लुम्बिनी प्रदेश सरकारले भेरी अस्पताल परिसरमा मातृ तथा नवजात शिशुको उपचारका लागि ५० शय्याको ‘समता भवन’ निर्माण गर्ने घोषणा गरेको छ । करिब ५० करोड रुपैयाँ लागत अनुमान गरिएको भवन निर्माणका लागि चालु आर्थिक वर्षमै १० करोड रुपैयाँ विनियोजन गर्ने प्रतिबद्धता प्रदेश सरकारले जनाएको छ ।
भेरी अस्पतालको १३६औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रत्नबहादुर खत्रीले प्रदेश सरकारका तर्फबाट उक्त घोषणा गरेका हुन् । उनले भवनको विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको जानकारी दिँदै आगामी वर्षहरूमा आवश्यक बजेट व्यवस्थापन गर्दै निर्माण कार्य सम्पन्न गरिने बताए ।
मन्त्री खत्रीले ‘समता भवन’ मातृ तथा नवजात शिशुको स्वास्थ्य सेवालाई केन्द्रमा राखेर निर्माण गरिने बताए । उनले भने, ‘समता भवन केवल एउटा भवनको नाम होइन, यो एउटा सोच हो । जसरी एउटी आमाका लागि सबै सन्तान समान हुन्छन्, त्यसरी नै राज्यका लागि पनि सबै नागरिक समान हुन्छन् ।’
उनले मातृत्व महिलाको जीवनको सबैभन्दा संवेदनशील चरण भएकाले सुरक्षित, सम्मानजनक र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनु राज्यको दायित्व भएको उल्लेख गरे। ‘नवजात शिशुको पहिलो साससँग जोडिएको त्यो क्षण सुरक्षित बनाउन आवश्यक पूर्वाधार तयार गर्नु प्रदेश सरकारको प्राथमिकता हो,’ उनले भने, ‘त्यसैले आगामी दिनमा मातृ तथा नवजात स्वास्थ्य पूर्वाधार विकासलाई समता भवन अभियानका रूपमा अघि बढाउने लक्ष्य लिएका छौं ।’
मन्त्री खत्रीले भेरी अस्पतालमा बिरामीको चाप लगातार बढ्दै गएको उल्लेख गर्दै अस्पतालको क्षमता विस्तार अपरिहार्य बनेको बताए। उनका अनुसार आमा मृत्युदर र शिशु मृत्युदर न्यूनीकरणमा नयाँ भवनले महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ ।
कार्यक्रममा उनले संघीय सरकारलाई पनि भेरी अस्पतालको समग्र स्तरोन्नतिमा विशेष ध्यान दिन आग्रह गरे । मुख्य अस्पताल भवनसहित दीर्घकालीन पूर्वाधार विकासलाई राष्ट्रिय प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औंल्याउँदै उनले भने, ‘संघ र प्रदेश सँगै अघि बढे मात्र पश्चिम नेपालको स्वास्थ्य सेवाले नयाँ उचाइ प्राप्त गर्न सक्छ ।’
भेरी अस्पताल संघीय सरकारअन्तर्गत सञ्चालन भइरहे पनि नागरिकको स्वास्थ्य आवश्यकतालाई केन्द्रमा राखेर प्रदेश सरकारले सहकार्यको नीति अपनाएको मन्त्री खत्रीले बताए। उनले भने, ‘शिक्षा, स्वास्थ्य र रोजगारीजस्ता आधारभूत क्षेत्रमा प्रदेश सरकारले यो संघको विषय हो वा यो स्थानीय तहको जिम्मेवारी हो भनेर पन्छिने छैन । जनताको आवश्यकता जहाँ देखिन्छ, त्यहीँ आफ्नो जिम्मेवारी पनि देख्नेछ ।’
भेरी अस्पतालले विशेषगरी कोभिड महामारीपछि सेवा विस्तार र व्यवस्थापनमा उल्लेखनीय प्रगति गरेको उल्लेख गर्दै उनले अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीको समर्पणको प्रशंसा गरे। प्रदेश सरकारले पनि त्यस यात्रामा आफ्नो भूमिका रहेको भन्दै उनले अस्पतालको थप विकासमा निरन्तर सहकार्य रहने प्रतिबद्धता जनाए ।
मन्त्री खत्रीले पूर्व भौतिक पूर्वाधार विकास मन्त्री इस्तियाक राईको योगदानको पनि खुलेर प्रशंसा गरे । उनले अहिले कार्यक्रम भइरहेको भवन राईकै विशेष पहलमा निर्माण भएको उल्लेख गर्दै भेरी अस्पतालको भौतिक विकासमा उनको योगदान महत्वपूर्ण रहेको बताए ।
भाषणका क्रममा उनले चिकित्सकहरूसँग भएका आफ्ना अनुभव पनि सुनाए। लामो समयदेखि भेरी अस्पतालमा कार्यरत डा. बद्री चापागाई, डा. प्रकाश थापा र डा. राजन पाण्डेलगायत चिकित्सक आफ्ना व्यक्तिगत मित्र रहेको उल्लेख गर्दै बिरामीका लागि सहयोग माग्दा अस्पतालको सीमित पूर्वाधारका कारण आउने कठिनाइबारे आफूले प्रत्यक्ष रूपमा सुनेको बताए ।
उनले डा. बद्रीसँगको संवाद स्मरण गर्दै भने, ‘दाइ, अस्पताल बनाइदिनुहुन्न, अनि बिरामी सबै भेरीमै गरिदेऊ भन्नुहुन्छ । ओटी थपिए पो अपरेशन बढाउन सकिन्छ, आईसीयूमा बेड भए पो थप बिरामी भर्ना गर्न सकिन्छ ।’
मन्त्री खत्रीले त्यो संवाद मजाक मात्र नभई नेपालको स्वास्थ्य प्रणालीको वास्तविक चित्र भएको बताए । ‘पहिले म गुनासो मात्र सुन्थें । आज जिम्मेवारीमा पुगेपछि त्यसको उत्तर दिने बेला आएको महसुस गरेको छु,’ उनले भने ।
उनले आफूले एक समय महेन्द्र क्याम्पस, नेपालगन्जमा अध्ययन गरेको र त्यहीँबाट विद्यार्थी नेतृत्वमा सक्रिय भएको स्मरण गर्दै आज प्रदेश सरकारको जिम्मेवार मन्त्रीका रूपमा भेरी अस्पतालको विकासका लागि ठोस घोषणा गर्न पाएकोमा गर्व र जिम्मेवारी दुवै अनुभूति भएको बताए । उनका अनुसार, राज्य सञ्चालन बाहिरबाट देखिएजति सहज नहुने रहेछ । कानुनी प्रक्रिया, बजेट, प्राथमिकता र विभिन्न सीमितताबीच पनि नागरिकको आवश्यकता सम्बोधन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको उनले स्पष्ट पारे ।
भेरी अस्पतालमा ५० शय्याको ‘समता भवन’ निर्माण गर्ने प्रदेश सरकारको घोषणाले संघीय सरकारमाथि पनि अस्पतालको दीर्घकालीन पूर्वाधार विकासका लागि बजेट विनियोजन गर्ने दबाब बढेको सरोकारवालाले बताएका छन् ।





























