भ्रष्टाचारविरुद्धको सुशासन अभियानका लागि संगठित, बास नेपालका लागि नेतृत्व छनोट गर्न आज शुक्रवारदेखि दशौं महाधिबेशन गरिंदैछ । आगामी नेतृत्वका लागि वर्तमान केन्द्रीय उपाध्यक्ष शिवकुमार बर्मा र पूर्व वरिष्ठ उपाध्यक्ष सुरेन्द्र शाहीले दावी गरेका छन् ।
बास नेपालका सूचना अधिकारी हेमराज भट्टका अनुसार, त्यसका लागि दशैभरका प्रतिनिधिहरू विहीवारनै नेपालगन्ज आइसकेका छन् । ‘महाधिबेशनले २५ सदस्यीय नयाँ कार्य समिति चयन गर्ने छ,’ निबर्तमान अध्यक्ष र कार्यकारी निर्देशक पदेन सदस्य रहने केन्द्रीय कार्यसमितिमा संस्थाको बिधान बमोजिम दुई सदस्य मनोनित गर्ने व्यवस्था रहेको सूचना अधिकारी भट्टले जानकारी दिए ।
पदाधिकारी, सदस्य सहित २१ जनाको निर्बाचन हुने बास नेपालले जनाएको छ । संस्थाका अनुसार अध्यक्ष, खुला उपाध्यक्ष, महिला उपाध्यक्ष, महासचिव, दुई सचिव, कोषाध्यक्ष सहित ७ प्रदेशका प्रदेश ईञ्चार्ज र केन्द्रीय सदस्यहरूका लागि निर्वाचन हुनेछ । ३५० बढि प्रतिनिधिले आगामी तीन बर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछन् ।
‘नेतृत्व सकेसम्म सर्वसम्मत होस् भन्ने प्रयास छ,’ बासका पदाधिकारी भन्छन्, ‘त्यसका लागि अध्यक्ष लुना बुढाथोकीसहितका अग्रजहरू प्रयासरत हुनुहुन्छ ।’ उपाध्यक्षका लागि तीन जना दावेदार देखिएका छन् । दिला शाह, खुमेश सुवेदी र मणिराम बटाला उपाध्यक्षका दावेदार छन् भने वर्तमान कोषाध्यक्ष कल्पना अधिकारीसहितका चार जना महासचिव पदका दावेदार छन् । अधिकारीसँगै धिरेन्द्र शाही, तपेन्द्र मलाती र इश्वर बिक महासचिवका लागि दावेदार हुन् । केन्द्रीय सदस्य शोभा गुरुङ र जोशिना थारु कोषाध्यक्ष पदका प्रतिष्पर्धी देखिएका छन् ।
२०५७ मंसिर २४ गते भूपेन्द्र शर्माको अध्यक्षतामा संगठित भएका सुशासन पक्षधर युवाहरुले दोस्रो र तेस्रो कार्यकाल नमस्कार शाहको नेतृत्वमा बास नेपाललाई अगाडी बढाएका थिए । त्यसपछि क्रमशः सिता बोहरा, भाइराजा श्रीवास्तव, राजु लामिछाने, मन भण्डारी र रमेश सिटौलाले हाँकेको बासको हाल लुना बुढाथोकीले नेतृत्व गरिरहेकी
छन् ।