इस्लाम धर्मावलम्बीका अन्तिम पैगम्बर हजरत मोहम्मद सलल्लाहो (रसुल) को १५०१ औँ जन्मजयन्ती नेपालगन्जमा मनाइएको छ । मोहम्मद डेका अवसरमा नेपालगन्जमा र्याली निकालिएको थियो । मोहम्मद डेको अवसरमा गत बर्ष जस्तो डिजे बजाइएको थिएन ।
नेपालगन्जका पूर्व नगर उपप्रमुख समशुद्दिन सिद्दिकीले शान्तिपूर्ण माहोलमा मोहम्मद डे मनाइएको जानकारी दिए । ‘यसैगरी शान्तिपूर्ण रूपमा पर्व मनाइनुपर्छ’, उनले भने ।
संघीय सांसद मोहम्मद इस्तियाक राईले नेपालगन्जलाई हिन्दू–मुस्लिम समुदायबीच सद्भावको नमूना सहरका रूपमा पुस्तौँसम्म परिचय गराउन अपरिहार्य रहेको औँल्याएका छन् । इस्लाम धर्मावलम्बीका अन्तिम पैगम्बर हजरत मोहम्मद सलल्लाहो (रसुल) को १५०१औँ जन्मजयन्तीका अवसरमा नेपालगन्जमा आयोजित कार्यक्रममा उनले यस्ता कार्यक्रमले आपसी भाइचारा, सहकार्य र समझदारीलाई थप बलियो बनाइ समाजमा धार्मिक तथा सामाजिक सद्भाव कायम उत्प्रेरणा प्रदान गर्ने बताए । समाजमा आपसी भाइचाराको सम्बन्ध कायम राख्दै शान्ति र सद्भावको वातावरण बनाउने सबैको दायित्व रहेको बताउँदै उनले भने, ‘यो सहरलाई सद्भावको सहरका रूपमा हामीले नै पुस्तौँपुस्ता चिनाइराख्नुपर्छ ।’
सांसद राईले धार्मिक पर्वलाई सामाजिक सद्भावसँगै वातावरण संरक्षणको अभियानसँग जोड्ने उद्देश्यले नेपालगन्जमा नागरिक अगुवा तथा हरित अभियन्तासँग सहकार्य गरी वर र पीपलका बिरुवा रोपे ।
नेता राईले धार्मिक पर्वलाई सामाजिक उत्तरदायित्वसँग जोड्ने प्रयासले समाजमा सकारात्मक सन्देश प्रवाह हुने बताए ।
यसैबीच, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मोहम्मद जयन्तीले धार्मिक सहिष्णुता, आपसी सद्भाव, भाइचारा, शान्ति र मानवकल्याणको भावना अझ सुदृढ बनाउन प्रेरणा दिने विश्वास व्यक्त गरे ।
मोहम्मद जयन्तीको अवसरमा बुधवार एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले उक्त विश्वास व्यक्त गरेका हुन् । उनले नेपाल बहुधार्मिक, बहुसांस्कृतिक र विविधतायुक्त मुलुक भएको उल्लेख गर्दै यहाँका सबै धर्म, संस्कार, संस्कृति र परम्पराले नेपाली समाजलाई समृद्ध बनाएको बताए । लुम्बिनी प्रदेश सरकारले सबै धर्म, संस्कार र संस्कृतिलाई समान महत्व दिँदै धार्मिक तथा सांस्कृतिक विविधताको संरक्षण, प्रवद्र्धन र सम्मानलाई प्राथमिकतामा राखेको मुख्यमन्त्री आचार्यले बताए ।
विभिन्न समुदायका मौलिक कला, संस्कृति, भाषा, परम्परा र सम्पदाको संरक्षण गर्दै त्यसलाई पर्यटन प्रवद्र्धनसँग जोडेर प्रदेशको आर्थिक तथा सामाजिक विकासमा योगदान पु¥याउने प्रयास निरन्तर रहने उनले उल्लेख गरे । मोहम्मद जयन्तीले सबै नेपालीबीच आपसी प्रेम, सद्भाव, सहकार्य र एकताको भावना थप मजबुत बनाउँदै समतामूलक, समृद्ध र सभ्य समाज निर्माणका लागि प्रेरणा प्रदान गरोस् भन्ने कामना पनि मुख्यमन्त्री आचार्यले गरेका थिए ।






























