कांग्रेस महाधिवेशनमा बिहीबार मतदान
नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा बिहीबार कार्यसमिति चयनका लागि मतदान हुँदैछ । बिहान ७ बजेदेखि मतदान गर्ने यसअघिको कार्यतालिका भए पनि वर्षा र केही प्राविधिक समस्याका कारण मतदान तीन घण्टा ढिला हुने भएको छ । विहीवार बिहान १० बजेदेखि मतदान सुरु हुनेछ ।
महाधिवेशनमा सहभागी ७ हजार २५५ प्रतिनिधिले कांग्रेसको आगामी नेतृत्व चयनका लागि मतदान गर्नेछन् । मतदानका लागि राजधानी काठमाडौंमा तीन स्थानमा सात मतदान केन्द्र तोकिएका छन् । प्रदेश र प्रतिनिधित्वका आधारमा प्रतिनिधिहरूलाई छुट्टाछुट्टै मतदान केन्द्रबाट मतदान गर्ने व्यवस्था मिलाइएको छ ।
केन्द्रीय निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले वर्षा र केही प्राविधिक कारणले मतदानको समय पछाडि सारिएको बताए । यसअघि बिहान ७ बजेदेखि मतदान गर्ने कार्यक्रम सार्वजनिक गरिएको थियो । ‘वर्षा र केही प्राविधिक कारणले मतदान तीन घण्टा ढिला गरी सुरु गर्न लागिएको हो,’ खड्काले बताए ।
निर्वाचन समितिका अनुसार राष्ट्रिय सभागृह, खुलामञ्च र प्रज्ञा भवनमा मतदान केन्द्र तोकिएको छ । सम्बन्धित प्रदेश र समूहका प्रतिनिधिले आफूलाई तोकिएको केन्द्रबाट मतदान गर्नुपर्नेछ ।
राष्ट्रिय सभागृहमा बागमती प्रदेशका प्रतिनिधिका लागि मतदानको व्यवस्था गरिएको छ । खुलामञ्चमा भने कोशी, मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रतिनिधिले मतदान गर्नेछन् । भ्रातृ तथा शुभेच्छुक संस्था र जनसम्पर्क समितिबाट महाधिवेशन प्रतिनिधि बनेकाहरूले पनि खुलामञ्चबाटै मतदान गर्ने व्यवस्था गरिएको छ ।
गण्डकी र लुम्बिनी प्रदेशका प्रतिनिधिका लागि प्रज्ञा भवनमा मतदान केन्द्र तोकिएको छ । मतदान गर्नुअघि प्रतिनिधिको परिचय र मतदाता नामावली रुजु गरिनेछ । त्यसपछि मात्रै मतदान गर्न पाउने व्यवस्था निर्वाचन समितिले गरेको छ ।
यता, जारी महाधिवेशनमा बाँकेबाट ९ जना विभिन्न क्लस्टरमा केन्द्रीय सदस्य पदका लागि उम्मेदवार बनेका छन् । कांग्रेस बाँकेका सचिव सुधांशु कोइरालासहित मैकुलाल वाल्मिकी, सुरेन्द्र हमाल, लक्ष्मी नारायण शाह, कमला हमाल, दुःखीराम लोनिया र बबिता शाही केन्द्रीय सदस्यका उम्मेदवार बनेका छन् ।
बाँकेबाट उम्मेदवारी दिएका अन्य दुई जनाको नाम पनि विभिन्न क्लस्टरमा परेको छ । यससँगै बाँकेबाट ९ जनाले केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिएका छन् ।
महाधिवेशनमा बाँकेबाट भने १ सय २६ जना मतदाता सहभागी छन् । कांग्रेसको क्षेत्र नम्बर १ बाट ४७ जना, क्षेत्र नम्बर २ बाट ३९ जना र क्षेत्र नम्बर ३ बाट ४० जना महाधिवेशन प्रतिनिधि रहेका छन् । उनीहरूले बिहीबार तोकिएको मतदान केन्द्रमा पुगेर कांग्रेसको आगामी केन्द्रीय कार्यसमिति चयनका लागि मतदान गर्नेछन् ।






























