नेपालगन्जलाई अन्तर्राष्ट्रिय हवाई र व्यापारिक केन्द्र बनाउन प्रधानमन्त्रीसँग माग
बाँकेका राजनीतिक दल, नागरिक समाज, पत्रकार, उद्योगी व्यवसायी तथा विभिन्न क्षेत्रका अगुवाहरूको सहभागितामा मंगलवार विभिन्न मागसहित प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाइएको छ ।
अघिल्लो दिन नेपालगन्जमा भएको सर्वपक्षीय बैठकको निष्कर्षका आधारमा प्रधानमन्त्रीसमक्ष ज्ञापन पत्र पठाइएको हो । सोमबार नेपालगन्जमा बसेको बैठकले दुवै विषयलाई भारत भ्रमणको कार्यसूचीमा समावेश गराउन जिल्ला प्रशासन कार्यालय बाँकेमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाउने निर्णय गरेको थियो ।
सोही निर्णयअनुसार संघको अगुवाइमा मंगलबार बिहान प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङमार्फत प्रधानमन्त्री शाहलाई ज्ञापनपत्र बुझाइएको हो । नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टसहित प्रशासन पुगेको टोली सन्मूख, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई सम्बोधन गर्दै तयार पारिएको पत्र जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई पठाएका हुन् ।
ज्ञापन पत्रमा नेपालगन्जलाई पश्चिम नेपालको अन्तर्राष्ट्रिय हवाई तथा व्यापारिक केन्द्रका रूपमा विकास गर्न नेपालगन्ज–दिल्ली सिधा हवाई उडान सञ्चालन र जमुनाहस्थित एकीकृत जाँच चौकीलाई स्तरोन्नति गरी सुख्खा बन्दरगाह निर्माण गर्न माग गरिएको छ । प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणका क्रममा यी दुवै विषयलाई उच्च प्राथमिकताका साथ उठाउन नेपालगन्ज उद्योग वाणिज्य संघले सरकारको ध्यानाकर्षण गराएको हो ।
संघले नेपालगन्जलाई पश्चिम नेपालको प्रमुख अन्तर्राष्ट्रिय हवाई तथा व्यापारिक केन्द्रका रूपमा स्थापित गर्न सरकारले तत्काल नीतिगत, प्राविधिक, वित्तीय र कूटनीतिक पहल गर्नुपर्ने जनाएको छ । अध्यक्ष ओलीका अनुसार, नेपालगन्जको आर्थिक, पर्यटन तथा व्यापारिक विकाससँग प्रत्यक्ष जोडिएका यी दुई आयोजना लामो समयदेखि उठ्दै आए पनि कार्यान्वयनको चरणमा पुग्न सकेका छैनन् । त्यसैले प्रधानमन्त्रीको भारत भ्रमणलाई दुवै विषयमा ठोस पहल गर्ने अवसरका रूपमा उपयोग गर्नुपर्ने संघको माग छ ।
नेपालगन्ज विमानस्थलबाट भारतको राजधानी नयाँदिल्लीसम्म सिधा अन्तर्राष्ट्रिय हवाई उडान सञ्चालन गर्न आवश्यक प्रक्रिया अघि बढाउन ज्ञापनपत्रमा विशेष जोड दिइएको छ । यस्तो उडान सुरु भए बाँके, बर्दिया, दाङसँगै लुम्बिनी र कर्णाली प्रदेशका नागरिकलाई अन्तर्राष्ट्रिय आवागमनमा सहज हुने संघको भनाइ छ । यसले पर्यटन, धार्मिक यात्रा, स्वास्थ्य उपचार, शिक्षा, व्यापार तथा लगानी प्रवद्र्धनमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।
विशेषगरी कैलाश मानसरोवरलगायत धार्मिक तथा पर्यटकीय गन्तव्यमा जाने विदेशी पर्यटकका लागि नेपालगन्जलाई महत्वपूर्ण प्रवेशद्वार बनाउन सकिने सम्भावना ज्ञापनपत्रमा औंल्याइएको छ । नेपालगन्जको भौगोलिक अवस्थिति र विद्यमान हवाई पूर्वाधारलाई उपयोग गर्न सके पश्चिम नेपालमा पर्यटकीय गतिविधि विस्तार गर्न सहज हुने निष्कर्ष छ ।
यसका लागि नेपालगन्ज विमानस्थललाई अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न आवश्यक पूर्वाधार र सेवासुविधासहित स्तरोन्नति गर्नुपर्ने माग गरिएको छ । नेपाल र भारतबीच हवाई मार्ग निर्धारण, उडान अनुमति तथा अन्य आवश्यक कूटनीतिक समन्वयको प्रक्रिया पनि अघि बढाउन संघले आग्रह गरेको छ ।
हवाई उडानसँगै संघले नेपाल–भारत सीमाको जमुनाह नाकामा रहेको विद्यमान एकीकृत जाँच चौकीलाई स्तरोन्नति गरी आधुनिक सुविधासम्पन्न सुख्खा बन्दरगाह निर्माण गर्नुपर्ने विषय पनि अघि सारेको छ । नेपालगन्जलाई पश्चिम नेपालको प्रमुख व्यापारिक केन्द्रका रूपमा विकास गर्न यो आयोजना आवश्यक रहेको भनाइ छ ।
सुख्खा बन्दरगाह निर्माण भएपछि आधुनिक कन्टेनर यार्ड, गोदाम, कोल्ड स्टोरेज, बण्डेड वेयरहाउस, कार्गो व्यवस्थापन तथा भन्सार जाँचपासलगायतका सुविधा विकास गर्न सकिने ज्ञापनपत्रमा उल्लेख छ । यस्ता पूर्वाधार तयार भए पश्चिम नेपालको आयात–निर्यात व्यापारलाई थप व्यवस्थित बनाउन सकिनेछ । सामान ढुवानी, भण्डारण र भन्सार प्रक्रियामा लाग्ने समय तथा लागतसमेत घटाउन सहयोग पुग्ने यहाँका उद्योगी व्यवसायीको अपेक्षा छ ।
संघले भारतको रुपैडिहास्थित ल्यान्ड पोर्टसँग समन्वय र सहकार्य गरेर नेपालगन्जलाई तेस्रो मुलुकसँगको व्यापार तथा पारवहनको महत्वपूर्ण केन्द्रका रूपमा विकास गर्न सकिने सम्भावना पनि प्रस्तुत गरेको छ ।
नेपालगन्ज–दिल्ली सिधा हवाई उडान र सुख्खा बन्दरगाह निर्माण दुवै आयोजना एकअर्काका परिपूरक रहेको संघको निष्कर्ष छ । यी आयोजना कार्यान्वयनमा आए नेपालगन्जलाई पश्चिम नेपालको प्रमुख अन्तर्राष्ट्रिय हवाई, पर्यटन, व्यापार तथा पारवहन केन्द्रका रूपमा स्थापित गर्न सकिने संघले जनाएको छ । त्यसैले दुवै विषयलाई राष्ट्रिय प्राथमिकतामा राखेर आवश्यक नीतिगत निर्णयदेखि प्राविधिक, वित्तीय र कूटनीतिक प्रक्रिया अघि बढाउन सरकारसँग आग्रह गरिएको छ ।
प्रधानमन्त्री शाहले मंसिर ६ गतेदेखि दुई दिने भारत भ्रमण गर्ने कार्यक्रम छ । भ्रमणका क्रममा नेपालगन्जको लामो समयदेखिको माग सम्बोधन गर्न आवश्यक पहल हुने अपेक्षा स्थानीय उद्योगी व्यवसायी तथा सरोकारवालाले गरेका छन् ।
ज्ञापन पत्र ग्रहण गर्दै प्रजिअ तामाङले तत्कालै प्रधानमन्त्री कार्यालयमा पठाइने प्रतिबद्धता जनाएका थिए ।






























