बाँके जिल्ला स्तरीय मेयर कप अन्तरविद्यालय यु–१८ छात्र–छात्रा फुटबल प्रतियोगिता आगामी बुधबारदेखि नेपालगन्जमा सञ्चालन हुने भएको छ । आइतवारदेखि हुने भनिएको यो आयोजना ‘प्राविधिक कारण’ले बुधवारदेखि हुने भएको हो ।
बाँके जिल्ला फुटबल संघको आयोजना तथा नेपालगन्ज उपमहानगरपालिकाको आर्थिक सहयोगमा हुन लागेको प्रतियोगितामा जिल्लाभरका निजी तथा सामुदायिक विद्यालयको सहभागिता रहने भएको छ ।
आयोजकका अनुसार, प्रतियोगितामा छात्रतर्फ ३७ टोली र छात्रातर्फ ११ टोलीले सहभागिता जनाएका छन् । सुरुमा जेठ २४ गतेदेखि प्रतियोगिता सञ्चालन गर्ने तयारी भए पनि प्राविधिक कारणले केही दिन पछि सारिएको आयोजकले जनाएको छ । बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए । उनले भने, ‘प्रतियोगिताले विद्यालय तहबाट नयाँ प्रतिभावान खेलाडी उत्पादन गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।’
प्रतियोगितामा बाँके जिल्लाका ८ वटा स्थानीय तहका विद्यालय सहभागी रहनेछन् । छात्रतर्फ उद्घाटन खेलमा साविक विजेता ब्राइटल्याण्ड स्कुल नेपालगन्ज र तक्षशिला एकेडेमीबीच प्रतिस्पर्धा हुने तय गरिएको छ ।
छात्रतर्फ समूह ‘ए’ मा ब्राइटल्याण्ड, तक्षशिला एकेडेमी, नोबेल एकेडेमी, मंगल मावि, बाल विद्या मन्दिर, होलिल्याण्ड मावि, आदर्श मावि नेपालगन्ज, सगरमाथा बोर्डिङ स्कुल, हिमालयन विद्या निकेतन, जीवनज्योति मावि, सिद्धार्थ विद्या सदन, ज्ञानज्योति कोहलपुर, मोर्डन पब्लिक स्कुल, सनविम मावि, सिटिजन नमुना बोर्डिङ स्कुल, होराइजन एकेडेमी, साइनिङ स्टार मावि, जिभिएन र अरुणोदय मावि खजुरा रहेका छन् ।
त्यसैगरी समूह ‘बी’ मा गत वर्षको उपविजेता ग्रीनपिस मावि, कृष्ण मावि, मनकामना मावि, योगिनी मावि, ज्ञानोदय मावि, सेन्ट थोमस, पशुपति मावि, जय बागेश्वरी मावि, ड्रिमल्याण्ड मावि, सम्झना एलिट, युनाइटेड एजुकेशनल, राम मावि, नेपालगन्ज मोडल एकेडेमी, जनज्योति मावि कोहलपुर, आदर्श मावि राझा, नेपालगन्ज सेन्ट जेभियर्स, निम्बल एकेडेमी र मिसन पब्लिक रहेका छन् ।
छात्रातर्फको खेल तालिका भने अझै सार्वजनिक गरिएको छैन । आयोजकका अनुसार महिला टोलीलाई प्राथमिकता दिँदै प्रतियोगिता अवधिमै तालिका सार्वजनिक गरिनेछ । हालसम्म छात्रातर्फ सनविम मावि, मनकामना मावि, युनाइटेड एजुकेशनल, साइनिङ स्टार, ज्ञानोदय मावि, नेपालगन्ज सेन्ट जेभियर्स, नेपालगन्ज मोडल एकेडेमी, योगिनी मावि, धम्बोझी मावि, आदर्श मावि नेपालगन्ज र मंगलप्रसाद माविले नाम दर्ता गराएका छन् ।
प्रतियोगिताको विजेता छात्र तथा छात्रा टोलीले ३१ हजार रुपैयाँ, उपविजेताले १६ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीलाई जनही २ हजार ५ सय रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।
बाँके जिल्ला फुटबल संघले दुई दशकदेखि मेयर कप फुटबल प्रतियोगिता आयोजना गर्दै आएको छ । जिल्लामै सबैभन्दा पुरानो विद्यालयस्तरीय फुटबल प्रतियोगिताका रूपमा यसलाई हेरिने गरिएको छ । अध्यक्ष शाहीले प्रतियोगिताले ग्रामीण तहसम्म फुटबलको पहुँच विस्तार गरेको बताए । उनले भने, ‘विद्यालय तहमा यस्ता प्रतियोगिता नहुँदा धेरै प्रतिभा हराउने अवस्था आउँछ । त्यसैले निरन्तर आयोजना गर्दै आएका छौं ।’
गत वर्षको प्रतियोगितामा छात्रतर्फ ब्राइटल्याण्ड स्कुल र छात्रातर्फ नेपालगन्ज सेन्ट जेभियर्स स्कुल च्याम्पियन बनेका थिए । पुरुषतर्फको फाइनलमा ब्राइटल्याण्डले सडन डेथमा कोहलपुरको ग्रीनपिस माविलाई पराजित गरेको थियो । छात्रातर्फ भने नेपालगन्ज सेन्ट जेभियर्सले आदर्श मावि नेपालगन्जलाई ४–० गोलअन्तरले हराउँदै उपाधि जितेको थियो ।
गत संस्करणमा पुरुषतर्फ ब्राइटल्याण्डका सिरिस रावत तथा छात्रातर्फ नेपालगन्ज सेन्ट जेभियर्सकी सृष्टि थारु सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए । प्रतियोगिताबाट जिल्लाका विद्यालयस्तरका खेलाडीलाई थप अवसर मिल्ने अपेक्षा आयोजकले गरेको संघका महासचिव कमल खत्रीले बताए ।






























