नेपालगन्जस्थित होटल कल्पतरुले आफ्नो ११औँ वार्षिकोत्सव नीलसागर सेवा आश्रमका बालबालिका र ज्येष्ठ नागरिकसँग खुसी साटासाट गर्दै मनाएको छ । कल्पतरुले वार्षिकोत्सवको अवसरमा सोमवार आश्रममा आश्रितहरूलाई भोजन गराएर सामाजिक सेवामार्फत उत्सव मनाएको हो ।
वार्षिकोत्सवका अवसरमा होटल परिवार आश्रममै पुगेर बालबालिका तथा ज्येष्ठ नागरिकसँग समय बिताएको थियो । उत्सवलाई औपचारिक कार्यक्रम र तडकभडकमा सीमित नराखी सेवामूलक गतिविधिसँग जोड्ने उद्देश्यले भोजन कार्यक्रम आयोजना गरिएको होटलले जनाएको छ ।
होटलका प्रबन्ध निर्देशक आकाश गुप्ताले वार्षिकोत्सवको खुसी असहाय तथा ज्येष्ठ नागरिकसँग बाँड्न पाउँदा सन्तुष्टि मिलेको बताए । उनले होटलको वार्षिकोत्सवलाई सामाजिक उत्तरदायित्वसँग जोड्न पाउनु महत्वपूर्ण भएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता सेवामूलक गतिविधिलाई निरन्तरता दिने भावना व्यक्त गरे ।
त्यसैगरी, कल्पतरुका महाप्रबन्धक लक्ष्मण पन्थीले होटलको सफल यात्रामा समाजको महत्वपूर्ण योगदान रहेको बताए । समाजबाट प्राप्त साथ र सहयोगकै कारण होटलले ११ वर्षको यात्रा पूरा गरेको उल्लेख गर्दै उनले वार्षिकोत्सवको खुसी आश्रममा आश्रित बालबालिका तथा ज्येष्ठ नागरिकसँग बाँड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।
कार्यक्रममा होटलका विभिन्न विभागका प्रमुख तथा कर्मचारीहरूको पनि सहभागिता थियो । होटल परिवारले आश्रममा आश्रितहरूसँग भोजन र खुसी साटासाट गर्दै वार्षिकोत्सव मनाएको हो ।
‘व्यावसायिक सफलताको उत्सवलाई सामाजिक सेवासँग जोड्दै कल्पतरुले ११औँ वार्षिकोत्सवलाई मानवीय संवेदना, सामाजिक सद्भाव र परोपकारको सन्देश दिने अवसरका रूपमा मनाएको हो,’ महाप्रबन्धक पन्थीले दैनिक नेपालगन्जसँग भने ।






























