जानकीका दुई वडामा अझै अवरोध
नेपाली कांग्रेसको १५औं केन्द्रीय महाधिवेशनअन्तर्गत बाँकेका ७९ वडामा अधिवेशन प्रक्रिया पूरा भएको छ । सोमबार बाँके निर्वाचन क्षेत्र नम्बर ३ का वडामा समेत अधिवेशन सम्पन्न भएसँगै जिल्लाका ८१ मध्ये ७९ वडामा नेतृत्व चयन प्रक्रिया टुंगिएको हो ।
जिल्ला निर्वाचन संयोजक कपिल शर्माका अनुसार, जानकी गाउँपालिका–३ र ४ मा भने सर्वसम्मत नेतृत्व चयनका लागि छलफल भइरहेको छ । बाँकी वडामा अधिवेशन सम्पन्न भइसकेको उनले बताए ।
‘बाँकी ७९ वडामा निर्वाचन प्रक्रिया पूरा भएको छ,’ शर्माले सोमबार साँझ दैनिक नेपालगन्जसँग भने, ‘नेपालगन्ज–६ बाहेक सबै वडामा सर्वसम्मत भयो, ६ नम्बर वडामा मतदानबाट टुंगो लगाइएको छ ।’
बाँकेमा अधिवेशन सम्पन्न भएका वडामध्ये नेपालगन्ज–६ मा मात्रै मतदान भएको हो। अन्य सबै वडामा सर्वसम्मत रूपमा नेतृत्व चयन गरिएको निर्वाचन संयोजक शर्माले जानकारी दिए ।
यसैबीच, कांग्रेसको १५औं केन्द्रीय महाधिवेशनअन्तर्गत लुम्बिनी प्रदेशका अधिकांश वडामा पनि अधिवेशन सम्पन्न भएको छ । असोज ३ र ४ गते दुई दिनमा प्रदेशका अधिकांश वडामा अधिवेशन सकिएको कांग्रेस लुम्बिनी प्रदेशले जनाएको छ ।
केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले सोमबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार काठमाडौं उपत्यकाका तीन जिल्लासहित देशका ६३ जिल्लामा वडा अधिवेशन सम्पन्न भएको छ । कांग्रेसको केन्द्रीय महाधिवेशन आगामी असोज १६ देखि १९ गतेसम्म आयोजना हुँदैछ ।
वडा अधिवेशनमा कांग्रेसका केन्द्रीय तहदेखि प्रदेश र जिल्लास्तरसम्मका नेताहरू आ–आफ्नो वडाबाट सहभागी भएका थिए । वडा अधिवेशनलाई आगामी महाधिवेशनका लागि प्रतिनिधि छनोट गर्ने प्रक्रियाका रूपमा मात्रै नभई पार्टीभित्रको शक्ति सन्तुलन निर्धारण गर्ने आधारका रूपमा समेत हेरिएको छ ।
वडा तहबाट चयन हुने क्षेत्रीय प्रतिनिधिहरूले आगामी महाधिवेशनमा महत्वपूर्ण भूमिका खेल्ने भएकाले अधिवेशनलाई कांग्रेसभित्रको आन्तरिक राजनीतिक समीकरणसँग जोडेर हेरिएको हो । क्षेत्रीय प्रतिनिधिहरूको चयनले पार्टीभित्र आगामी दिनमा बन्ने समीकरणमा समेत प्रभाव पार्ने देखिन्छ ।
लुम्बिनी प्रदेशमा वडा अधिवेशन सफल बनाउन प्रदेश सभापति अमरसिंह पुनसहित प्रदेशका अन्य नेताहरू पनि सक्रिय थिए । वडा अधिवेशन सम्पन्न भएसँगै कांग्रेसभित्र अब नगर तथा क्षेत्रीय अधिवेशनको तयारी सुरु भएको छ ।





























