सप्ताहव्यापी रक्तदानसहित मनाइँदै ६१औँ रक्तसञ्चार सेवा स्थापना दिवस
बाँकेमा अस्पतालको संख्या र बिरामीको चाप बढ्दै जाँदा रगतको माग पनि निरन्तर बढिरहेको जनाइएको छ । यही अवस्थालाई मध्यनजर गर्दै नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाले ६१औँ रक्तसञ्चार सेवा स्थापना दिवस सप्ताहव्यापी रक्तदान कार्यक्रमसहित मंगलबार मनाएको छ ।
दिवसका अवसरमा आयोजित कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झनाले जिल्लामा स्वास्थ्य सेवा विस्तारसँगै रगतको आवश्यकता वर्षेनी बढ्दै गएको बताए । उनले स्वयंसेवी र संस्थागत रक्तदाताको योगदानको प्रशंसा गर्दै भने, ‘अस्पतालको संख्या बढेको छ, बिरामीको चाप पनि बढेको छ । त्यसअनुसार रगतको माग पनि हरेक दिन बढिरहेको छ । यस्तो अवस्थामा स्वयंसेवी तथा संस्थागत रक्तदाताले पु¥याएको योगदान अत्यन्त महत्वपूर्ण छ ।’ उनले रक्तदानलाई मानवीय सेवाको उत्कृष्ट उदाहरणका रूपमा उल्लेख गर्दै सबै रक्तदाताप्रति आभार व्यक्त गरे ।
दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार सेवा केन्द्र नेपालगन्ज तथा कोहलपुर र खजुरास्थित रक्तसञ्चार सेवा इकाइमा सप्ताहव्यापी खुला रक्तदान कार्यक्रम सञ्चालन भइरहेको छ ।
अभियानअन्तर्गत अछामी सेवा समाज बाँकेले ५१ पिन्ट, राष्ट्रिय स्वतन्त्र पार्टी कोहलपुरले ८१ पिन्ट तथा भेरी अस्पताल नेपालगन्जले आफ्नो १३६औँ वार्षिकोत्सवका अवसरमा ३३ पिन्ट रगत संकलन गरेको छ । यस्तै साउन १३ गते एक्टिभ युवा क्लब खजुराले पनि रक्तदान कार्यक्रम आयोजना गर्ने जनाएको छ ।
प्रादेशिक रक्तसञ्चार सेवा केन्द्र नेपालगन्जका प्रमुख उपेन्द्र रेग्मीका अनुसार, आर्थिक वर्ष २०८२÷८३ मा केन्द्रबाट २४ हजार ५ सय २६ पिन्ट रगत वितरण गरिएको छ । नेपालगन्ज, कोहलपुर र खजुरा क्षेत्रमा रहेका २२ वटा अस्पतालमार्फत चिकित्सकको सिफारिसका आधारमा बिरामीलाई रगत उपलब्ध गराइएको उनले जानकारी दिए ।
रेग्मीले बाँके स्वास्थ्य सेवाको प्रमुख केन्द्रका रूपमा विकसित भएकाले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका ठूलो संख्यामा बिरामी उपचारका लागि यहाँ आउने गरेको बताए । उनले यही कारण सुरक्षित र पर्याप्त रक्तसञ्चार सेवाको आवश्यकता निरन्तर बढिरहेको उल्लेख गरे ।
हाल नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाले तीन स्थानबाट रक्तसञ्चार सेवा सञ्चालन गरिरहेको छ । प्रादेशिक रक्तसञ्चार सेवा केन्द्र नेपालगन्ज, कोहलपुर मेडिकल कलेज शिक्षण अस्पतालस्थित रक्तसञ्चार सेवा इकाइ तथा सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, खजुरास्थित रक्तसञ्चार सेवा इकाइमार्फत नियमित रूपमा रक्तसञ्चार सेवा प्रदान हुँदै आएको छ ।
६१औँ रक्तसञ्चार सेवा स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममार्फत रेडक्रसले नियमित रक्तदानको संस्कृतिलाई थप सुदृढ बनाउने, रगतको अभाव हुन नदिने र स्वयंसेवी रक्तदाताको संख्या बढाउने उद्देश्यसहित सप्ताहव्यापी अभियान सञ्चालन गरिरहेको जनाएको छ ।






























