नेपालगन्जमा पछिल्लो समय स्पा व्यवसायप्रतिको आकर्षण बढ्दै गएको छ । शारीरिक थकान कम गर्ने, मसाज तथा सौन्दर्य सेवाका लागि सञ्चालन हुने स्पाहरूको संख्या बढेसँगै यस क्षेत्रको नियमन र अनुगमनको चुनौती पनि थपिएको छ । प्रहरीका अनुसार स्पाको आवरणमा कतिपय स्थानमा गैरकानुनी गतिविधि हुने गरेको पाइएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता, प्रहरी नायब उपरीक्षक प्रतित सिंह राठौंरका अनुसार, गत भदौ ६ गते नेपालगन्जका विभिन्न स्पामा बालिकालाई काममा लगाइएको सूचनाका आधारमा प्रहरीले छापा मार्दा सात जना बालिकाको उद्दार गरेको थियो । घटनामा तीन जना स्पा सञ्चालक पक्राउ परेका थिए ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार वडा नम्बर १० आदर्शनगरस्थित न्यू प्लेजर स्पाकी सञ्चालिका भारतीय नागरिक गुडिया खान, सोही क्षेत्रमा रहेको आयुर्वेदिक रिल्याक्स स्पाकी सञ्चालिका दुर्गा थारू तथा वडा नम्बर २ न्युरोडस्थित रिल्याक्स स्पाका सञ्चालक तर्कराज देवकोटालाई पक्राउ गरी बालबालिका सम्बन्धी ऐन, २०७५ बमोजिम अनुसन्धान अघि बढाइएको थियो । यो घटना नेपालगन्जमा स्पा व्यवसायको विस्तारसँगै त्यसको नियमन र अनुगमनको आवश्यकता कति गम्भीर बन्दै गएको छ भन्ने बहसको एउटा उदाहरण बनेको छ ।
पछिल्लो समय बाँकेमा दर्जनौँ स्पा सञ्चालनमा आएका छन् । नेपालीसँगै भारतीय ग्राहकसमेत स्पामा पुग्ने गरेका छन् । सामान्यतया मसाज तथा शारीरिक आरामका लागि सञ्चालन हुने यस्ता व्यवसायमा महिलाले पुरुष ग्राहकलाई मसाज गर्ने प्रचलन छ ।
तर प्रहरीका अनुसार केही स्पामा भने निर्धारित सेवाभन्दा बाहिरका गतिविधि हुने गरेको पाइएको छ । सोझासाझा किशोरी तथा युवतीलाई कामको प्रलोभन देखाएर ल्याउने, स्पामा काम लगाउने र कतिपय अवस्थामा यौन गतिविधिमा समेत संलग्न गराउने गरेको सूचना तथा घटनाहरू प्रहरीसमक्ष आउने गरेका छन् ।
प्रहरीका अनुसार कतिपय अवस्थामा ग्राहकसँग सम्पर्क गराएर युवतीलाई अन्यत्र कोठामा पठाउने र मसाजका नाममा बोलाइएका ग्राहकसँग यौन गतिविधि हुने गरेको समेत अनुसन्धानका क्रममा खुलेको छ । यद्यपि, प्रहरीले यस्तो गतिविधि सबै स्पामा हुने नभएको स्पष्ट गर्दै आएको छ । वैध रूपमा सञ्चालन भइरहेका व्यवसाय र गैरकानुनी गतिविधि गर्ने स्थानबीच फरक छुट्याएर कारबाही गरिँदै आएको प्रहरीको भनाइ छ ।
मानव बेचबिखन भन्नासाथ विगतमा नेपालबाट महिलालाई भारतका विभिन्न सहरमा पु¥याएर बेच्ने घटनालाई मुख्य रूपमा बुझिन्थ्यो । तर अहिले मानव बेचबिखनको स्वरूप परिवर्तन हुँदै गएको प्रहरीको अनुभव छ । नेपालभित्रै कामको प्रलोभन देखाएर महिला तथा किशोरीलाई एक ठाउँबाट अर्को ठाउँमा लैजाने, काममा लगाउने र अन्ततः यौन गतिविधिमा संलग्न गराउने कार्यसमेत मानव बेचबिखनको दायरामा पर्न सक्ने प्रहरीको भनाइ छ ।
नेपाल–भारत सीमा नाकामा प्रहरीसँगै विभिन्न संघ, संस्थाले पनि भारत तथा तेस्रो मुलुक जानेहरू बेचबिखन नपरुन् भनेर निगरानी गर्दै आएका छन् । संघ, संस्थाहरूले भारत जानेमा जोखिमपूर्ण पाएमा केरकार गर्ने, सम्झाईबुझाई गर्ने, परिवारमा पुनस्र्थापना गर्ने तथा प्रहरीको सहयोगमा कारवाही अघि बढाउने पनि गर्दै आएका छन् । तर, देशभित्र हुने बेचबिखनमा घटनामा पनि सबैको ध्यान पुग्नुपर्ने सम्बद्धहरूले बताउँदै आएका छन् ।
प्रहरी अधिकारीहरूका अनुसार भारततर्फ जाने व्यक्तिहरूलाई जमुनाहा नाकामा समेत निगरानी गर्ने गरिएको छ । कतिपय व्यक्ति आफ्नै इच्छाले भारत जाने गरेको पाइने भएकाले उनीहरूको अवस्था पहिचान गरी आवश्यक प्रक्रिया पूरा गरेर छाड्ने गरिएको प्रहरी बताउँछ । तर रोजगारी वा अन्य प्रलोभन देखाएर महिला तथा युवतीलाई लैजाने र जबर्जस्ती वा अन्य माध्यमबाट यौन गतिविधिमा संलग्न गराउने अवस्था देखिएमा त्यसलाई फरक दृष्टिले हेर्नुपर्ने प्रहरीको भनाइ छ ।
मानव बेचबिखनसम्बन्धी घटनामा प्रहरी अनुसन्धानका लागि पीडितको जाहेरी र बयान महत्वपूर्ण हुने गरेको छ । तर कतिपय अवस्थामा उद्धार गरिएका महिला तथा युवतीले सञ्चालक वा रोजगारदाताविरुद्ध जाहेरी दिन नमान्ने गरेको प्रहरी अधिकारीहरू बताउँछन् । बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) अंगुर जिसीका अनुसार कतिपय महिला तथा युवतीहरू आर्थिक कारणले गर्दा गलत बाटोमा संलग्न हुने गरेको धारणा राख्छन् । यस्तो अवस्थामा उद्धारपछि पनि उनीहरू आफ्ना सञ्चालक वा साहुविरुद्ध मुद्दा हाल्न इच्छुक नहुने भएकाले मुद्दा दर्ताको संख्या कम देखिने गरेको उनको भनाइ छ । ‘मानव बेचबिखनको मुद्दामा पीडित आवश्यक हुन्छ र पीडितले जाहेरी दिनुपर्ने हुन्छ । तर कतिपय अवस्थामा पीडित जाहेरी दिन मान्दैनन्’, एसपी जिसी भन्छन् । उनका अनुसार यही कारणले वास्तविक रूपमा देखिएका गतिविधि र प्रहरीमा दर्ता हुने मुद्दाको संख्याबीच अन्तर देखिन सक्छ ।
एसपी जिसीका अनुसार बाँकेमा होटल, कटेज, खाजा घर तथा केही स्पामा महिलाहरू र युवतीलाई राखेर यौन गतिविधि सञ्चालन गर्ने गरेको सूचना र घटनाहरू प्रहरीको निगरानीमा आउने गरेका छन् । ‘विशेषगरी कटेज, खाजा घरजस्ता ठाउँमा महिलाहरू तथा युवतीहरू राख्ने र त्यहाँ यौन धन्दा सञ्चालन गर्ने गरेको पाइन्छ । केही होटलहरूमा पनि युवतीहरू राखेर खुलेआम यौन धन्दा चलाउने गरेको पाइएको छ’, जिसी भन्छन् । उनका अनुसार केही स्पामा समेत स्पाको निर्धारित कामभन्दा बाहिरका गतिविधि भइरहेको पाइएको छ । प्रहरीले त्यस्ता स्थानमा छापा मारेर कानुनी कारबाहीसमेत गरेको जनाएको छ । नेपालगन्जसँगै कोहलपुर बजारमा पनि यस्ता गतिविधि देखिएको प्रहरीको भनाइ छ ।
होटल तथा स्पामा प्रहरीले गर्ने अनुगमनलाई लिएर व्यवसायी तथा सर्वसाधारणमा फरक बुझाइसमेत हुने गरेको प्रहरीको भनाइ छ । तर प्रहरी प्रमुख जिसीका अनुसार आपसी सहमतिमा होटलमा बस्ने व्यक्तिलाई लक्षित गरेर प्रहरीको निगरानी हुने गरेको छैन । ‘कोही मानिस स्वेच्छाले आफ्नो प्रेमी वा प्रेमिकासँग, अथवा दुई जनाको आपसी सहमतिमा होटलमा गएर बसेका छन् भने हाम्रो लक्ष्य त्यो होइन’, उनी भन्छन् । प्रहरीको निगरानी भने कुनै होटल, कटेज वा स्पामा महिलाहरू तथा युवतीलाई राख्ने, ग्राहक बोलाउने र यौन गतिविधि सञ्चालन गर्ने कार्यमा केन्द्रित रहेको उनको भनाइ छ ।
पछिल्लो समय गाउँ तथा ग्रामीण क्षेत्रबाट दुई–तीन जना महिलालाई कामको प्रलोभन देखाएर सहरी क्षेत्रमा ल्याउने र स्पा, होटल वा कटेजमा काममा लगाउने गरेको समेत पाइने गरेको छ । ‘काममा लगाइदिने भनेर यहाँ ल्याएर स्पामा छोड्ने, कुनै होटलमा छोड्ने वा कटेजमा छोड्ने गरिन्छ । तर त्यहाँ काम के लगाइयो त? यदि यौन कार्यमा लगाइयो भने त्यो पनि मानव बेचबिखन हो’, प्रहरी अधिकारीहरू भन्छन् । प्रहरीका अनुसार, त्यस्ता व्यक्तिलाई ल्याउने, काममा लगाउने तथा यौन गतिविधिमा संलग्न गराउने कार्यमा संलग्न व्यक्तिहरू कानुनी दायरामा आउन सक्छन् ।
मानव बेचबिखन भनेको कसैलाई जबर्जस्ती समातेर बिक्री गर्नु मात्रै नभएको प्रहरीको भनाइ छ । रोजगारीको नाममा ल्याएर यौन गतिविधिमा संलग्न गराउने अवस्थासमेत कानुनी अनुसन्धानको विषय बन्न सक्ने प्रहरी बताउँछ ।
प्रहरीले स्पामा हुने सबै गतिविधिलाई एउटै दृष्टिले नहेरेको जनाएको छ । एसपी जिसीका अनुसार केही स्थानमा विकृति देखिए पनि सबै स्पालाई गैरकानुनी गतिविधिसँग जोड्न नमिल्ने बताउँछन् । ‘त्यसरी केही विकृति केही ठाउँमा छन्, सबैमा होइन’, जिसी भन्छन् । उनका अनुसार प्रहरीले स्पालाई निर्धारित मापदण्डअनुसार सञ्चालन गर्न आग्रह गर्दै आएको छ । सूचना वा उजुरी प्राप्त भएको तथा विगतमा कारबाहीमा परेका स्थानमा पुनः गलत गतिविधि भएको पाइएमा पुनः अनुगमन र कारबाही गर्ने गरिएको छ ।
स्पा व्यवसाय विस्तार भइरहँदा यस क्षेत्रमा स्पष्ट मापदण्ड, नियमित अनुगमन, व्यवसायीको जिम्मेवारी र श्रमिकको सुरक्षाका विषयमा पनि पर्याप्त ध्यान दिनुपर्ने देखिन्छ । विशेषगरी किशोरी तथा युवतीलाई रोजगारीको प्रलोभन देखाएर ल्याउने, उनीहरूको श्रम तथा आर्थिक अवस्थाको फाइदा उठाउने र यौन गतिविधिमा संलग्न गराउने सम्भावित जोखिमलाई नियमन गर्ने चुनौती सरोकारवाला निकायसामु छ । अर्कोतर्फ वैध रूपमा मसाज, स्वास्थ्य तथा सौन्दर्य सेवा प्रदान गर्ने व्यवसायलाई अनावश्यक रूपमा बदनाम हुन नदिन स्पष्ट मापदण्ड र प्रभावकारी नियमन आवश्यक देखिन्छ । नेपालगन्जमा स्पा व्यवसायको विस्तारसँगै अब चुनौती व्यवसाय रोक्नेभन्दा पनि वैध व्यवसायलाई व्यवस्थित गर्ने, श्रमिक तथा सेवाग्राहीको अधिकार सुनिश्चित गर्ने र गैरकानुनी गतिविधिलाई प्रभावकारी रूपमा नियन्त्रण गर्नेतर्फ केन्द्रित हुनुपर्ने स्थानीय व्यवसायी बताउँछन् ।





























