ठेक्का सम्झौता अन्त्य
निर्माणको जिम्मा लिएका व्यवसायीले पटक–पटक म्याद थप्दा पनि काम पूरा नगरेपछि बाँके र बर्दियाका तीन विकास आयोजनाको ठेक्का सम्झौता अन्त्य गरिएको छ । निर्धारित समयभित्र निर्माण सम्पन्न हुन नसकेका आयोजनाको काम अघि बढाउन सडक डिभिजन नेपालगन्जले ठेक्का तोड्ने निर्णय गरेको हो ।
ठेक्का अन्त्य गरिएका आयोजनामा रत्न राजमार्गको जमुनाहादेखि पन्ध्रेखोलासम्मको सडक मर्मत आयोजना पनि छ । गत आर्थिक वर्षमै सम्पन्न हुनुपर्ने यो आयोजनाको मर्मत कार्य समयमै पूरा हुन सकेको थिएन । पटक–पटक म्याद थप गरिए पनि निर्माणमा अपेक्षित प्रगति हुन नसकेपछि सम्झौता अन्त्य गरिएको हो ।
त्यस्तै, बर्दियाको औरही नदी पुलको पहुँचमार्ग सुधार आयोजना र ठाकुरबाबास्थित ओम आदर्श विद्यालयदेखि भद्दी जोड्ने सडक सुधार आयोजनाको ठेक्का पनि तोडिएको छ । यी दुवै आयोजना आर्थिक वर्ष २०८१÷८२ भित्रै सम्पन्न गर्नुपर्ने समयसीमा थियो । तर, निर्धारित अवधिमा काम पूरा हुन सकेन ।
सडक डिभिजन नेपालगन्जले ठेक्का सम्झौता अन्त्य गरिएको सम्बन्धमा सार्वजनिक सूचना जारी गरेको छ । बुधवार प्रकाशित सूचनामा डिभिजनअन्तर्गत बाँके र बर्दिया जिल्लामा सञ्चालित तीन ठेक्काका निर्माण व्यवसायीले सम्झौतामा तोकिएको अवधिभित्र काम सम्पन्न नगरेको र सम्झौताका सर्तअनुसार आफ्नो दायित्व पूरा नगरेको उल्लेख छ ।
सडक विभाग, सडक डिभिजन कार्यालय बाँकेका सूचना अधिकारी ईन्जिनियर रामसागर हरिजनले निर्माण कार्यले गति लिन नसकेपछि तीनवटै आयोजनाको ठेक्का सम्झौता अन्त्य गर्ने निर्णय गरिएको जानकारी दिए ।
त्यसको जानकारी दिंदै पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले पटक–पटक म्याद थप गर्दा पनि काम अघि बढ्न नसकेका आयोजनालाई लामो समय अलपत्र राख्नुभन्दा नयाँ प्रक्रियाबाट निर्माण अघि बढाउने सरकारको नीति रहेको बताएका छन् ।
‘प्रगतिको सम्भावना नरहेका देशभरका रुग्ण आयोजनाहरूको ठेक्का तोडी नयाँ प्रक्रियामार्फत निर्माण कार्य अघि बढाउन मन्त्रालयअन्तर्गतका निकायहरूलाई आवश्यक निर्देशन दिइसकेको छु,’ मन्त्री लम्सालले आफ्नो फेसबुक पेजमार्फत भनेका छन् । उनले अलपत्र आयोजनाका कारण विकास निर्माण प्रभावित भइरहेको उल्लेख गर्दै काम गर्न नसक्ने निर्माण व्यवसायीसँगका सम्झौता अन्त्य गरेर निर्माणलाई नयाँ ढंगले अघि बढाइने बताए ।
सडक डिभिजनले ठेक्का सम्झौताका सर्तमा रहेको एनसीसी क्लज ७२.१ र ७२.२ तथा सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९ को उपदफा ७ बमोजिम सम्झौता अन्त्य गरिएको जनाएको छ । साथै, सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र सम्बन्धित निर्माण व्यवसायीलाई कार्यालयमा सम्पर्क गरी वित्तीय फरफारक गर्न आग्रह गरेको छ ।
ठेक्का सम्झौता अन्त्यसँगै अब यी आयोजनाको बाँकी काम नयाँ प्रक्रियाबाट अघि बढाउने बाटो खुलेको छ । निर्माण व्यवसायीको लापरबाहीका कारण वर्षौंदेखि प्रभावित सडक तथा पुलसम्बन्धी कामलाई कसरी र कहिलेसम्म पूरा गर्ने भन्ने विषय भने आगामी प्रक्रियामा निर्भर रहनेछ ।






























