस्था मिलाइएको क्रियापुत्री घर निर्माण समितिका संयोजक शेम शाक्य बताउँछन् ।
विभिन्न क्षेत्रमा आवद्ध अगुवा समाजसेवीहरूको पहलमा शिव पार्वती मन्दिरको जग्गामा विभिन्न दाता तथा सरकारी स्रोतको साझेदारीमा करीब १ करोड ३० लाख लागतमा उक्त क्रियापुत्री घर निर्माण भइरहेको निर्माण समितिका सचिव बसन्त लामिछानेले जानकारी दिए ।
नागरिक स्तरबाट नेपालगन्जमै पहिलो क्रियापुत्री घर निर्माणको पहल थालेपछि सबै क्षेत्रबाट सहयोग प्रदान हुँदै आएको र निर्माणपछि कार्यविधि बनाइएर संचाललनमा ल्याउन लागिएको निर्माण समितिले जनाएको छ ।