दैनिक नेपालगन्जको कार्यक्रम ‘दौडिन्छिन् हजुरआमा’ सम्बन्धी तयारी बैठक सकेर सोमवार दिउँसो गगनजी र म सिधै खजुरास्थित जनसेवा मावि गिजरा पुगेका थियौं ।
खजुरा गाउँपालिका शिक्षा तथा खेलकुद शाखा प्रमुख खगेन्द्र मल्लको निमन्त्रणामा प्रधानाध्यापकहरुको बैठकमा तेस्रो गौघाट ग्रीन रनका बारेमा आफ्ना कुरा साझा गर्न हामी त्यहाँ पुगेका थियौं । हाम्रो उद्देश्य केवल ग्रीन रनको कुरा गर्नु थियो ।
तर त्यहाँ पुग्दा एउटा भावुक र ऐतिहासिक क्षणको समेत साक्षी बन्न पुगियो । एक इमान्दार र स्वाभिमानका पर्याय टंक दाहाल सरको सेवानिवृत्तिको क्षण वास्तवमै भावुक खालको थियो । ६० बर्षे उमेर हदका कारण उहाँ औपचारिक सेवाबाट विदा हुन लाग्नु भएको थियो । उक्त बैठकमा खजुरा क्षेत्रका झण्डै ४०—५० विद्यालयका प्रधानाध्यापकहरुको उपस्थिति थियो । पालिका अध्यक्ष डम्बर विक तुफानले कदरपत्र प्रदान गरेर टंक दाहाल सरलाई औपचारिक बिदाइ गर्दा अभिभावक, सहकर्मी, विद्यार्थी र शुभेच्छुकले सम्मानका शब्दहरु पस्किए । तर ती सबैभन्दा माथि एउटा गहिरो भावना थियो —दशकौंसम्म शिक्षणमा समर्पित एउटा शैक्षिक जीवनको सम्मान ।
त्यो दृष्यले मलाई रामायणको एउटा प्रसंग सम्झायो । रामका गुरु वशिष्ठ केवल पाठ पढाउने गुरु थिएनन् । उनले रामलाई ज्ञान मात्र दिएनन्—कर्तव्य, संयम, मर्यादा र जिम्मेवारीको बाटो पनि देखाए । राम महान राजा बन्नुभन्दा पहिले असल शिष्य बने । सायद गुरुको सबैभन्दा ठुलो सफलता यही हो, उसले आफुजस्तो अर्को मानिस बनाउने होइन, आफुभन्दा राम्रो मानिस बन्ने बाटो देखाउने हो । आजका शिक्षक पनि त्यही परम्पराका संवाहक हुन्, संवाहक हुनुपर्छ । शिक्षकले पेशागत जीवनको उत्तराद्र्धमा पाउने औपचारिक सम्मान पनि यही त हो ।
हामी विद्यार्थी हुँदा शिक्षक भनेको किताब पढाउने व्यक्ति हो भन्ने लाग्थ्यो । उमेर बढ्दै गएपछि बुझियो, शिक्षकले पाठ्यपुस्तकभन्दा धेरै कुरा पढाइरहेका हुन्छन् । शिक्षकले दुई प्लस दुई बराबर चार हुन्छ भनेर मात्र सिकाउँदैनन् । शिक्षकले एउटा बालकलाई जीवनमा कसरी उभिने, असफलतासँग कसरी जुध्ने, समयको मूल्य कसरी बुझ्ने, मेहनत र इमानदारीलाई कसरी जीवनको आधार बनाउने र आफ्नो आत्मसम्मान कसरी जोगाउने भन्ने पनि सिकाउँछन् । त्यसैले शिक्षक हुनु केवल जागिर होइन, जिम्मेवारी हो । भनिन्छ, डाक्टर र शिक्षक बन्ने अधिकार सबैलाई हुँदैन । डाक्टरले मानिसको शरीर बचाउँछन् भने शिक्षकले उसको जीवनको बाटो देखाइदिन्छन् । दुवै पेशा मानिससँग प्रत्यक्ष जोडिएका छन् । एउटा असल शिक्षकको प्रभाव त कहिलेकाँही एउटा पुस्ताभन्दा पनि पर पुग्छ । टंक दाहाल सर पनि त्यस्तै शिक्षक भएको अनुभुति हुन्छ । हामीलाई जनता मावि सन्तकुटीमा लेखा बिषय पढाएको हिजै जस्तो लाग्छ । विद्यार्थीप्रतिको जिम्मेवारबोधको आत्मीयता ताजै लाग्छ । मेहनत गरेर बाँच्नु, आफ्नो स्वाभिमान नबेच्नु र आत्मसम्मानका साथ आफ्नो बाटो हिंड्नु जस्ता सरको व्यवहारिक प्रभावका कारणले सोमवारको बिदाइको क्षणले मेरो मन पनि छोएको हुनुपर्छ ।
एउटा शिक्षकले आफ्नो जीवनको महत्वपूर्ण समय अरुका छोराछोरीको भविष्य बनाउन खर्च गर्छ । ती विद्यार्थीहरु पछि कोही डाक्टर हुन्छन्, कोही इन्जिनियर, कोही खेलाडी, कोही व्यवसायी, कोही शिक्षक, कोही राजनीतिज्ञ, कोही सामाजिक कार्यकर्ता । उनीहरु सफल हुँदै जाँदा शिक्षकको योगदान सधैं अगाडि देखिंदैन । तर उनीहरुको सफलताको कुनै न कुनै कुनामा गुरुको हात अवश्य हुन्छ । त्यसैले शिक्षकको वास्तविक कमाइ तलब होइन, विद्यार्थीको जीवनमा परेको प्रभाव हो ।
बिदाइका क्रममा प्रदान गरिएको कदरपत्र एउटा कागज मात्र थिएन, त्यसमा दशकौंको सेवा, असंख्य विद्यार्थी र समाजप्रतिको एउटा शिक्षकको समर्पणको सम्मान थियो । मलाई लाग्यो, एउटा शिक्षकको लामो यात्राको बिदाइ यसरी सम्मानका साथ हुनु आफैंमा ठूलो उपलब्धि हो । तर हामी त्यहाँ शिक्षकको बिदाइमा सहभागी हुन मात्र त पक्कै पुगेका थिएनौं । हाम्रो उद्देश्य त गौघाट ग्रीन रनका बारेमा आफ्ना कुरा राख्नु थियो । तर, संयोगले हामीले त्यही दिन हाम्रो अभियानको अर्थ अझ गहिरो रुपमा बुझ्यौं ।
‘दौडिन्छिन् हजुरआमा’ को बैठकबाट सुरु भएको त्यो दिन र गौघाट ग्रीन रनको छलफलसम्म आइपुग्दा एउटा कुरा स्पष्ट भयो, दौड केवल युवाहरुको विषय होइन, जीवनको उत्सव हो । उमेरले दौडलाई रोक्दैन । नर्वेमा म भन्दा अघि अघि दौड्ने ७५ देखि ७८ बर्ष उमेर समुहका कैयन हुुनुहुन्थ्यो । दौडलाई उमेरले खासै असर पार्दैन । उमेर त संख्या मात्र हो । चाहिने त इच्छाशक्ति हो । उद्देश्य हो । उद्देश्यले दौडलाई अर्थ दिन्छ । गौघाट ग्रीन रन पनि एउटा सामान्य दौड मात्र होइन । हामी दौडमार्फत विद्यालय, विद्यार्थी, अभिभावक, शिक्षक र समुदायलाई स्वास्थ्य, वातावरण, शिक्षा र सामाजिक जिम्मेवारीसँग जोड्न चाहन्छौं । एक हजार विद्यार्थी र अभिभावकको सहभागितामा एक हजार फलफूलका बिरुवा रोप्ने हाम्रो सपना केवल वृक्षारोपणको कार्यक्रम होइन । एउटा विद्यार्थी दौडियोस्, एउटा बिरुवा रोपोस्, एउटा राम्रो संस्कार घरसम्म पुराओस् । हामीले खोजेको परिवर्तन यही हो । यस यात्रामा प्रधानाध्यापकको भूमिका अत्यन्त महत्वपुर्ण हुन्छ । प्रधानाध्यापकले विद्यार्थीलाई केवल दौडमा पठाउने होइन, दौडको उद्देश्य बुझाउने हो । विद्यालयलाई खेल, स्वास्थ्य, अनुशासन र जिम्मेवारीको केन्द्र बनाउने हो । विद्यार्थीलाई अभिभावकसँग जोड्ने हो । वातावरण संरक्षणलाई व्यवहारसँग जोड्ने हो । शिक्षकलाई अभियानमा परिचालन गर्ने र समुदायलाई विद्यालयसँग जोड्न नेतृत्व गर्ने हो । एउटा प्रधानाध्यापकले चाह्यो भने एउटा विद्यालय मात्र होइन, एउटा पुस्ताको सोच बदल्न सक्छ । सायद आजका प्रधानाध्यापकहरु आफ्ना विद्यालयका वशिष्ठ हुन् । मर्यादापुरुष रामका गुरु वशिष्ठ जस्तै । उनीहरुले विद्यार्थीलाई केवल परीक्षाका लागि होइन, जीवनका लागि तयार पार्नुपर्छ । राम्रो अंक ल्याउने विद्यार्थीभन्दा राम्रो नागरिक बन्ने विद्यार्थी निर्माण गर्नु ठूलो सफलता हो भन्ने मलाई लाग्छ ।
धारा नेपालगन्ज म्याराथनले प्राप्त गरेको एम्स सोसल अवार्ड २०२६ ले हामीलाई यही जिम्मेवारी अझ गहिरो रुपमा सम्झाएको छ । यो सम्मान केवल एउटा म्याराथनको पुरस्कार होइन, दौडलाई सामाजिक परिवर्तनको माध्यम बनाउने हाम्रोे यात्राको विश्वव्यापी मान्यता हो, बलियो आत्मसात हो ।
विश्वभर म्याराथन र रनिङको क्रेज बर्षेनी उकालिदो छ । निरन्तर सगरमाथाको शिखरतर्फ दौडको आकर्षण बढिरहेको छ । विश्वको दौड सहभागिताको आँकडाले त्यही भन्छ । सायद विश्वमा दिनहुँ कुनै खेल विधाको आकर्षण निरन्तर एउटा लयमा बढिरहको छ भने त्यो रोड रेस हो, त्यो म्याराथन हो । मानिसहरु अब केवल पदक र समयका लागि दौडिरहेका छैनन् । स्वास्थ्यका लागि दौडिरहेका छन्, मानसिक सन्तुलनका लागि दौडिरहेका छन्, वातावरणका लागि दौडिरहेका छन्, परोपकार र सामाजिक एकताका लागि दौडिरहेका छन् । अब नेपालमा पनि दौडलाई यही अर्थमा विस्तार गर्नुपर्छ । दौडौं स्वास्थ्यका लागि, दौडौं हरियालीका लागि, दौडौ शिक्षाका लागि, दौडौं सामाजिक एकताका लागि । गौघाट ग्रीन रन त्यही सोचको एउटा सानो तर अर्थपूर्ण पाइला हो ।
सोमवार जनसेवा माविको प्रांगणमा एउटा शिक्षकको बिदाइ र हाम्रो दौड अभियानबीच मैले गहिरो सम्बन्ध देखें । एक शिक्षकले दशकौंसम्म ज्ञान र संस्कारका बिरुवा रोप्नुभयो । हामी दौडमार्फत नयाँ पुस्तामा स्वास्थ्य, वातावरण र सामाजिक जिम्मेवारीका बिरुवा रोप्न खोजिरहेका छौं । दुवै यात्राको केन्द्रमा एउटै कुरा रहेछ, मानव सोंच निर्माण । विद्यालयले ज्ञानमार्फत एउटा मान्छे निर्माण गर्छ । खेलले अनुशासनमार्फत मान्छे निर्माण गर्छ । दौडले खुशी, आत्मविश्वास, स्वास्थ्य र सामाजिक चेतनामार्फत मानिस निर्माण गर्नसक्छ । त्यसैले दौडको वास्तविक जित फिनिसिङ लाइनमा हुँदैन । दौडपछि समाजमा देखिने परिवर्तनमा हुन्छ । एक हजार बिरुवा रोपिंदा त्यसको छायाँ आज होइन, बर्र्षौंपछि देखिनेछ । एक हजार विद्यार्थी दौडिंदा त्यसको प्रभाव उनीहरुको जीवनशैलीमा वर्षौंसम्म रहन सक्छ । र, एउटा शिक्षकले एउटा विद्यार्थीलाई सही बाटो देखाउँदा त्यसको प्रभाव पुस्तौंसम्म पुग्न सक्छ । टंक दाहाल सरको बिदाइको क्षणले मलाई जीवनको एउटा सुन्दर हिसाब सम्झायो, जति ज्ञान बाँड्यो, त्यति नै सम्मान कमायो । जति राम्रो संस्कार रोप्यो, त्यति नै पुस्ता हराभरा भयो ।
सायद यही कारणले वास्तविक गुरु कहिल्यै सेवानिवृत्त हुँदैनन् । उनीहरु विद्यालयबाट विदा हुन्छन्, तर उनीहरुले रोपेको ज्ञान, संस्कार र चरित्रको बिरुवा पुस्तौंसम्म हुर्किरहन्छ । दैनिक नेपालगन्जको दौडिन्छिन् हजुरआमा देखि गौघाट ग्रीन रनसम्म, विद्यालयको कक्षाकोठादेखि अन्तर्राष्ट्रिय म्याराथनसम्म हामीले खोजेको कथा एउटै हो ः मानिसलाई दौडसँग जोड्ने र दौडलाई समाजसँग जोड्ने ।
एम्स सोसल अवार्ड पछि धारा नेपालगन्ज म्याराथनले पाएको जिम्मेवारी पनि यही हो, दौडलाई पदक र समयभन्दा माथि उठाएर सामाजिक परिवर्तनको माध्यम बनाउने । गौघाट ग्रीन रनको सपना पनि त्यही हो, दौडसँगै एउटा राम्रो संस्कार रोप्ने । र अन्ततः दौडको अर्थ केवल अगाडि पुग्नु होइन । आफुभन्दा पछाडि आउने पुस्ताका लागि बाटो अझ सुन्दर बनाउनु हो ।
सायद जनसेवा माविमा एउटा शिक्षकको बिदाइले हामीलाई अर्को पाठ पनि पढायो, मानिसको जीवनमा सबैभन्दा ठुलो फिनिसिङ लाइन अवकाश होइन, उसले समाजमा छोडेको प्रभाव हो ।





























