नेपालगन्ज भन्सार कार्यालय हुँदै नेपाल भित्रिने ड्राइफ्रुट (सुकेको फलफूल) को आयातमा उल्लेख्य गिरावट आएको छ । भन्सार कार्यालयको आर्थिक वर्ष २०८१/०८२ र २०८२/०८३ को तथ्यांकअनुसार एक वर्षको अवधिमा ड्राइफ्रुट आयातको परिमाण ह्वात्तै कमी आएको छ ।
भन्सार कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०८१/०८२ मा विभिन्न सात प्रकारका ड्राइफ्रुट गरी कुल १ लाख ११ हजार ६३ किलो आयात भएको थियो । तर आर्थिक वर्ष २०८२/०८३ मा आठ प्रकारका ड्राइफ्रुट गरी कुल २४ हजार ४ सय ९ दशमलव ७ किलो मात्रै आयात भएको देखिन्छ ।
यसरी एक वर्षको अवधिमा नेपालगन्ज नाकाबाट हुने ड्राइफ्रुट आयात ८६ हजार ६ सय ५३ दशमलव ५२ किलोले घटेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा आयात परिमाणमा ७८ दशमलव शून्य २ प्रतिशत गिरावट आएको हो ।
नेपालगन्ज भन्सारबाट आयात हुने ड्राइफ्रुटमध्ये दुवै आर्थिक वर्षमा नरिवलको हिस्सा सबैभन्दा ठूलो देखिएको छ । आर्थिक वर्ष २०८१/०८२ मा १ लाख ८ हजार १ सय ९९ किलो नरिवल आयात भएकोमा आर्थिक वर्ष २०८२/०८३ मा घटेर २४ हजार १६ किलोमा सीमित भएको छ । नरिवलको आयात मात्रै एक वर्षमा करिब ७७ दशमलव ८ प्रतिशतले घटेको छ ।
कुल ड्राइफ्रुट आयातमा नरिवलको हिस्सा आर्थिक वर्ष २०८१/०८२ मा करिब ९७.४२ प्रतिशत थियो । आर्थिक वर्ष २०८२/०८३ मा पनि यसको हिस्सा बढेर करिब ९८.३९ प्रतिशत पुगेको छ ।
नरिवलसँगै काजु, बदाम, ओखर, पिस्ता, खजुर, छोकडा र अन्जिरको आयातमा समेत गिरावट आएको छ । आर्थिक वर्ष २०८१÷०८२ मा ९ सय ३० किलो काजु आयात भएकोमा आर्थिक वर्ष २०८२÷०८३ मा १ सय ५२.४५ किलो मात्रै आयात भएको छ । यसमा करिब ८३ दशमलव ६२ प्रतिशत गिरावट आएको देखिन्छ ।
त्यसैगरी बदाम तथा अलमण्डको आयात १ सय ६.७२ किलोबाट घटेर ८९.७५ किलोमा झरेको छ । यसको आयातमा करिब १५.९ प्रतिशत गिरावट आएको छ ।
ओखरको आयात १३.५ किलोबाट घटेर ८ किलोमा सीमित भएको छ । पिस्ताको आयात भने २२ किलोबाट घटेर जम्मा २ किलोमा झरेको छ । पिस्ताको आयातमा करिब ९०.९ प्रतिशत गिरावट आएको छ ।
त्यस्तै खजुर तथा छोकडाको आयात १ हजार ७ सय ७१.५ किलोबाट घटेर १ सय ३२ किलोमा सीमित भएको छ । यसमा करिब ९२.५५ प्रतिशत गिरावट आएको छ । अन्जिरको आयात पनि २० किलोबाट घटेर ३ किलोमा झरेको छ । आर्थिक वर्ष २०८२÷०८३ को तथ्यांकमा भने ६ किलो किसमिस आयात भएको थियो ।
दुई आर्थिक वर्षको तथ्यांकलाई तुलना गर्दा नेपालगन्ज भन्सारबाट हुने ड्राइफ्रुट आयातमा विविधता कम र नरिवलमा निर्भरता अत्यधिक रहेको देखिन्छ । काजु, बदाम, पिस्ता, ओखर, अन्जिर, खजुर तथा छोकडाको आयात परिमाण तुलनात्मक रूपमा निकै कम छ । विशेषगरी काजु, पिस्ता, खजुर तथा छोकडाको आयातमा आएको ठूलो गिरावटले नेपालगन्ज नाकाबाट हुने ड्राइफ्रुट व्यापारको संरचनामा समेत परिवर्तन आएको संकेत गर्छ ।
नेपालगन्ज भन्सार कार्यालयका सूचना अधिकारी पवित्र कुमार खड्काले नेपालगन्ज भन्दा अन्य नाकाबाट ड्राइफ्रुट बढी भित्रिने गरेको जानकारी दिए । ‘खपत बढी हुने नाका र बजारमो माग अनुसार भित्रिने भएकाले यस नाका भन्दा अन्य नाकाबाट बढी ड्राइफुट भित्रिएको हुनसक्छ’, उनले भने ।
भन्सार कार्यालयका सूचना अधिकारी खड्काले चालु आर्थिक बर्ष २०८३÷०८४ को साउनदेखि असोज मसान्तसम्म नरिवल २० हजार ७ सय ५० केजी, काजु ५ हजार केजी, बदाम तथा अलमण्ड ५ केजी, किसमिस १ हजार केजी आयात भएको छ ।






























