उद्योगी, व्यवसायी संघ बाँके, नेपाल उद्योग तथा वाणिज्य महासंघ र प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ बाँके बीच कार्यसमितिका पद बाँडफाँडको सहमति भएको छ ।
उद्योगी, व्यवसायी संघ बाँकेले अध्यक्ष, कोषाध्यक्ष, वरिष्ठ सदस्यसहित १२ पद पाउने समझदारी भएको छ । प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ बाँकेले दुई उपाध्यक्ष र उपमहासचिवसहित ८ पद तथा नेपाल उद्योग तथा वाणिज्य महासंघ बाँकेले एक उपाध्यक्ष र महासचिवसहित ६ पद पाउने सहमति भएको हो ।
‘पद बाँडफाँडको टुंगो लागिसकेको छ’, एक व्यवसायी नेताले भने, ‘अब संगठनहरूले आन्तरिक रूपमा आकांक्षी व्यवस्थापन गर्न जुटेका छन् ।’ त्यही व्यवस्थापनको चुनौतीले सहमति बाहिर ल्याउन नसकिएको सम्बद्ध स्रोतको दावी छ ।


यस्तो छ निर्वाचन तालिका
संघको कार्यसमिति २७ सदस्यीय हुने व्यवस्था छ । त्यसमध्ये २१ पदका लागि निर्वाचन हुनेछ । अध्यक्षसहित सात पदाधिकारी, १० सदस्य, दुई एशोसिएट र दुई वस्तुगत पदका लागि निर्वाचन हुने संघका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवि ओलीले जानकारी दिए ।
‘निर्वाचित अध्यक्षले २ र कार्यसमितिले ३ जना सदस्य मनोनित गर्नेछन्’, ओलीले दैनिक नेपालगन्जसँग भने । संघका निवर्तमान अध्यक्ष कार्यसमितिमा रहने व्यवस्था पनि विधानमा रहेको उनले बताए ।
यसैबीच निर्वाचन समितिले निर्वाचन कार्यक्रमसमेत सार्वजनिक गरिसकेको छ । निर्वाचन आयुक्त तीर्थराज ज्ञवालीले सार्वजनिक गरेको तालिकाअनुसार, साउन २० गते मतदाता नामावली प्रकाशन गर्ने कार्यक्रम छ । साउन २२ गते उम्मेदवारी मनोनयन दर्ता तथा उम्मेदवारको नामावली प्रकाशन हुनेछ । साउन २४ गते उम्मेदवारी फिर्ता र अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ । मतदान भने भदौ ६ गतेका लागि तोकिएको छ ।






























