जिल्ला प्रहरी कार्यालय बाँके तथा मातहतका प्रहरी कार्यालयले भदौ महिनामा अपराध अनुसन्धान तथा नियन्त्रणलाई प्राथमिकता दिँदै विभिन्न प्रकृतिका १५२ वटा मुद्दा दर्ता गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेले सार्वजनिक गरेको भदौ महिनाको प्रगति विवरणअनुसार दर्ता भएका मुद्दामध्ये जघन्य तथा गम्भीर प्रकृतिका अपराधका साथै सामान्य, महिला–बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित र आर्थिक अपराधका घटना रहेका छन्।
प्रहरीका अनुसार भदौ महिनामा दर्ता भएका कुल १५२ मुद्दामध्ये ७ वटा जघन्य र ५१ वटा गम्भीर प्रकृतिका अपराध छन्। त्यस्तै ९४ वटा सामान्य प्रकृतिका अपराधका मुद्दा दर्ता भएका छन्। महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित १८ वटा घटना दर्ता भएकोमा ती घटनामा संलग्न १५ जना पक्राउ परेका छन्।
त्यसैगरी भदौ महिनामा आर्थिक अपराधसम्बन्धी २६ वटा घटना दर्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। आर्थिक अपराधअन्तर्गत ठगी, आर्थिक लेनदेन तथा अन्य वित्तीय प्रकृतिका कसुरसम्बन्धी घटनाहरू पर्ने प्रहरीले जनाएको छ।
अपराध अनुसन्धान तथा नियन्त्रणतर्फ प्रहरीले चालु मुद्दाका १३७ जना प्रतिवादी पक्राउ गरेको छ। लामो समयदेखि अनुसन्धान तथा कारबाहीको प्रक्रियामा रहेका सार्वजनिक चासोका मुद्दामध्ये ७६ वटा मुद्दाको सफल अनुसन्धान गरिएको प्रगति विवरणमा उल्लेख छ।
प्रहरीले भदौ महिनामा सम्पत्ति शुद्धीकरणसम्बन्धी एक मुद्दासमेत दर्ता गरेको छ। पछिल्लो समय गैरकानुनी रूपमा आर्जित सम्पत्तिलाई वैध बनाउने प्रयासमाथि निगरानी बढाउँदै प्रहरीले सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित कसुरमा समेत अनुसन्धान अघि बढाउँदै आएको जनाएको छ।
फैसला कार्यान्वयनतर्फ पनि प्रहरीले उल्लेख्य संख्यामा फरार तथा सजाय तोकिएका व्यक्तिलाई पक्राउ गरेको छ। भदौ महिनामा अदालतबाट फैसला भइसकेका विभिन्न मुद्दामा ८२ जना पक्राउ परेका छन्। पक्राउ परेकामाथि अदालतबाट तोकिएको १९ वर्ष १ महिना १९ दिन कैद कार्यान्वयन गर्न बाँकी रहेको थियो। त्यसैगरी फैसला कार्यान्वयनबाट ६ लाख ११ हजार ३९३ रुपैयाँ बिगो तथा क्षतिपूर्ति असुलउपर गर्नुपर्ने रहेको प्रहरीले जनाएको छ।
यसैबीच जिल्ला प्रहरी कार्यालय तथा मातहतका कार्यालयमा प्रत्यक्ष रूपमा परेका ठाडो उजुरीको संख्या पनि उल्लेख्य रहेको छ। भदौ महिनामा ५१५ वटा उजुरी परेको प्रगति विवरणमा उल्लेख छ। तीमध्ये ५२२ वटा उजुरी फछ्र्योट गरिएको र ४८ वटा उजुरी फछ्र्योट हुन बाँकी रहेको प्रहरीले जनाएको छ। दर्ता भएको भन्दा फछ्र्योट संख्या बढी देखिनुको कारण अघिल्ला महिनाबाट बाँकी रहेका उजुरीसमेत सो अवधिमा फछ्र्योट गरिएको हुनसक्ने देखिन्छ।
जिल्ला प्रहरी कार्यालय बाँकेले अपराध अनुसन्धान, फरार प्रतिवादी पक्राउ, फैसला कार्यान्वयन तथा नागरिकका गुनासा र उजुरीमाथि कारबाहीलाई आफ्नो नियमित कार्यअन्तर्गत प्राथमिकतामा राखेको जनाएको छ। भदौ महिनाको तथ्यांकले बाँकेमा विभिन्न प्रकृतिका अपराधसँगै आर्थिक अपराध र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित घटनामाथि समेत प्रहरीले अनुसन्धान तथा नियन्त्रणको काम अघि बढाएको देखाएको छ।





























