आर्थिक ऐन २०८३ ले करदातालाई विशेष छुट तथा सहुलियत प्रदान गरेको कर अधिकृत उदयराम केसीले बताएका छन् । आन्तरिक राजस्व कार्यालय नेपालगन्जको आयोजना तथा नेपाल पत्रकार महासंघ बाँके शाखाको संयोजन एवं समन्वयमा शुक्रबार ‘सञ्चारकर्मीसँग कर सम्बन्धी अन्तरक्रिया कार्यक्रम’ कार्यक्रममा कर प्रशिक्षण दिंदै कर अधिकृत केसीले यसपटक सरकारले विगतदेखि उद्योगी, व्यवसायीले उठाउँदै आएको माग सम्बोधन गरेको बताए । ‘विगतमा यसरी छुट थिएन, आगामी दिनमा पनि यस्तो छुट हुने सम्भावना छैन’, उनले भने, ‘त्यसैले करदातालाई छुटको लाभ लिन आव्हान गर्दछु ।’
आन्तरिक राजश्व कार्यालयका प्रमुख कर अधिकृत पूर्ण प्रसाद न्यौपाने कर प्रणालीलाई पारदर्शी, सरल र सेवामैत्री बनाउन आन्तरिक राजस्व कार्यालय निरन्तर प्रयासरत रहेको बताए । उनले सही र तथ्यपरक कर सूचना नागरिकसम्म पु¥याउन सञ्चारमाध्यमको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै कर सम्बन्धी भ्रम चिर्न र कर सचेतना अभिवृद्धि गर्न पत्रकारसँग सहकार्यलाई अझ प्रभावकारी बनाइने बताए ।
नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष गिरीले पत्रकारहरूलाई कर सम्बन्धी अद्यावधिक जानकारी उपलब्ध गराउने उद्देश्यले आयोजना गरिएको अन्तरक्रिया निकै उपयोगी भएको बताए । उनले कर नीति तथा आर्थिक विषयलाई आम नागरिकसम्म सरल, तथ्यपरक र जिम्मेवार ढंगले पु¥याउन सञ्चारकर्मीले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गर्दै यस्ता अभिमुखीकरण तथा अन्तरक्रियालाई निरन्तरता दिनुपर्ने आवश्यकता औँल्याए । साथै, गिरीले राज्यका निकाय र सञ्चार क्षेत्रबीच नियमित समन्वय र संवादले सुशासन, कर सचेतना तथा उत्तरदायी पत्रकारितालाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरे ।
आन्तरिक राजश्व कार्यालय नेपालगन्जका प्रमुख कर अधिकृत पूर्ण प्रसाद न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव कृष्ण ओलीले गरेका थिए ।






























