तेस्रो मुलुकसँगको व्यापार सहज बनाउन प्रधानमन्त्रीको भारत भ्रमणमा दुई नयाँ बन्दरगाहको मुद्दा उठाउने तयारी, २०१९ को सहमति कार्यान्वयन हुन अझै बाँकी
प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपालले तेस्रो मुलुकसँगको व्यापार सहज बनाउन उडिसाको धाम्रा र गुजरातको मुन्द्रा बन्दरगाह प्रयोगको अनुमति माग्ने तयारी गरेको छ।
भारतले सन् २०१९ मै यी बन्दरगाह प्रयोग गर्न दिने सहमति गरे पनि हालसम्म व्यापार तथा पारवहन सन्धि संशोधन हुन सकेको छैन।
हाल नेपालले कोलकाता, हल्दिया र विशाखापट्टनम बन्दरगाह प्रयोग गर्दै आएको छ। थप दुई बन्दरगाहको पहुँच पाए ढुवानी लागत र समय घट्नुका साथै वैदेशिक व्यापारमा विकल्प बढ्ने अपेक्षा गरिएको छ।
वीरगञ्जबाट करिब ९५० किलोमिटर दूरीमा रहेको धाम्रा बन्दरगाह पश्चिम एसियाली मुलुकसँगको व्यापारका लागि उपयोगी हुन सक्छ। त्यस्तै, गुजरातस्थित मुन्द्रा बन्दरगाहमार्फत युरोप, मध्यपूर्व, अफ्रिका तथा दक्षिणपूर्वी एसियासँगको ढुवानी सहज हुने अपेक्षा छ।
दुवै बन्दरगाह अडानी समूहको व्यवस्थापनमा रहेकाले त्यहाँबाट व्यापार गर्न सहज हुने निजी क्षेत्रको विश्वास छ।
‘हामीलाई बन्दरगाहको थप विकल्प होस् भनेर माग गर्ने तयारी गरेका छौं,’ भ्रमणका एजेण्डा तय गर्ने काममा संलग्न एक उच्च अधिकारीले भने।
वाणिज्य मन्त्रालयले पनि बन्दरगाह पहुँचको विषय भ्रमणका एजेण्डामा समावेश गर्न प्रस्ताव पठाएको छ। परराष्ट्र मन्त्रालयले यसलाई प्राथमिकतामा राख्ने तयारी गरेको छ। भारतीय राजदूत सुधाकर दलेलासँगको भेटमा समेत यस विषयमा पुनः ध्यानाकर्षण गराइएको मन्त्रालय स्रोतले जनाएको छ।






























