अवैध घरेलु मदिरा उत्पादन भइरहेको सूचनाका आधारमा प्रहरीले बाँकेको नरैनापुर र राप्तीसोनारी गाउँपालिकाका विभिन्न स्थानमा खानतलासी गरी अवैध घरेलु मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ बरामद गरी नष्ट गरेको छ।
शनिबार नरैनापुर गाउँपालिका–५, मोतिपुर र राप्तीसोनारी गाउँपालिका–६, हब्रहवा क्षेत्रमा अवैध घरेलु मदिरा उत्पादन भइरहेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय भगवानपुरबाट प्रहरी टोली खटिएको थियो।
प्रहरी टोलीले सम्बन्धित स्थानमा खानतलासी गर्दा अवैध घरेलु मदिरा बनाउन प्रयोग गरिने ९४० लिटर कच्चा पदार्थ फेला पारी बरामद गरेको थियो। बरामद गरिएको कच्चा पदार्थलाई प्रहरीले रीतपूर्वक नष्ट गरेको इलाका प्रहरी कार्यालय भगवानपुरले जनाएको छ।
प्रहरीले अवैध घरेलु मदिरा उत्पादन तथा बिक्री–वितरण नियन्त्रणका लागि निगरानी तथा कारबाहीलाई निरन्तरता दिइरहेको जनाएको छ।





























