जनताको आवाज बन्ने प्रतिबद्धता
पश्चिम नेपालकै पहिलो व्यावसायिक रेडियो बागेश्वरी एफएम ९४.६ मेगाहर्जले सोमवार आफ्नो प्रसारण यात्राको २३औं वर्ष सुरु गरेको छ । समाचार, सूचना र संगीतमार्फत श्रोतासँग जोडिँदै आएको रेडियोले आगामी दिनमा प्रसारण सामग्रीलाई थप जनमैत्री र प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ ।
रेडियोका प्रबन्ध निर्देशक सिद्धार्थ पाण्डेले प्रसारण सामग्रीलाई समयानुकूल बनाउँदै श्रोताको आवश्यकता र रुचिअनुसार थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले रेडियोको २३औं वर्ष प्रवेशका अवसरमा संस्थापक, कर्मचारी, सम्पूर्ण श्रोता, विज्ञापनदाता तथा शुभेच्छुकप्रति कृतज्ञता व्यक्त गरे । ‘रेडियो बागेश्वरीले प्रसारण गर्ने सामग्रीलाई थप जनमैत्री र प्रभावकारी बनाउँदै लैजानेछौं,’ पाण्डेले दैनिक नेपालगन्जसँग भने ।
रेडियोको स्थापनादेखि हालसम्मको यात्रामा साथ दिने सबै पक्षको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्दै उनले आगामी दिनमा पनि सहकार्य र विश्वासलाई निरन्तरता दिने अपेक्षा व्यक्त गरेका छन् । व्यावसायिक प्रसारणसँगै नागरिकका आवाज र सरोकारलाई स्थान दिने आफ्नो भूमिकालाई अझ सशक्त बनाउने रेडियोको प्रतिबद्धता छ ।
बिहान ५ बजेदेखि राति ११ बजेसम्म दैनिक १८ घण्टा प्रसारण हुने रेडियो बागेश्वरीले समाचार, सूचना र संगीतलाई आफ्नो मुख्य सामग्री बनाएको छ । व्यावसायिक रेडियोका रूपमा सञ्चालन हुँदै आए पनि यसले आम नागरिकका सवाललाई प्राथमिकता दिँदै आएको छ । स्थानीय समुदायका आवश्यकता, चासो र सरोकारलाई प्रसारण सामग्रीमार्फत सम्बोधन गर्ने प्रयास रेडियोले गर्दै आएको छ ।
रेडियो बागेश्वरीको अर्को विशेषता बहुभाषिक समाचार प्रसारण हो । नेपालीसँगै थारू, हिन्दी र अवधी भाषामा समाचार प्रसारण गर्ने रेडियो यस क्षेत्रकै पहिलो र एकमात्र रेडियो रहेको छ । विभिन्न भाषाभाषी समुदायलाई सूचनाको पहुँचमा जोड्ने कामले रेडियोलाई यस क्षेत्रको सञ्चार माध्यमका रूपमा विशिष्ट बनाएको छ ।
२०६१ साल असोज २६ गते बिहान ११ बजेर ३३ मिनेटमा रेडियो बागेश्वरीले पहिलोपटक प्रसारण सुरु गरेको थियो । नेपालगन्जको फुलटेक्रास्थित हडियाबाबा मन्दिर आश्रमस्थल नजिकबाट १ हजार वाट क्षमतामा सुरु भएको रेडियो अहिले आफ्नै सुविधा सम्पन्न भवनबाट प्रसारण भइरहेको छ ।
रेडियो प्रतिनिधि सन्तोषकुमार शुक्लका अनुसार, प्रारम्भिक चरणमा सीमित पूर्वाधारबाट प्रसारण थालेको रेडियोले २२ वर्षको यात्रा पूरा गर्दै आफ्नो प्रसारण क्षेत्र र कार्यक्षेत्रलाई निरन्तरता दिएको छ । हाल नेपालगन्ज उपमहानगरपालिका–१०, आदर्शनगरस्थित आफ्नै भवनबाट रेडियोका कार्यक्रम प्रसारण हुँदै आएका छन् ।





























