हरित नेपालगन्ज अभियानका संस्थापक डा. कर्ण जय नेपाल पार्टीमा
नेपालगन्जलाई स्वच्छ, हरित र सुन्दर सहर बनाउने अभियानमा सक्रिय रहँदै आएका क्लिन नेपालगन्ज, ग्रिन नेपालगन्जका संस्थापक डा. विनोद कर्ण सक्रिय राजनीतिमा फर्किएका छन् । उनी जय नेपाल पार्टीमा प्रवेश गर्दै राजनीतिक गतिविधिमा पुनः सक्रिय भएका हुन् ।
सोमवार बाँकेमा आयोजित जिल्ला भेलामा पार्टीका केन्द्रीय अध्यक्ष डा. धवल शम्शेर राणाले डा. कर्णलाई सदस्यता प्रदान गरे । सामाजिक अभियानमार्फत नेपालगन्जको सरसफाइ, हरियाली र सहरी सुन्दरताका सवाल उठाउँदै आएका कर्णले अब राजनीतिक दलमार्फत पनि सहरको विकासमा योगदान गर्ने बताएका छन् ।
’मलाई राष्ट्रिय राजनीतिसँग होइन, नेपालगन्जको विकाससँग सरोकार छ,’ जय नेपाल पार्टी नै किन रोज्नुभयो त ? दैनिक नेपालगन्जको प्रश्नमा डा. कर्णले भने, ‘दुई–दुई पटक मेयर र फेरि पनि प्रतिनिधिसभा निर्वाचनमा यहाँका जनताले विश्वास गरेका व्यक्तिले खोलेको पार्टीले यो ठाउँका लागि पक्कै केही राम्रै गर्छ भन्ने विश्वासका साथ लागेको हुँ ।’
उनले नेपालगन्जको स्वरूप परिवर्तन गर्ने योजना र लक्ष्यसहित राजनीतिमा आएको पनि बताए। सहरको विकासलाई आफ्नो मुख्य सरोकारका रूपमा प्रस्तुत गरेका कर्णले राजनीतिक संलग्नतामार्फत नेपालगन्जका लागि काम गर्ने उद्देश्य राखेको स्पष्ट पारे ।
डा. कर्ण यसअघि पनि पार्टी राजनीतिमा सक्रिय थिए । २०७४ सालमा उनी विवेकशील साझा पार्टीको सक्रिय सदस्यका रूपमा निर्वाचनमा सहभागी भएका थिए । तर, निर्वाचनमा अपेक्षित मत प्राप्त नभएको र त्यसपछि पार्टीसमेत विभाजन भएपछि उनले राजनीतिक सक्रियता त्यागेका थिए । त्यसयता उनी क्लिन नेपालगन्ज, ग्रिन नेपालगन्ज अभियानमार्फत सामाजिक गतिविधिमा केन्द्रित रहँदै आएका थिए ।
नेपालगन्जलाई स्वच्छ, हरित र व्यवस्थित सहर बनाउने उद्देश्यले सामाजिक अभियान सञ्चालन गर्दै आएका उनी अहिले फेरि दलगत राजनीतिमा फर्किएका हुन् । यसपटक भने उनले आफ्नो राजनीतिक संलग्नताको मुख्य आधार नेपालगन्जको विकासलाई बनाएका छन् ।
जय नेपाल पार्टी स्थापना गरेर राष्ट्रिय राजनीतिमा सक्रिय भएका डा. राणा पछिल्ला दिनमा गृह जिल्ला बाँकेमा पार्टी संगठन विस्तारमा जुटेका छन् । उनी जिल्ला तथा क्षेत्रीय तहमा संगठन निर्माण र विस्तारका गतिविधिमा सक्रिय रहेको उनीनिकट व्यक्तिहरूले बताएका छन् । यही क्रममा आयोजित जिल्ला भेलामा डा. कर्ण पार्टीमा प्रवेश गरेका हुन् । वरिष्ठ चिकित्सक उनको विशेषज्ञता भने प्लाष्टिक सर्जरीमा छ ।






























