सत्तापक्षबाटै प्रदेश सरकारले ल्याएको बजेटको प्रदेशसभामा आलोचना गरिएको छ । प्रदेशसभा तीन मन्त्रालयको बजेटको विषयगत छलफलमा बोल्दै प्रदेशसभा सदस्य बसन्ती अधिकारीले भौतिक मन्त्रालयको बजेट र बार्षिक कार्यक्रममा तालमेल नभएको भन्दै आलोचना गरेकी हुन् ।
‘नीति तथा कार्यक्रममा पूर्वाधार विकासको अवधारणालाई कार्यान्वयन गर्ने, अधुरा योजनालाई समावेश गर्ने भन्ने थियो’, प्रदेशसभा सदस्य अधिकारीले मन्त्रालयको बजेटमाथि टिप्पणी गर्दै भनिन्, ‘यसलाई प्राथमिकता दिएको पाइएको छैन ।’ ‘र यसलाई गुरुयोजना पेज नम्बर १४, २ को १४ मा आयोजना छनोट गरेर सडक सञ्जाल गुरुयोजना भनिएको छ’, उनले भनिन्, ‘माननीय मन्त्रीज्यूले त्यल्लाई प्राथमिकता दिनुभएको छैन ।’
प्रदेशसभा सदस्य अधिकारीले बैजनाथ र खजुरालाई बाँके जिल्ला भनेको उल्लेख गर्दै आफु पनि जिल्लाकै माननीय भएको बताइन् । ‘तर मलाई के लाग्छ भने बाँके जिल्ला भनेर तपाईंले हामीलाई नभन्नुहोला । बाँके जिल्ला पनि विशेषत माननीय मन्त्री रत्न खत्रीज्यूकै क्षेत्रमा छ । उहाँ बाँके जिल्लाको (एमाले) पार्टीको उपाध्यक्ष पनि हो । उहाँले राप्तीसोनारी, नरैनापुर, कोहलपुर जस्तो कर्णाली प्रदेश र सुदूरपश्चिमको केन्द्रबिन्दु रहेको कोहलपुरलाई पनि उपेक्षित गर्नुभएको छ,’ भौतिक पूर्वाधार विकास मन्त्री रत्न बहादुर खत्रीको आलोचना गर्दै उनले भनिन् । ‘यो भन्दा अगाडि एउटा पुल बनाउने बजेट भौतिक पूर्वाधार मन्त्रीले हालिदिनुभएको थियो, त्यो चाहिँ बहुवर्षीय योजना हाल्नुभएको छ’, प्रदेशसभा सदस्य अधिकारीले भनिन्, ‘हामीले यति धेरै प्रयास गर्दा गर्दै पनि त्यहाँ डुडुवा खोलामा पुल बनाउनु पर्ने थुप्रै कामहरू छन् ।’
गुरुयोजना अन्तर्गत ६ वटा योजना पेश गरेको सभामुखलाई जानकारी दिंदै प्रदेशसभा सदस्य अधिकारीले भनिन्, ‘म कोही मन्त्रालयमा गइन । उहाँहरूले मलाई देख्नुभएन ।’ सहरी विकास मन्त्रालयले सात वटा योजना दिनुभएको उल्लेख गर्दै त्यसका लागि धन्यवाद दिएको प्रदेशसभा सदस्य अधिकारीले बताइन् ।
‘त्यस्तै भौतिक मन्त्रालयको साथीहरूलाई मैले त्यहाँ गएर दर्ता गर्दिनुस् भन्दा मन्त्रीज्यूले के भन्नुभएको छ ? मैले शपथ खाएको छैन । यो फाइल त्यतै राख्नुस्, भनेपछि सचिवलाई ल लेखेर दिनुस् भनेपछि मैले दिएथेँ’, आफ्ना योजना भौतिक मन्त्रालयले समावेश नगरेको बताउँदै उनले भनिन् ।
‘यो गुरुयोजना किन बनायो माननीय मुख्यमन्त्रीज्यू ? मेरो आग्रह छ । यो तपाईंले सडक गुरुयोजना भन्नुभयो । तपाईंको नेतृत्वमा यो कार्यक्रम भो । तर त्यो समावेश भएन । मैले माननीय मन्त्रीज्यू लगायत मुख्यमन्त्रीलाई साक्षी राखेर यो छ वटा योजना नरैनापुर, राप्तीसोनारी, कोहलपुरलाई समेट्ने गरी यो गुरुयोजना ल्याएको छु, यसलाई समावेश होस् भन्ने आग्रह गर्न चाहन्छु’, उनले भनिन् ।
‘त्यसैगरी मैले यहाँ विभिन्न मन्त्रालय अन्तर्गत पर्यटन मन्त्रालयमा एकदम साना टुक्रै दुई लाख, तीन लाखका योजना भए’, प्रदेशसभा सदस्य अधिकारीले भनिन्, ‘सन्तानेश्वर मन्दिर, बाबा बरफानी मन्दिरलाई संरक्षण, प्रवद्र्धन गरी बर्दियाको केदारेश्वर मन्दिरलाई पनि पुरातात्विक संस्कृति सम्पदाको सूचीमा राख्नलाई मैले अनुरोध गरेँ ।’ ‘जलस्रोत सिँचाइ मन्त्रीज्यू, हामी आकासेभरमा खेती गर्ने मान्छे, बाँकेका मान्छेहरू । तर तपाईंले एउटा स्यालो ट्युबेल दिँदा त्यहाँ छ बिघा जग्गा सिँचाइ हुन्छ के । तर तपाईंले त्यतातिर ध्यान पु¥याउनुहुन्न । त्यो सिक्टाा सिँचाइ चाहिँ दक्षिण बेल्टका लागि हो । उत्तर बेल्ट पट्टिका जनताहरूलाई पनि त्यो सेवा पाउन पाए हुन्थ्यो भन्ने हो । हामीले पेश गरेका योजनाहरू त्यहाँ समावेश हुँदैनन् ।’





























