नेपालमा डिजिटल स्वास्थ्यमा कार्यरत हेल्थ याद आयो र बंगलादेश स्थित सोही क्षेत्रमा कार्यरत क्लिीनिकल लिमिटेड वीच अन्तर्राष्ट्रिय टेलिमेडिसिन सेवा विस्तारका लागि सहकार्य भएको छ । उक्त सहकार्यसँगै दुबै संस्थाले सो सेवा शुभारम्भ गरेको हो ।
यस सहकार्य अन्तर्गत बंगलादेशका सेवाग्राहीहरुले अव नेपालका विशेषज्ञ चिकित्सकहरुसँग अनलाइन माध्यमबाट परामर्श लिन सक्नेछन् । साथै जटिल स्वास्थ्य समस्याका लागि काठमाडौँका अन्तर्राष्ट्रिय स्तरका अस्पतालहरुबाट मेडिकल सेकेन्ड राय सुझाव प्राप्त गर्ने सुविधा समेत उपलव्ध गराइएको छ ।
हेल्थ याद आयोले आफ्नो टेलिमेडिसिन एपीआई उपलव्ध गराई नेपाली विशेषज्ञ चिकित्सकहरुको विवरण तथा अस्पतालहरुसँगको समन्वय र सूचना प्रविधि प्रणाली क्लिीनिकल बंगलादेशसँग एकीकृत गरेको छ । यो सहकार्यले विरामीहरुलाई सुरक्षित, सहज र प्रभावकारी रुपमा घरमै बसेर स्वास्थ्य सेवा प्राप्त गर्ने अवसर प्रदान गर्ने विश्वास लिइएको छ ।
यो सहकार्य दक्षिण एसियामा डिजिटल स्वास्थ्य सेवाको विस्तार तर्फ महत्वपूर्ण कदम भएको हेल्थ याद आयोका प्रमुख कार्यकारी अधिकृत विमल बरालको भनाइ छ । उहाँ भन्नुहुन्छ – हामी सूचना प्रविधिमार्फत स्वास्थ्य सेवामा पहुँच सहज बनाउने लक्ष्यका साथ अघि बढिरहेका छौँ । क्लिीनिकलसँगको साझेदारीले विरामीहरुलाई गुणस्तरीय अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा प्रदान गर्न थप मद्दत गर्ने बरालको विश्वास छ ।
त्यसैगरि क्लिीनिकल लिमिटेडका सह–संस्थापक तथा प्रमुख सञ्चालन अधिकृत परवेज अहमदले नेपालको हेल्थ याद आयोसँग सहकार्य गर्न पाउँदा उत्साहित भएको र यस साझेदारीले बंगलादेशका विरामीहरुलाई नेपाली विशेषज्ञ चिकित्सहरुसम्म सहज पु¥याउने विश्वास व्यक्त गरेका छन् । डिजिटल स्वास्थ्य सेवा मार्फत गुणस्तरिय उपचार पहुँच योग्य बनाउने हाम्रो उद्देश्यलाई यो सहकार्यले थप बल पुर्याएको छ अहमदले भने ।
परवेज अहमदले भने – दुबै संस्थाले यस सहकार्यलाई भविष्यमा नेपाल र बंगलादेशमा मेडिकल टुरिजम प्रवद्र्धन तथा अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा सहकार्य विस्तार गर्ने आधारका रूपमा लिएका छन् । साथै प्रविधिमा आधारित स्वास्थ्य सेवाको विकास गर्दै क्षेत्रीय स्तरमा गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच बढाउने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।
यस सहकार्यलाई दक्षिण एसियामा डिजिटल स्वास्थ्य सेवाको क्षेत्रमा एक महत्वपूर्ण उपलब्धिको रूपमा हेरिएको छ ।
स्मरणीय छ, नेपालको एक मात्र डिजिटल मेडिकल भ्यालु ट्राभल प्रदायक संस्था हेल्थ याद आयोले विगत २ वर्षदेखि नेपालमा विशेषज्ञ चिकित्ससँग घरबाटै परामर्श, ल्याव परिक्षण, औषधी सेवा तथा विदेशमा उपचारको सरल सहजिकरण गर्दै आएको छ ।
प्रमुख कार्यकारी अधिकृत बरालका अनुसार मोवाइल एपकै माध्यमबाट सेवाग्राहीले घरमै बसेर नेपाल भित्र काठमाडौं, ललितपुर, भक्तपुर, बुटवल, चितवन, पोखरा, नेपालगन्ज, विराटनगर, बिर्तामोड र भैरहवा लगायत नेपालका प्रमुख शहरहरुमा स्वास्थ्य परामर्श र ल्याव परिक्षण सेवा लिन सक्ने सुविधा उपलब्ध गराउँदै आएको छ । यसका साथै छिमेकी मुलुक भारत, थाइल्याण्ड, मलेसिया र सिंगापुरका जस्ता विभिन्न देशहरुमा रहेका प्रसिद्ध अस्पतालका चिकित्सकहरुसंग भर्चुअल चिकित्सा परामर्श सेवा मोवाइल एपकै माध्यमबाट उपलब्ध गराउँदै आएको छ ।
हेल्थ याद आयो मोवाइल एप मार्फत कुनै पनि विरामीले उपचारको योजना बनाउनका लागि भनेर प्रारम्भिक लागत, समय, उपचारका विधिहरुबारे पूर्व जानकारी पाउन सक्छन् । त्यतिमात्र होइन, विदेश जाने विरामीका लागि आवास व्यवस्थापन, यात्राको लागि समन्वय, आवश्यक भए प्रवेशाज्ञा (भिसा) सम्मको प्रक्रिया सहज बनाउने जिम्मा पनि यो प्लेटफर्मले लिएको छ ।
प्रमुख कार्यकारी अधिकृत बरालको नेतृत्वमा सञ्चालित यो प्लेटफर्मको उद्देश्य केवल एउटा एप उपलब्ध गराउनु मात्र होइन, आमनागरिकलाई आफ्नो स्वास्थ्यको विषयमा निर्णय लिन सक्षम र सशक्त बनाउनु पनि हो । ‘हेल्थ याद आयो’भन्नासाथ अब झन्झट, लाइन, टोकन, फाराम भन्ने सम्झना होइन, सहज, छरितो र विश्वासिलो सेवा प्राप्तिको अनुभूति हुन्छ । स्वास्थ्य सेवा अब केवल सुविधा सम्पन्न महानगरका व्यक्तिका लागि मात्र होइन, प्रविधिमा जोडिएका दूर दराजमा बसोबास गर्ने सबै नागरिकका लागि सहज र सुलभ बनोस् भन्ने लक्ष्य सहित हेल्थ याद आयो अघि बढिरहेको छ ।
नेपालजस्तो विकट भूगोल भएको मुलुकमा डिजिटल स्वास्थ्य सेवा सरल र प्रभावकारी बनाउने यो प्रयास वास्तवमै उल्लेखनीय छ । रोगको डरभन्दा उपचार प्रक्रिया बढी झन्झटिलो लाग्ने अवस्थामा यो डिजिटल माध्यमले केवल स्वास्थ्य सेवा पहुँचमा सहज हुनुका साथै आम नागरिकको आत्मविश्वास पनि बढाउँछ । घरमै विशेषज्ञसँग सल्लाह, परीक्षण र औषधि सेवा उपलब्ध हुनु अब कल्पना होइन, यथार्थमा परिणत भएको बरालको दाबी छ ।






























