साहित्यकार रेग्मी र कुमाल सम्मानित
नेपाली वाङ्मयका आदिकवि भानुभक्त आचार्यको २१३ औं जन्मजयन्ती बाँकेको नेपालगन्जमा विभिन्न कार्यक्रमको आयोजना गरी भव्य रूपमा मनाइएको छ।
महेन्द्र पुस्तकालयका सचिव सतिश निरौलाका अनुसार, भानुजयन्तीको अवसरमा महेन्द्र पुस्तकालय नेपालगन्ज, भानुभक्त चोक संरक्षण तथा व्यवस्थापन समिति र भेरी साहित्य समाज नेपालगन्जको संयुक्त आयोजनामा प्रभातफेरी तथा नागरिक अभिनन्दन कार्यक्रम आयोजना भएको हो।
भानुजयन्तीको अवसरमा आइतबार बिहान न्युरोडस्थित भानुभक्त चोकमा रहेको भानुभक्तको शालिकमा माल्यार्पण गरिएको थियो। तत्पश्चात् भानु चोकबाट सुरु भएको प्रभातफेरी त्रिवेणी मोड र त्रिभुवन चोक हुँदै महेन्द्र पुस्तकालयमा पुगेर समापन भएको थियो।
सोही अवसरमा लामो समयदेखि साहित्य साधनामा अनवरत क्रियाशील दुई अग्रज साहित्यकार सनत रेग्मी र विष्णुलाल कुमाललाई दोसल्ला, माला र सम्मान पत्रसहित नागरिक अभिनन्दन गरिएको छ।
प्रभातफेरी पश्चात् महेन्द्र पुस्तकालयको सभाहलमा आयोजित औपचारिक समारोहमा प्रमुख अतिथि लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री भण्डारीलाल यादवले सम्मानित व्यक्तित्वहरूलाई सम्मान अर्पण गरे । कार्यक्रममा बोल्दै मन्त्री यादवले समाजमा सबैले सकारात्मक योगदान पुर्याउन आवश्यक रहेको र सत्कर्मबाट मात्रै मानव जीवन सार्थक हुने धारणा व्यक्त गरे ।
समारोहमा लुम्बिनी प्रदेश सभा सदस्यद्वय मिना श्रेष्ठ र अम्बिका काफ्लेका साथै आयोजक संस्थाका अध्यक्षहरू कृष्णप्रसाद श्रेष्ठ, इन्द्रबहादुर बस्नेत र बलराम यादवले संयुक्त रूपमा साहित्यकारद्वयलाई सम्मान गरे ।
अभिनन्दित साहित्यकारद्वय रेग्मी र कुमालले सम्मानले आफूहरूलाई थप उत्साहित बनाएको उल्लेख गर्दै साहित्य साधनामा निरन्तर लागिरहने प्रतिबद्धता जनाए ।
कार्यक्रममा समाजका पूर्व केन्द्रीय अध्यक्ष डा. हरि तिमिल्सिनाले आदिकवि भानुभक्त आचार्यको साहित्यिक योगदान र महत्त्वबारे चर्चा गरे ।
समारोहकै अवसरमा महेन्द्र पुस्तकालयको अतिरिक्त क्रियाकलाप उपसमितिद्वारा आयोजित निबन्ध लेखन प्रतियोगिताका विजयी विद्यार्थीहरूलाई नगद, प्रमाणपत्र र पुरस्कार वितरण गरिएको थियो।
कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ, महेन्द्र पुस्तकालयका पूर्व अध्यक्ष एवं सामाजिक व्यक्तित्व कन्हैयालाल टण्डन, लेखक तथा साहित्यकार नरेन्द्रजंग पिटर लगायत बाँकेका अग्रज व्यक्तित्वहरू, बुद्धिजीवी, पत्रकार, सामाजिक तथा राजनीतिक अगुवा एवं उद्योगी व्यवसायीहरूको बाक्लो उपस्थिति रहेको थियो।
चोक व्यवस्थापन समिति अध्यक्ष कृष्णप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रममा पुस्तकालयका अध्यक्ष बलराम यादवले स्वागत मन्तव्य राखेका थिए । भने, समाजका अध्यक्ष इन्द्रबहादुर बस्नेतले सम्मानित साहित्यकारहरूलाई बधाई ज्ञापन गर्दै सहभागीहरूलाई धन्यवाद व्यक्त गरे ।





























