भेरी अस्पताल नेपालगन्जको सेवा वृद्धिका लागि सामूहिक पहलको आवश्यकता औंल्याइएको छ । अस्पतालको १३६औं वार्षिकोत्सवका अवसरमा मंगलबार आयोजित कार्यक्रमका वक्ताहरूले पश्चिमका तीन प्रदेशका बिरामीहरू उपचारका लागि आउने अस्पतालमा बिरामीको चाप बढ्दै गएकाले जनशक्ति, पूर्वाधार तथा विशिष्टिकृत सेवा थप गर्न आवश्यक रहेको बताएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि, बाँके क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य समेत रहेका पूर्व मन्त्री मो. इस्तियाक राईले भेरी अस्पताल यस क्षेत्रका लाखौ नागरिकको उपचारको प्रमुख केन्द्र भएकाले यसको स्तरवृद्धि, जनशक्ति व्यवस्थापन र विशिष्टीकृत सेवा विस्तारका लागि सबै तहका सरकार तथा जनप्रतिनिधिहरूको साझा पहल आवश्यक रहेको धारणा राखे ।
पूर्वमन्त्री राईले भेरी अस्पतालका लागि जग्गा उपलब्ध गराउने स्वर्गीय औरतदेवी कसौधनको योगदानको स्मरण गर्दै उनलाई सम्मानपूर्वक सम्झिनुपर्ने बताए । उनले भेरी अस्पातलमा विशिष्टीकृत सेवा सञ्चालन गर्ने निर्णय विगतमै भएको स्मरण गराउँदै आफ्नो कार्यकालमा अधिकार क्षेत्रभन्दा बाहिर रहेका विषयमा समेत बाँकेको विकासका लागि निरन्तर पहल गरेको उल्लेख गरे । ‘मैले आफ्नो क्षेत्राधिकारभित्र नभएका विषयमा पनि बाँकेको विकासका लागि का गरेको छु, त्यसैले यहाँका जनताले मलाई निर्वाचित गराउनु भएको हो’, उनले भने ।
राईले आफ्नो पहलमा भेरी अस्पतालको विकासका लागि विनियोजित ३ सय २५ करोड रूपैयाँ सरकार परिवर्तनका कारण कार्यान्वयन हुन नसकेकोमा दुःख व्यक्त गरे । अस्पतालको विकासका लागि आफुले धेरै काम गर्न चाहेको भए पनि त्यसपछिका सरकार तथा सम्बन्धित मन्त्रीहरूले अपेक्षित ध्यान नदिएको उनको भनाइ थियो । ‘भेरी अस्पताल मेरो मात्रै होइन, म पनि यहाँ सेवाग्रहीको रूपमा आउँछु र सेवा लिन्छु । तर भेरी अस्पताल लुम्बिनी, कर्णाली र सुदुरपश्चि प्रदेशको मुटु हो’, उनले भने । अस्पतालमा ल्याइएका सिटीस्क्यान लगायतका आधुनिक उपकरणहरू समयअगावै बिग्रिने परम्पराको अन्त्य गर्नुपर्नेमा जोड दिदै उनले उपकरणहरूको उचित संरक्षण, मर्मत र प्रभावकारी सञ्चालनमार्फत धेरैभन्दा धेरै बिरामीले लाभ लिन सक्ने वातावरण बनाउन आग्रह गरे ।
भेरी अस्पतालको सबैभन्दा ठुलो समस्या जनशक्ति व्यवस्थापन रहेको उल्लेख गर्दै पूर्वमन्त्री राईले दरबन्दी अनुसार कर्मचारी अभावका कारण सेवा प्रवाह प्रभावित भइरहेको बताए । संघीय अस्पताल भए पनि प्रदेश सरकारले समेत सहयोग गरिहेकोमा धन्यवाद व्यक्त गर्दै उनले जनशक्ति अभाव समाधानका लागि सबै जनप्रतिनिधिहरू एकजुट भएर पहल गर्नु पर्ने आवश्यकता औल्याए । उनले अस्पतालका लागि छुट्याइएका तर विभिन्न कारणले फ्रिज भएका बजेट पुनः ल्याउनुपर्नेमा पनि जोड दिए । अस्पतालमा पछिल्लो समय हुने गरेका अवाञ्छित घटनाप्रति चिन्ता व्यक्त गर्दै उनले कानुन हातमा लिएर अस्पतालमा हुलहुज्जत गर्ने व्यक्तिलाई कानुनी दायरामा ल्याउने स्थानीय प्रशासनको ध्यानाकर्षण गराए ।
लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री रत्नबहादुर खत्रीले आगामी आर्थिक वर्षमा भेरी अस्पताल परिसरमा ५० शैय्याको समता भवन निर्माणका लागि प्रदेश सरकारले सहयोग गर्ने घोषणा गर्दै आमा तथा शिशु मृत्युदर न्युनीकरणमा उक्त भवन महत्वपूर्ण हुने बताए ।
प्रतिनिधिसभा सदस्य सुरेश चौधरीले बिरामीको उपचारमा स्वास्थ्यकर्मीको व्यवहारको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै स्वास्थ्यकर्मीको सकारात्मक बोलीचाली र सेवाभावले बिरामीको आधा रोग निको पार्न सक्ने धारणा व्यक्त गरे ।
लुम्बिनी प्रदेशसभा सदस्य माया पुनले स्वास्थ्य क्षेत्रमा बजेट कटौती हँुदा विपन्न वर्ग उपचाबाट वञ्चित हुने अवस्था सिर्जना हुने भएकाले स्वास्थ्य सेवामा पर्याप्त लगानी आवश्यक रहेको बताइन् ।
भेरी अस्पातालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. नविन दर्नालले अस्पतालको वर्तमान अवस्था, सेवा प्रवाह, चुनौती तथा भावी योजनाबारे जानकारी गराउँदै अस्पतालमा अझै पनि भौतिक संरचनाको अभाव, बिरामीको अत्यधिक चाप, मध्यमस्तरको जनशक्ति कमी, सीमित शय्या क्षमता, ओपीडी तथा निदान सेवामा लामो प्रतीक्षा समय, पार्किङ तथा बिरामी पर्खने स्थानको अभाव जस्ता समस्या रहेको बताए । उनले ती समस्या समाधानका लागि संघीय, प्रदेश र स्थानीय सरकारको समन्वित सहोग आवश्यक रहेको उल्लेख गरे ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य केपी खनाल, सुस्मा स्वर्णकार, लुम्बिनी प्रदेशसभा सदस्य बादशाह कुर्मी, राष्ट्रिय स्वतन्त्र पार्टी लुम्बिनी प्रदेशका महामन्त्री सीएम उपाध्याय, नेपाली कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेल, नेकपा एमाले बाँकेका अध्यक्ष निरक गुरुङ, संघीय स्वास्थ्य मन्त्रालयका पूर्व अतिरिक्त सचिव डा.श्यामसुन्दर यादव, सञ्जीवनी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा.रोमन किदवाई, सुशील कोइराला प्रखर क्यान्सर अस्पातालका निर्देशक डा.निरज भट्टाराई लगायको उपस्थिति रहेको थियो ।
अस्पताल विकास समितिका कार्यवाहक अध्यक्ष डक्ट धितालको अध्यक्षतामा भएको वार्षिकोत्सवको अवसरमा अस्पतालको स्मारिका विमोचन, उत्कृष्ट कर्मचारी सम्मान तथा सांस्कृतिक कार्यक्रम समेत आयोजना गरिएको थियो ।





























