हरेकदिन जसो विद्यालयमा कुनै न कुनै अभिभावकको गुनासो आउने गर्छ “मेरो बच्चाले पढ्दै पढ्दैन, भनेको मान्दैन, लौ न यसलाई विद्यालयले केहि गरिदिनु पर्यो” । यो सबैको समस्या नै भैसक्यो अहिले । वैदेशिक रोजगारी र न्यूक्लियस फ्यामिली संरचनाले गर्दा आज गाउँघरतिर होस् या शहरमा हरेक तेश्रो बच्चाको अभिभावक महिला यानी आमा मात्रै रहेका छन् । बच्चाहरूको विश्वविद्यालय मानिने आमा नै आफ्नै बच्चाहरू देखि हार मानेर गुहार माग्नु पर्ने अवस्था जब आउँछ मान्नुस या नमान्नुस समाजमा ठूलो दशा लागेको छ । सुन्दा अलि असहज र अविश्वासको कुरा लाग्ला तर समाज नीति, नैतिकता, जिम्मेवारी र जवाफदेहिताबिहीन बन्दै गैरहेको छ । यहाँ अमुक कसैको बच्चा बिर्गेको वा उसले अटेर गरेको वा पढे नपढेको भन्ने मात्रै अर्थ होइन, यहाँ त यस्तै अर्थ लगाएर समाजको आधुनिकिकरण साक्षर समाज निर्माण असल सभ्यताको विकासको गति बढिरहेको छ भन्ने जस्तो व्याख्या गरिनु नै हाम्रो समाजको दुर्दशाको महायात्रा हो ।
सनातन भित्रको ज्ञान पद्धति भनेको कुनै अमुक पुस्तकको अक्षर पढेर मात्रै यहाँसम्म आएको ज्ञान होइन । भनिन्छ सनातनका हाम्रा महान मन्त्रद्रष्टा ऋषिहरूले देखेर बोलेर अनि लेखेर प्रसारित र संरक्षित आएको ज्ञान हो । यो ज्ञानको आजसम्मको यात्रा त हाम्राकथा, समाजिक उखानटुक्का, जीवन पद्धति, प्रकृति र सँस्कृतिमा ओतप्रोत हुँदै श्रुति परम्पराको माध्यमबाट पुस्ता हस्तान्तरण हुँदै आएको ज्ञान परम्परा हो । यसलाई अक्षरको दायरामा मात्रै राखेर जब तौलिन थालियो यहि बिन्दुबाट हाम्रा मौलिक ज्ञान पद्धतिका श्रंखलाहरू भत्किँदै गए । आज आएर अक्षर चिन्नु र केहि उतार्न सक्नुलाई नै साक्षर भएको पढेलेखेको अर्थ लगाउने हाम्रो नीति बनाएपछि हाम्रो समाजको दुर्दशा र दुर्दिनका कथाहरू शुरु भएका हुन् ।
एकातिर मेकालेवाद, माक्र्सवाद र मौलानावादले हाम्रो मौलिकतावादलाई ध्वस्त पार्दै गयो भने अर्कोतिर राज्य नै आफ्नो मुल धर्मबाट च्यूत हुने नीतिको अवलम्बन गर्न अगाडी बढ्यो । जनतालाई शासन गर्नेहरू नै धर्मच्यूत हुँदै मौलिकताबिहिन हुनु भनेको यो समाजमा सन्देश पनि बर्बादीको नैै जानु हो ।
अलि प्रचलित भएको नेता होस् या शिक्षक, यी भनेको समाजको ऐना हुन । समाजको पथपर्दशक हुन । समाजलाई कुन दिशामा लैजाने भन्ने कुराको मार्गको निर्माता पनि हुन । तर मेकालेवादले शिक्षकको परिभाषा फेरिदियो । माक्र्सवादले नेताको चरित्र र नैतिकता फेरिदियो । अनि मौलानावादले राज्यको मार्गदशक सिद्धान्त फेरिदियो । यी तिनैवादको उत्कर्षमा रहेको मैंवाद र भौतिकवादले समाजको चरित्र, नैतिकता र सन्ततीको मार्गदर्शन नै फेरिदियो ।
सामान्यता कुनैपनि बच्चाको दिमागको बृद्धि पाँच बर्षभित्र भैसक्छ । यो उमेरमा बच्चामा जे कुराको छाप बस्यो त्यो लगभग अमिट नै हुन्छ । आज हाम्रो समाजमा विद्यालय जाने र सिक्ने उमेर सुनिश्चित छैन । मेकालेवादले आमाको गर्भमा नै इसूकुलमा भर्ना गराउँछ । अढाइ बर्षको हुँदा नहुँदै माक्र्सवादको द्धन्दात्मक भौतिकवादमा झुला झुलाउँछ । आफ्नो बाआमा, हजुरबाआमा, आफ्नो भाषा सँस्कृति समाज, समाजिक बन्धनहरू, नैतिकता मान मर्यादा सबैबाट टाढा पुर्याएर बाल मस्तिष्कलाई माक्र्सवादको द्धन्दान्तमक भौतिकवादको रमझममा मेकालेवादको गानामा नाँच्न लगाएपछि त्यो बच्चाले कसरी आफ्नी जननी, आफ्नो पहिलो विश्वविद्यालयको सम्मान गर्छ र उसले डोर्याउन खोज्दा हात समाउँछ ? कसरी त्यो बच्चाले आमालाई टेर्छ ? कसरी त्यो बच्चा समाजकोृ नैतिक बन्धनभित्र रहन्छ ? कसरी हाम्रो ज्ञान परम्पराको निरन्तरताको कडी बन्छ ?
आज शिक्षाको गुणस्तरको नाउँमा र शैक्षिक सुधारको नाउँमा विद्यालयहरू मेकालेवादका छाडालय बनाइँदै छ । कक्षाकोठाहरू माक्र्सवादका द्धन्दालय बनाइँदै छ भने विद्यार्थीहरू मौलानावादको अतिवादी बनाइँदै छ । अनि समाजमा नैतिकवान सदस्यको खोजि गरिँदैछ । यसैको जगमा लासमाथि नउफ्रिने र लासको अंङ्गबाट सुन नतान्ने सज्जन युवा जमातको आशा गरिँदैछ ।
माओवादको आतंक अध्याय रोकिएर नेपालमा निरपेक्षतावादी संविधान बनेपछि म माओवादको उर्वराभूमि रोल्पातिरको यात्रामा गएको थिएँ । त्यो क्रममा त्यहाँका बिभिन्न ठाउँ हुँदै माओवादको संसद बसेको चुनवाङ पनि पुगें । त्यहाँको विद्यालयमा गएर कक्षा ९ र १० का विद्यार्थीहरूसँग साक्षात्कार गर्ने मौका पाएँ । त्यो साक्षात्कारबाट मैले भेटेको मैले बुझेको नेपाली समाजको आधुनिकता र प्रगतिशिलता भनेको नेपाली मौकिलतावादको बिर्सजनको कथा जस्तो थियो । मेकालेवाद र माक्र्सवादको उदाङ्गो सोचले भरिएको बालमस्तिष्क साँच्चिकै मन बिचलित गर्ने किसिमको थियो । म त्यो बिचलनलाई शब्दमा ब्याख्या गर्न त सक्दैन तर यदि कुरा दावाका साथ भन्न सक्छु कि नेपालको कुना कन्दरा पनि अब आफ्नो मौलिकतावादबाट च्यूत भैरहेको छ । शिक्षालय देखि देवालयसम्म, आमाको काख देखि समाजको रखरखावसम्म बेलगाम घोडा झैं आजको पुस्ता हुँदै गैरहेको छ ।
मानिस जन्मनु र मर्नु एउटा सत्य प्रक्रिया हो । त्यस बीचमा यो समाजको गतिमा त्यहि मानिसको क्रियाकलापको कसीमा उसको शक्ति रहेको हुन्छ । दुनियाँमा जहाँ गएपनि र जहाँसुकै रहेपनि त्यो व्यक्ति जुन समाजबाट पल्लवित भएको हुन्छ त्यसमा त्यहि छाप रहन्छ । त्यहि उसको पहिचान हुन जान्छ । त्यहि नै उसको समाजको ऐना हुन्छ । अब हामीले खोजेको आफ्नो सँस्कृतिको अम्बासडर कस्तो हो ? त्यो त निक्यौंल हुनुपर्छ ।
बच्चाले आमालाई टेरेन भन्नुभन्दा पहिला आमाले समाजिक नैतिकताको बन्धनलाई कत्तिको टेरिन त्यो पनि स्वमूल्याङ्कन गर्न जरुरी छ । समाजले आफु कुन नैतिक धरातलमा उभिन सकेको छ त्यो पनि स्वमूल्याङ्कन गर्न जरुरी छ । विद्यालयले मात्रै सबैथोक सिकाउँछ र बच्चालाई सभ्य नागरिक बनाउँछ भन्ने कल्पना कम्तिमा पनि वर्तमान शिक्षा पद्धति र यहाँको नीतिबाट आशा नगर्दा नै उपयुक्त हुन्छ । घरबाटै जब बच्चालाई एकलवादको अहंकारको कांधमा बोेकेर हुर्काइन्छ, र त्यसैको चरित्र बोकाएर विद्यालय पठाइन्छ भने बालबालिकाले सिक्ने भनेको अटेरी छाडावाद मात्रै हो । यसमा ढुक्क भए हुन्छ ।
समाजलाई सहि दिशामा लैजान पूर्खाले कोरेको अलिखित तर अनिवार्य विधानलाई जब साक्षरलाई शिक्षित भन्ने नेपाल र नेपाली निरपेक्षतावादी विद्यानले विस्थापन गर्यो अनि समाजमा मौलिकताको खडेरीको बाटो विधिवत सुनिश्चित भयो । नीति, नैतिकता, समाज, परिवार, नातागोदा, आफन्त सम्बन्धहरू सबैमा भौतिकवादी एकलवादको अहंकारको खोलभित्रबाट चियाउन थालियो । यहिँबाट समाजको दुर्दशाको शुरुआत भयो । नेपालमा अहिले देखिएको अवस्था कमोबेश त्यस्तै हो । देश बाढीले ग्रस्त हुँदा थोरै मात्रै मन दुखेको देखियो । आँखै अगाडी परेको लास देखिएन तर त्यो लाससँगै बगेर आएको समान देखियो । त्यसको शरिरमा भएको रत्न देखियो । भ्यूज बढाएर डलर कमाउने नियत देखियो । डलर कमाएर वा बगेर आएका अनगिन्ती सपनाहरू माथि भोलिको राजनीतिक सत्ताको आशा देखियो । बगेको सम्पत्ति र उद्धार सहयोगको नाउँमा दलको खातामा इजाफाको मौका देखियो । उजाडिएका घरहरू, अलापमा परेका तनहरूको खोजिमा ज्यानको माया मारेर लागेका सुरक्षाकर्मी, उद्धारकर्मीको बेथा देखिएन तर हराएको खोजेन, भेटाएन भन्ने झटारोका अस्त्रहरू यत्रतत्र सर्वत्र भेटियो । कर्तव्य कम अधिकारका वक्तव्यरुपि कारखाना खोल्ने होडबाजी देखियो । सत्ताको सपना फेरिपनि पुरा गर्ने अवसरको मार्ग देखियो । खासमा सबैतिरबाट हाम्रो समाजमा मौलाएको वसुधैव कुटुम्बकम्को आर्दश र मौलिकता हराएको दुर्दशा पनि देखियो ।
आज त श्रीकृष्णजन्मष्टमी । आफ्नो कर्तव्यको बोध गराउने पुरुषोत्तम पुरुष भगवान श्रीकृष्णलाई सम्झिने दिन । मन्दिरको सिँडी टेक्दै गर्दा छाडापन र भ्यूजका न्यूजहरूको तमाशा भन्दा आफ्नो समाजको थितिको अनि सँस्कृतिको नैतिकवान पहिचान बचाउने शुद्ध तनमनको लाम लागेको देख्न पाइयोस् । देवकी जस्ती आमा र राधाकृष्ण जस्ता सन्तानको परिकल्पना सहित सबैजनालाई श्रीकृष्ण जन्माष्टमीको हार्दिक शुभकामना !






























