खजुरा गाउँपालिकाले सडक तथा फुटपाथ अतिक्रमण गरी आवागमनमा अवरोध पु¥याउने व्यक्ति तथा व्यवसायीमाथि कानुनी कारबाही गर्ने भएको छ । हुलाकी राजमार्गसहित गाउँपालिकाभित्रका सहायक सडकमा पसल राख्ने, निर्माण सामग्री थुपार्ने, पशुचौपाया बाँध्ने र अव्यवस्थित पार्किङ गर्ने क्रम बढेपछि पालिकाले यस्तो कदम चाल्न लागेको हो ।
गाउँपालिकाले बुधबार सूचना जारी गर्दै हुलाकी राजमार्ग तथा अन्य सहायक मार्गमा सडक अवरुद्ध हुने गरी कुनै पनि गतिविधि नगर्न आग्रह गरेको छ । सडकको फुटपाथ ओगटेर पसल सञ्चालन गर्ने, निर्माण सामग्री राख्ने तथा अव्यवस्थित रूपमा पशुवस्तु बाँध्ने कार्यले सर्वसाधारणको आवागमनमा समस्या परेको सूचनामा उल्लेख छ । यस्ता गतिविधि नियन्त्रण गर्न गाउँ कार्यपालिकाबाट निर्णय भएको र सूचनाको अवज्ञा गर्नेलाई कानुनी कारबाही गरिने पालिकाले जनाएको छ ।
सडक छेउमा पराल तथा गोबर थुपार्ने, सडकमा छाडा चौपाया छाड्ने र अटो तथा ईरिक्साको अव्यवस्थित पार्किङ गर्ने प्रवृत्तिले यात्रुलाई आवतजावतमा सास्ती भइरहेको गाउँपालिकाको भनाइ छ । सडकलाई अवरोधरहित बनाउन पालिकाले स्थानीयलाई सार्वजनिक सडक तथा फुटपाथ अतिक्रमण नगर्न सचेत गराएको छ ।
ठेकेदारको लापरबाहीका कारण नौ वर्षदेखि अलपत्र परेको हुलाकी राजमार्गको खजुरा गाउँपालिका क्षेत्रअन्तर्गतको १ हजार ८ सय मिटर सडक स्तरोन्नतिको काम अहिले सम्पन्न हुने चरणमा छ । तर, निर्माण कार्य पूरा नहुँदै सडक तथा फुटपाथमा व्यापार व्यवसाय सञ्चालन गर्ने, सवारीसाधन पार्किङ गर्ने र अटो तथा ईरिक्सालाई सडक अवरुद्ध हुने गरी पार्किङस्थल बनाउने क्रम बढेपछि यात्रुले थप सास्ती भोग्नुपरेको छ ।
सडकको सुन्दरता कायम राख्दै आवागमन सहज बनाउन स्थानीय सरकार कडाइका साथ अघि बढ्ने गाउँपालिका अध्यक्ष डम्बर विक तुफानले बताए । खजुराबाट विमानस्थल अन्यत्र सरेपछि उजाड बनेको खजुरामा हुलाकी राजमार्गले पुनर्जागरण ल्याउने अपेक्षा गरिएको उल्लेख गर्दै उनले राजमार्गलाई उपयोग गरेर खजुराको औद्योगिकीकरण गर्ने योजना रहेको बताए ।
अध्यक्ष विकले आगामी तीन महिनाभित्र राजमार्ग क्षेत्रमा सडकबत्ती जडान गरिने जानकारी दिए । आफ्नै कार्यकालमा बाँकी रहेका अधिकांश सहायक सडकसमेत कालोपत्रे हुने गरी योजना बनाइएको उनले बताए ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलबहादुर पौडेलले हुलाकी राजमार्गसँगै भित्री सडकमा पनि अनधिकृत रूपमा सडक अवरोध हुने गरी निर्माण सामग्री राख्ने, पशुचौपाया बाँध्ने तथा गोबर र पराल थुपार्ने कार्य गर्नेहरूमाथि पालिका कडाइका साथ प्रस्तुत हुने बताए ।






























