तयारीमा छैठौं संस्करण
भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजना हुँदै आएको भ्रष्टाचारविरुद्ध नेपालगन्ज वाकाथनको छैठौं संस्करण आगामी मंसिर २३ गते हुने भएको छ ।
आयोजकका अनुसार, वाकाथन नेपालगन्जको गणेशमान चौकबाट शुरु भई चारबाहिनि, सदरलाईन हँुदै नेपालगन्जको रामलिला मैदानमा गएर समापन हुनेछ ।
भ्रष्टाचारविरुद्ध क्रियाशील संस्था बास नेपालको आयोजनामा तथा अन्तरालको व्यवस्थापनमा विगत छ वर्षदेखि हुँदै आएको वाकाथनलाई यस वर्ष पनि निरन्तरता दिन लागिएको हो । कार्यक्रमको तयारीका विषयमा बिहीबार समन्वय बैठकसमेत गरिएको छ ।
भ्रष्टाचारविरुद्ध सँगै हिँडौँ भन्ने नाराका साथ आयोजना हुने वाकाथनमार्फत भ्रष्टाचारविरुद्ध जनचेतना अभिवृद्धि गर्ने र सुशासनका पक्षमा नागरिकलाई एकजुट बनाउने उद्देश्य राखिएको आयोजकले जनाएको छ ।
संयुक्त राष्ट्रसंघीय महासभाले सन् २००३ डिसेम्बर ९ मा भ्रष्टाचारविरुद्धको संयुक्त राष्ट्रसंघीय महासन्धि पारित गरेको थियो । उक्त महासन्धिमा १३४ राष्ट्रले हस्ताक्षर गरेका थिए । महासन्धि पारित भएको दिनलाई भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका रूपमा विश्वभर मनाउन थालिएको हो ।
सन् २००४ देखि मनाउन सुरु गरिएको यो दिवस यस वर्ष २३औँ संस्करणका रूपमा मनाइँदैछ । आयोजक बासका अनुसार, यस वर्ष दिवसको नारा ‘भ्रष्टाचार र अपराधबीचको सम्बन्ध उजागर गर्दै अन्तरसम्बन्धहरू पहिचान गरौँ’ रहेको छ ।






























