दिलकुमार तामाङ
प्रजिअ बाँके
नेपालगन्ज र समग्र बाँके जिल्लाको विकासका लागि महत्वपूर्ण दुईवटा मागसहितको ज्ञापनपत्र पेस गर्नुभएको छ । यी दुवै मागका सन्दर्भमा यहाँहरूले उठाउनुभएका विषयहरू अत्यन्तै सान्दर्भिक र महत्वपूर्ण छन् ।
विशेषगरी पहिलो मागका रूपमा रहेको दिल्ली हवाई उडान सञ्चालनको विषयमा यहाँहरूले निकै अगाडिदेखि नै निरन्तर प्रयास गरिरहनुभएको कुरामा म जानकार छु । यस जिल्लाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालिरहेको सन्दर्भमा मैले पनि माथिल्लो तहका अधिकारीहरूसँग विभिन्न प्रसंगमा भेटघाट तथा छलफल हुँदा यस विषयलाई उठाउँदै आएको छु । यहाँहरूले मलाई यस विषयमा पैरवी गरिदिन आग्रह नगरे तापनि मैले आफ्नो तर्फबाट आवश्यक पहल र पैरवी गरिरहेको छु ।
यस विषयमा मैले वर्तमान माननीय पर्यटनमन्त्रीज्यूसँग पनि व्यक्तिगत रूपमा कुरा राखिसकेको छु । त्यसको साक्षीका रूपमा हाम्रा श्रीरामजी पनि हुनुहुन्छ । त्यस्तै, एउटा छलफलका क्रममा राष्ट्रिय सभाका अध्यक्षज्यू, प्रदेश सभाका सभामुखज्यू, यस क्षेत्रका माननीयज्यूहरू तथा उपसभामुखज्यूसमक्ष पनि यो विषयलाई उठाउने अवसर पाएको थिएँ ।
त्यस अवसरमा विमानस्थलको टर्मिनल भवनको अवलोकनसमेत गरिएको थियो । नेपालगन्जबाट दिल्ली हवाई उडान सञ्चालन गर्ने सम्भावना, साथै मानसरोवर यात्रामा जाने तीर्थयात्रीहरूको तथ्यांक र आवश्यक तथ्यगत विवरणसहित यस विषयमा थप पहल गर्नुपर्ने आवश्यकता मैले त्यतिबेला पनि औँल्याएको थिएँ ।
यसरी औपचारिक तथा अनौपचारिक दुवै माध्यमबाट नेपालगन्जवासीको यसप्रतिको तीव्र चाहना र आवश्यकताबारे मैले माथिल्लो तहका अधिकारीहरूसमक्ष कुरा राख्दै आएको छु । आज यहाँहरूले ज्ञापनपत्रमार्फत यस विषयलाई औपचारिक रूपमा प्रस्तुत गर्नुभएको छ । यसलाई सम्बन्धित निकायमा पठाउने काम त हुन्छ नै, व्यक्तिगत रूपमा पनि मेरो तर्फबाट आवश्यक पहल निरन्तर रहनेछ भन्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।
अब दोस्रो मागका सन्दर्भमा कुरा गर्दा, एकीकृत जाँच चौकी सञ्चालनमा आइसकेको छ । यसलाई म हाम्रो क्षेत्रको पूर्वाधार विकासमा भएको एउटा महत्वपूर्ण उपलब्धि तथा फड्कोका रूपमा लिन्छु । अन्तर्राष्ट्रिय व्यापारलाई व्यवस्थित र व्यापार सहजीकरणलाई प्रभावकारी बनाउने उद्देश्यले भन्सार विन्दुमा निर्माण भएको यो पूर्वाधार सञ्चालनमा आइसकेको छ ।
अब यसलाई थप स्तरोन्नति गर्दै यहाँहरूले प्रस्ताव गर्नुभएअनुसार ड्राई पोर्टका रूपमा विकास गर्न आवश्यक छ । त्यसका लागि आवश्यक पूर्वाधार, उपकरण तथा अन्य सुविधाहरूको व्यवस्था गर्नुपर्ने देखिन्छ । यसो गर्न सकिएमा यस क्षेत्रको व्यापारलाई अझ प्रभावकारी र गुणात्मक रूपमा सहजीकरण गर्न ठूलो सहयोग पुग्नेछ भन्ने मेरो विश्वास छ ।
यस विषयमा पनि मैले आफ्नो तर्फबाट सक्दो पहल गर्नेछु ।
यहाँहरूले यी दुवै महत्वपूर्ण विषयलाई सम्बोधन गर्न प्रस्तुत गर्नुभएको ज्ञापनपत्र आजै गृह मन्त्रालयमार्फत सम्माननीय प्रधानमन्त्रीज्यूको कार्यालयमा पुग्ने गरी आवश्यक कारबाहीका लागि पठाउने व्यवस्था मिलाउनेछु । (ज्ञापनपत्र ग्रहण गरेपछि व्यक्त धारणा)






























