नेपालगन्ज उद्योग वाणिज्य संघको वार्षिक साधारणसभा र आसन्न निर्वाचनको वैधानिकतामा आशंका गर्दै दायर उजुरी उपर जिल्ला प्रशासन कार्यालय बाँकेले चासो देखाएको छ ।
संघको ३४ औं र ३५ औं वार्षिक साधारण सभा तथा निर्वाचन प्रक्रिया कानुन र संस्थाको विधानविपरीत भएको दाबी गर्दै त्यसलाई तत्काल स्थगित गर्न माग गरिएको निवेदनमा प्रशासनले चासो देखाएको हो ।
संघका पूर्व कोषाध्यक्ष तनविर जमाल हल्वाईले विहीवार जिल्ला प्रशासन कार्यालय बाँकेमा उजुरी दिंदै आगामी साउन ३० गते आयोजना गरिन लागेको संघको वार्षिक साधारणसभा र त्यसपछिको निर्वाचनको बैधानिकतामा कानुनी अड्चन देखाएका हुन् ।
बाँके प्रशासनका सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङले त्यसबारे सोमवारसम्म जवाफ दिन संघलाई निर्देशित गरेका छन् । संघ सम्बद्ध स्रोतका अनुसार, संघका कानुनी सल्लाहकारले त्यसबारे आवश्यक प्रक्रिया अगाडी बढाएका छन् ।
संघका पूर्व कोषाध्यक्ष हलवाईले जिल्ला प्रशासन कार्यालय बाँकेमा निवेदन दिँदै साधारण सभा र निर्वाचनअघिका सम्पूर्ण प्रक्रिया छानबिन गरेर मात्र अघि बढाउन माग गरेपनि उक्त कुरामा प्रशासनले हस्तक्षेप भने गरेन । उजुरी दर्ता भएकै भोलिपल्ट शुक्रवारदेखि निर्वाचन कार्यक्रमले तिब्रता पाएको छ । सो दिन, २१ विभिन्न पदका लागि अध्यक्षमा दुई जनासहित ३३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । भने, उपाध्यक्षसहित विभिन्न पदमा निर्विरोध उम्मेदवारीसमेत परेका छन् । आज आइतवार उम्मेदवारी फिर्ताका लागि समय तालिका बनाइएको छ ।
यसैबीच, शनिवार उम्मेदवारविरुद्ध उजुरी छानविन सकिएको छ । निर्वाचन समितिका अनुसार, अध्यक्ष पदका उम्मेदवार ध्रुब दाहालविरुद्ध परेको दुई उजुरी दरपीट गरिएको छ । ‘टेबलमा उजुरी छाडेर गएकाले त्यसको हस्ताक्षरको आधिकारिकता पुष्टि भएन,’ निर्वाचन समितिका सदस्य, अधिवक्ता माधव शर्माले दैनिक नेपालगन्जसँग भने, ‘संघको विधान अनुुसार त्यसको टुंगो लगाइएको छ ।’ दाहाल विरुद्ध कर्जा सूचना केन्द्रको कालो सूचीमा परेको दावी सहितका उजुरी गरिएको थियो ।






























