महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयले आर्थिक वर्ष २०८१÷८२ को श्रावणदेखि आषाढ मसान्तसम्मको अवधिलाई समेटेर सार्वजनिक गरेको वार्षिक तथ्यपत्रले नेपालमा साइबर अपराध तथा आत्महत्यासम्बन्धी घटनाको वर्तमान अवस्थाबारे महत्वपूर्ण तथ्य उजागर गरेको छ ।
तथ्यपत्रअनुसार साइबर अपराधका उजुरीको संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा केही घटे पनि यससँग सम्बन्धित मुद्दा, पीडित तथा पीडकको अवस्थाले अझै गम्भीर चुनौती कायम रहेको देखाएको छ ।
तथ्यपत्रअनुसार गत आर्थिक बर्ष २०८१÷०८२ मा देशभरबाट साइबर अपराधसम्बन्धी कुल १८ हजार २ सय २६ वटा घटना सम्बन्धी उजुरी प्राप्त भएका छन् । प्राप्त उजुरीहरूको विश्लेषण गर्दा पीडितमध्ये सबैभन्दा बढी ५१.७ प्रतिशत पुरुष रहेका छन् । त्यसपछि ४१.२ प्रतिशत महिला, २.२ प्रतिशत बालिका, १.२ प्रतिशत बालक तथा २.४ प्रतिशत लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्ति पीडितका रूपमा रहेका छन् ।
साइबर अपराधका माध्यमहरूको विश्लेषण गर्दा फेसबुक सबैभन्दा बढी प्रयोग भएको माध्यमका रूपमा देखिएको छ । तथ्यपत्रअनुसार कुल घटनामध्ये ५१.९३ प्रतिशत घटना फेसबुकमार्फत भएका छन् । सामाजिक सञ्जालको व्यापक प्रयोगसँगै फेसबुक साइबर अपराधका गतिविधिको प्रमुख माध्यम बन्न पुगेको तथ्याङ्कले देखाएको छ।
यद्यपि समग्र उजुरीको अवस्थालाई हेर्दा आर्थिक वर्ष २०८०÷८१ को तुलनामा आर्थिक वर्ष २०८१÷८२ मा साइबर अपराधसम्बन्धी उजुरीहरू ४ प्रतिशतले घटेको देखिन्छ । उजुरीमा सामान्य कमी आए पनि घटनाको प्रकृति र त्यसले पार्ने प्रभाव भने अझै गम्भीर रहेको तथ्यपत्रले संकेत गरेको छ ।
साइबर अपराधसम्बन्धी कानुनी कारबाहीतर्फ हेर्दा आ.व. २०८१÷०८२ मा देशभरबाट कुल २ सय १८ वटा मुद्दा दर्ता भएका छन् । मुद्दा दर्ताको प्रवृत्तिको विश्लेषण गर्दा सबैभन्दा बढी १ सय १२ वटा मुद्दा साइबर ब्यूरोमा दर्ता भएका छन् । यसले साइबर अपराधका घटनामा अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि साइबर ब्यूरोको भूमिका महत्वपूर्ण रहेको देखाउँछ ।
मुद्दासँग सम्बन्धित पीडितहरूको तथ्याङ्कअनुसार कुल २ सय २३ जना पीडितमध्ये महिला सबैभन्दा बढी प्रभावित भएको देखिएको छ । कुल पीडितमध्ये ८२.१ प्रतिशत महिला रहेका छन् । त्यस्तै ७.६५ प्रतिशत बालिका पनि साइबर अपराधका पीडित बनेका छन् । तथ्याङ्कले महिला तथा बालिकामाथि केन्द्रित साइबर अपराधका घटनाप्रति विशेष सतर्कता आवश्यक रहेको संकेत गरेको छ ।
पीडकसम्बन्धी विवरणअनुसार कुल ३ सय ९२ जना पीडकमध्ये ८३.२ प्रतिशत पुरुष रहेका छन् । त्यस्तै १३.५ प्रतिशत महिला तथा २.६ प्रतिशत बालक पनि पीडकका रूपमा संलग्न रहेको तथ्यपत्रमा उल्लेख छ । यसले साइबर अपराधमा पुरुषको संलग्नता उच्च रहेको देखाएको छ ।
मुद्दाको प्रकृतिको विश्लेषण गर्दा दर्ता भएका मुद्दामध्ये २३.६ प्रतिशत विद्युतीय कसुरसम्बन्धी रहेका छन् भने ६.४ प्रतिशत मुद्दा ठगीसम्बन्धी रहेका छन् । विद्युतीय माध्यमको दुरूपयोग तथा विभिन्न प्रकारका ठगीका घटना साइबर अपराधका प्रमुख स्वरूपका रूपमा देखिएका छन् ।
यसैबीच, तथ्यपत्रले आत्महत्यासम्बन्धी घटनाको अवस्थासमेत सार्वजनिक गरेको छ । तथ्याङ्कअनुसार आत्महत्याका घटना सबैभन्दा बढी कोशी प्रदेशमा दर्ता भएका छन् भने सबैभन्दा कम कर्णाली प्रदेशमा दर्ता भएका छन् । प्रदेशगत रूपमा हेर्दा कोशी प्रदेशमा आत्महत्याको समस्या तुलनात्मक रूपमा बढी रहेको देखिन्छ ।
आत्महत्याको माध्यमसम्बन्धी विश्लेषण गर्दा करिब ८५ प्रतिशत घटना झुण्डिएर भएको देखिएको छ । अन्य माध्यमको तुलनामा झुण्डिएर आत्महत्या गर्ने प्रवृत्ति अत्यधिक रहेको तथ्याङ्कले देखाएको छ ।
आत्महत्या गरी मृत्यु हुने व्यक्तिहरूको लैङ्गिक तथा उमेरगत अवस्थालाई हेर्दा ५४ प्रतिशत पुरुष रहेका छन् । त्यस्तै ३४ प्रतिशत महिला, ९ प्रतिशत बालिका तथा ४ प्रतिशत बालक रहेका छन् । यसले आत्महत्याबाट प्रभावित हुने समूहमा पुरुषको संख्या उच्च भए पनि महिला तथा बालबालिकामा समेत यसको प्रभाव उल्लेखनीय रहेको देखाउँछ ।





























