मल्लको ९१औं जन्मजयन्तीमा सम्झना
भेरी साहित्य समाज केन्द्रीय समितिले यस बर्षको प्रेम प्रकाश मल्ल मधुकर स्मृति पुरस्कार नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव, नेपाल संस्कृत विश्वविद्यालयका पूर्व रजिष्ट्रार, पूर्वीय दर्शनका आधिकारिक विज्ञ, प्राध्यापक जगत उपाध्याय प्रेक्षितलाई प्रदान गरेको छ । शनिबार स्वर्गीय मल्लको ९१औं जन्मजयन्तीको अवस्थामा आयोजित कार्यक्रम बीच रु ५१ हजार १ सय ११ राशीबाट प्रेक्षितलाई पुरस्कृत गरिएको हो ।
केन्द्रीय समितिका अध्यक्ष इन्द्र बहादुर बस्नेत, प्रमुख अतिथि मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति डा. राजन सुवाल, विशेष अतिथि पुरस्कारका संस्थापक प्रेम प्रकाश मल्लका छोरीज्वाई वाणिश्री मल्ल एवं बखत बहादुर मल्लले प्रेक्षितलाई पुरस्कार एवं सम्मान प्रदान गरेका थिए ।
कार्यक्रममा भेरी साहित्य समाजद्वारा प्रकाशित प्रेम प्रकाश मल्लका समग्र रचनाहरुको संग्रह ‘प्रेम प्रकाश मल्ल मधुकर रचनावली’ को विमोचन समेत गरिएको थियो । जसमा स्वर्गीय मल्लका हालसम्म प्रकाशित नभएका तथा युटुबा बजिरहेका सिर्जनालाई समेत समेटिएको थियो ।
पुरस्कृत व्यक्तित्वको बारेमा रचनावलीका बारेमा संस्थाका सल्लाहका डा. हरितिमित्सिनाले प्रकाश पारेकाको कार्यक्रममा स्व. मल्लका बारेमा पुरस्कृत व्यक्तित्व प्रेक्षित र समालोचक हरि सुवेदीले प्रकाश धारणा राखेका थिए ।
सय बढी श्रष्टा, द्रष्टाहरु समेत बबई बहुमुखी क्याम्पस गुलरिया र बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरका क्याम्पस प्रमुख हरि जोशी एवं दान बहादुर हमाल समेतको उपस्थिति रहेको थियो ।

समितिका महासचिव सुन्दर गुरुङले सञ्चालन गरेको कार्यक्रममा स्वागत वरिष्ठ उपाध्यक्ष इश्वरी रिजालले गरेका थिए । कार्यक्रममा स्वर्गीय मल्लका राष्ट्रिय गितहरु गुरुङ र प्रभात सुवेदीले गाएका थिए भने अन्य गीत बजाइएको थियो ।
समितिले विगत २०७२ सालदेखि प्रेम प्रकाश मल्ल मधुकर स्मृति पुरस्कारकोषको व्यवस्थापन र सञ्चालन गर्दै आएको छ । २०७३ सालदेखि प्रदान गर्दै आएको पुरस्कार हालसम्म साहित्यकार सनत रेग्मी, डा. गोपाल शर्मा अधिकारी, वरिष्ठ पत्रकार पूर्णलाल चुके, साहित्यकार सिर्जन लम्साल, साहित्यकार हरि तिमिल्सिना लगायतलाई प्रदान गरिसकिएको छ । हाल उक्त कोषमा ६ लाख १ सय ४७ रहेको छ । कोषको ब्याजबाट प्रत्येक बर्ष पुरस्कार प्रदान हुँदै आएको छ ।






























