वैदिक सनातन धर्मको जगेर्ना, धार्मिक सद्भाव कायम र आध्यात्मिक चेतना विस्तार गर्ने उद्देश्यसहित सञ्चालन भइरहेको मेची–महाकाली राष्ट्रव्यापी श्रीमुक्तिनाथ रथयात्रा कोहलपुरबाट सुर्खेत प्रस्थान गरेको छ ।
बाँके र बर्दियाका विभिन्न स्थानमा भव्य स्वागत गरिएको रथयात्रालाई कोहलपुरमा धार्मिक विधिअनुसार स्वागत गरेपछि शनिवार सुर्खेततर्फ पठाइएको हो । देशका विभिन्न जिल्लाका धार्मिकस्थल, मठमन्दिर, आश्रम तथा तीर्थधामको भ्रमण गर्दै अघि बढिरहेको रथयात्राले भगवान् श्रीमुक्तिनाथको दर्शन र धार्मिक एकताको सन्देश देशभर पु¥याउने लक्ष्य राखेको छ ।
रथयात्राको उद्देश्य देशमा धार्मिक सद्भाव कायम गर्नुका साथै भगवान् श्रीमुक्तिनाथको दर्शनबाट देशभरिका भक्तजनलाई साक्षात्कार गराउनु रहेको रथयात्रा स्वागत समिति बाँकेका सह–संयोजक तेजप्रसाद भण्डारीले जानकारी दिए ।
कात्तिक ८ देखि ३० गतेसम्म सञ्चालन भइरहेको रथयात्रा मुक्तिनाथपीठाधीश्वर स्वामी कमलनयनाचार्य श्रीजी महाराज (मुक्तिनाथ बाबा)को सत्संकल्पअनुसार आयोजना गरिएको हो । यसले नेपालको मुक्तिनाथ, पवित्र कालीगण्डकी र समग्र मुक्तिक्षेत्रको धार्मिक महिमा देशविदेशसम्म पु¥याउँदै धार्मिक पर्यटन प्रवद्र्धन, तीर्थस्थलबीचको सम्बन्ध विस्तार तथा सनातन संस्कृतिको संरक्षणमा योगदान पु¥याउने मुक्तिनाथ बाबाका उत्तराधिकारी स्वामी वासुदेव प्रपन्नाचार्यले बताए ।
विविधतायुक्त नेपाली समाजमा राष्ट्रिय एकता र सहकार्यको भावना बलियो बनाउनु पनि रथयात्राको उद्देश्य रहेको उनको भनाइ छ ।
रथयात्रा मुक्तिनाथ धामबाट सुरु भई देशका विभिन्न जिल्लाको भ्रमणपछि नवलपरासीको त्रिवेणीस्थित श्रीगजेन्द्रमोक्ष दिव्यधाममा पुगेर समापन हुनेछ । सार्वजनिक कार्यतालिकाअनुसार कोहलपुरबाट सुर्खेत प्रस्थान गरेको रथयात्रा त्यसपछि तुलसीपुरस्थित श्रीलक्ष्मीनारायण मन्दिरमा विश्राम गर्नेछ । अर्को दिन तुलसीपुर, घोराही, लमही, गोरुसिङ्गे र तौलिहवा हुँदै भैरहवा पुगेर रात्रि विश्राम गर्ने कार्यक्रम छ ।
रथयात्राको अन्तिम दिन कात्तिक ३० गते भैरहवा नगर परिक्रमा गरी परासी हुँदै नवलपरासीको त्रिवेणीधामस्थित श्रीगजेन्द्रमोक्ष दिव्यधाममा पुगेर यात्रा समापन गरिनेछ । मुक्तिनाथ धामका उत्तराधिकारी तथा गुरु सनातन गुरुले रथयात्रा त्रिवेणीमा पुगेर समापन हुने जानकारी दिए ।
यसैबीच, त्रिवेणीस्थित श्रीगजेन्द्रमोक्ष दिव्यधाममा मंसिर १ गतेदेखि २९ गतेसम्म ‘श्रीगजेन्द्रमोक्ष नारायण वैभव विराट महायज्ञ–२०८३’ आयोजना हुने भएको छ । महायज्ञमा सहभागी हुन सम्पूर्ण धर्मानुरागी भक्तजनलाई निमन्त्रणा गरिएको मुक्तिनाथ धामका गुरु वासुदेव शर्मा रामानुजले बताए ।




























