जिल्ला प्रशासन कार्यालय बाँकेले गत आर्थिक वर्ष २०८२/०८३ मा १० हजार १६ वटा नागरिकता वितरण गरेको छ ।
कार्यालयको तथ्यांकअनुसार गत आर्थिक बर्षसमीक्षा अवधिमा आमाको नामबाट ९ जनाले नेपाली नागरिकता प्राप्त गरेका छन् । संविधानले सुनिश्चित गरेको नागरिकताको अधिकारलाई व्यवहारमा कार्यान्वयन गर्ने क्रममा आमाको नामबाट नागरिकता वितरणलाई महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ । यसले लैङ्गिक समानता तथा नागरिकको संवैधानिक अधिकारको कार्यान्वयनलाई थप बल पुगेको छ ।
त्यसैगरी, ११ जना गैरआवासीय नेपाली (एनआरएन) लाई पनि गैर आवासीय नागरिकता प्रदान गरिएको छ । विदेशमा बसोबास गर्दै आएका नेपाली मूलका व्यक्तिलाई नेपालको आर्थिक, सामाजिक र सांस्कृतिक सम्बन्धसँग जोड्ने उद्देश्यले दिइने एनआरएन नागरिकता वितरणले पछिल्ला वर्षहरूमा निरन्तरता पाएको देखिएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार आर्थिक वर्षभर वंशजका आधारमा ८ हजार ८६६, वैवाहिक अंगीकृत ८३४, अंगीकृत २८०, कर्मचारी परिवारको नाताले १६, गैरआवासीय नेपाली ११ र आमाको नामबाट ९ वटा नागरिकता वितरण गरिएको छ ।





























