बाँकेका मल वितरणको जिम्मा पाएका सहकारीमा किसानहरूको घुइँचो लाग्ने गरेको छ । रासायनिक मल कहिले आउँछ, कहिले पाइन्छ भन्ने चिन्ता किसानलाई हुने गरेको छ । धान खेतीमा गाँज लाग्ने बेलामा अहिले रासायनिक मलको माग उच्च छ । रोपाईंका बेलादेखि किसानले झेलेको रासायनिक मलको सकस अझै सकिएको छैन ।
समयमा बर्षा नहुँदा यसबर्ष ढिलागरी रोपाई सुरु भएपनि गत बर्ष भन्दा बढी क्षेत्रफलमा रोपाई भएको थियो । धानखेती हुने करिब सबै जग्गामा यस बर्ष धान खेती भएको छ । गत वर्ष जिल्लामा ९९.५ प्रतिशत रोपाइँ भएकामा यस वर्ष ९९.८ प्रतिशत रोपाइँ भएको थियो । तर यस वर्ष रासायनिक मल नपाउँदा उत्पादन घट्ने चिन्ता किसानमा छ । बाँकेमा धान उत्पादन हुने जमिनको क्षेत्रफल ३३ हजार ५७० हेक्टर रहेकामा यस वर्ष ३३ हजार ५०३ हेक्टरमा धान रोपाइँ भएको थियो ।
‘ढिलै भएपनि रोपाई गरियो, तर मल पाउन सकिएन, जसले उत्पादन घट्ने चिन्ता छ’, जानकी गाउँपालिकाका किसान राम काँदुले भने, ‘किसानमा रोपाईंमा गरेको लगानीका प्रतिफल नपाउने भन्ने चिन्ता छ ।’
धानको गाँज लाग्ने बेलामा बाँकेका किसानलाई रासायनिक मलको अभाव भएको हो । खजुरा–२ सीतापुरका किसान भद्रप्रसाद देवकोटाले रोपेको धानमा गाँज लाग्न थालेकाले अहिले मल आवश्यक भएको उल्लेख गर्दै मल नपाउँदा यस वर्ष धान उत्पादन घट्ने चिन्ताले सताएको बताए । उनले विगतमा मल नपाउँदा भारतको रूपैडिहाबाट दुई चार बोरा मल ल्याउन पाउँदा सहज भए पनि यसपटक एक बोरा पनि नाकाबाट ल्याउन नदिएकोले किसान समस्यामा परेको जानकारी दिए । किसान देवकोटाले भने, ‘हाम्रा लागि अहिलेको सबैभन्दा ठूलो समस्या रासायनिक मल प्रर्याप्त रूपमा नपाइनु नै हो ।’
कृषि ज्ञान केन्द्र बाँकेले जिल्लाका अधिकांश किसानले मल नपाएको गुनासो आइरहेको उल्लेख गर्दै धानको गाँज लाग्ने बेलामा रासायनिक मल नपाए त्यसले उत्पादन घट्ने बताएको छ । कृषि ज्ञान केन्द्र बाँकेका सूचना अधिकारी सुजिता शर्माले धान रोप्ने, गाँज लाग्ने र बाला लाग्नेबेला धानलाई पोषणको आवश्यकता हुने उल्लेख गर्दै यस्तो बेलामा किसानले धानमा रासायनिक मल हाल्न नपाए उत्पादनमा गिरावट आउने जानकारी दिइन् । उनले भनिन्, ‘धानमा अनावश्यक झारपातबाट करिव १५ प्रतिशत उत्पादनमा कमी आएको हुन्छ तर मल नपाउँदा ३० देखि ५० प्रतिशत उत्पादनमा कमी आउँछ ।’
रोपाइँ गरिएको २० देखि २५ दिनभित्र गाँज लाग्ने समयमा र ५० दिनपछि बाला पसाउने बेला अनिवार्य मल आवश्यक रहेको उल्लेख गर्दै सूचना अधिकारी शर्माले अधिकांश किसानले मल नपाएको गुनासो गरेकाले उत्पादन घट्ने जोखिम देखिएको बताइन् ।
गत वर्ष जिल्लामा एक लाख ५० हजार मेट्रिक टन धान उत्पादन भएको थियो । बाँकेमा किसानलाई वितरण गर्ने लक्ष्यअनुसारको रासायनिक मल प्राप्त नभएकोले मलको अभाव भएको कृषि सामग्री कम्पनी लिमिटेड बाँकेका शाखा प्रमुख पुष्पराज श्रेष्ठले बताए । उनका अनुसार गत आर्थिक वर्ष २०८२÷८३ मा कृषि सामाग्री कम्पनी लिमिटेड बाँकेबाट चार हजार ८२२ दशमलव ४५० मेट्रिकटन युरिया, दुई हजार ६३३ दशमलव ८०० मेट्रिकटन डिएपी र २०७ दशमलव ७५० मेट्रिकटन पोटास बिक्री गरिएको थियो भने चालु आव २०८३÷८४ को भदौ १५ गतेसम्म एक हजार १७ मेट्रिकटन युरिया, २९९ दशमलव ४०० मेट्रिकटन डिएपी र २७ दशमलव ३५० मेट्रिकटन पोटास स्थानीय तहमा पठाइएको छ ।






























