बाँकेका किसानले असार १५ सम्म पनि रोपाई सुरु गर्न सकेका छैनन् । जिल्लामा हालसम्म २\३ प्रतिशत मात्रै रोपाईं भएको छ । करिब ९० प्रतिशत किसानले बियाड राखेपनि मौसम अनुकुल नहुँदा रोपाई सुरु हुन नसकेको हो । चर्को गर्मीका कारण राखेको बियाड समेत बिग्रेको बताउँछन् । ‘बियाडका लागि हालिएको पानी तात्दा त्यसले बियाडलाई नोक्सान पुर्याएको छ’, किसान भन्छन् । बाँकेमा सिंचाई सुविधा नपुगेका किसानलाई रोपाई कहिले गर्ने भन्ने समस्याले पिरोलेको छ । छिटो रोपाईं गर्दा मजदुरी लगायतको लागत कम हुने ढिलो हुँदा राखेको बियाड काम नलाग्ने हुँदै जाने तथा मजदुरी समेत महंगिने किसान बताउँछन् ।
बाँकेका विभिन्न स्थानहरूमा २१ औ राष्ट्रिय धान दिवस मनाइएको छ । त्यसक्रममा शनिबार नेपालगन्जमा उपमहानगरपालिका वडा नंं २१ स्थित शान्ति चोकमा लुम्बिनी प्रदेश स्तरीय धान दिवस तथा रोपाई महोत्सव आयोजना गरियो ।
कार्यक्रममा लुम्बिनी प्रदेशका कृषि मन्त्री भण्डारीलाल यादवले लुम्बिनी प्रदेशको कुल गार्हस्थ उत्पादनमा २९ दशमलव ६ प्रतिशतसम्म योगदान कृषि क्षेत्रको रहेको उल्लेख गर्र्दै असारमा रोपाईंको ठुलो महत्व राख्ने बताए । ‘लुम्बिनी प्रदेशमा ३ लाख , १ हजार ८ सय ९ हेक्टर क्षेत्रफलमा धान खेती गरिन्छ’, कृषि मन्त्री यादवले भने, ‘लुम्बिनी प्रदेशमा धानको उत्पादनमा ११ लाख ४९ हजार ३ सय ३६ मेट्रिक टन र उत्पादकत्व ३.८ मेट्रिक टन प्रति हेक्टर रहेको छ ।’
मन्त्री यादवले राष्ट्रिय गौरवको आयोजना सिक्टा सञ्चालनमा रहेपनि अझै पनि बाँकेको किसानहरूले सिंचाईको अभाव झेल्नु परिरहेको बताए ।
लुम्बिनी प्रदेश उर्जा तथा सिचाँई मन्त्री कृष्णा केसी (नमुना)ले बाँकेका कृषकको सिचाई लगायतका समस्याहरूको समाधानका लागि विभिन्न योजनाहरू बनाएर अगाडि बढेको बताउँदै भनिन्, ‘कृषिको मुख्य आधार भनेको नै सिँचाई हो, जलमल र उन्नत विउविजन लगायत सिचाईलाई उच्च प्राथामिकता दिएका छौ ।’ ‘बाँके जिल्लामा पश्चिम र पूर्वि सिंचाई आयोजना रहेको छ, केही जमिनहरूमा सिक्टाले काम गर्न सक्ने अवस्था रहेको छ भने केही छैन जसमा तीनवटा ‘प’ को माध्यमले सिंचाई सुविधा प्रदान गर्ने भन्ने रहेको छ, जसमा पोखरी, पम्प र पाइप रहेका छन्,’ उनले भनिन् ।
स्थानीय नेपालगन्जमा उपमहानगरपालिकाका राजेश कुमार वर्मा ‘वास्तिविक कृषक भन्दा पनि नजिकको नाताले सरकारी अनुदानहरू प्राप्त हुने गरेको आरोप लगाए । अर्का किसान जयपाल मौर्या धान दिवस मनाउन आउँदै गर्दा खेतको अवस्था हेरेर दुःखि भएको बताए । उनले भने, ‘सरकारको कृषिलाई कसरी राम्रो बनाउने भन्ने योजना नै छै, मात्रै दिवस मनायो सकियो, यस्तो हुनु हुदैन ।’
किसान रतिराम कुमाललाई भने समयमा खेती गर्न नपाउँदा उत्पादन घट्नेमा चिन्ता र चासो रहेको छ । कृषक कुमाल भन्छन,‘म सँग केही जमिन छ तर समयमा पानि मल विउको समस्या छ, त्यसको समस्या समाधान गर्न कसैलाई मतलब छैन,योजना बनाएर अगाडि बढ्नु पर्छ अनि बल्ल हाम्रो समस्याको समाधान हुन्छ ।’
कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख मोहम्मद शकिल अहमद आकाशे पानीको भरमा पर्ने किसानहरूले रोपाईं गर्न समय लाग्ने बताए । उनी भन्छन्, ‘९० प्रतिशत कृषकहरूले धानको बियाड तयार पारी सक्नु भएको छ । तर, रोपाई भने करिब ३ प्रतिशतले गर्नु भएको अनुमान छ ।’ जहाँ कृषकलाई सिंचाईको व्यवस्था राम्रो छ त्यहाँ रोपाई सुरु भएको उनले बताए । उनले भने, ‘मनसुन पनि सुरु भैसकेको छ बाँकी कृषकहरूको धान रोपाइको गति वढ्दै जान्छ ।’ बाँकेमा जिल्लामा करिब ३४ हजार हेक्टर क्षेत्रफलमा धानको खेती गर्ने अनुमान कृषि ज्ञान केन्द्रको रहेको छ ।
प्रदेश स्तरीय राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सवमा लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रालय मन्त्री चेक्र नारायण अर्याल, आन्तरिक मामिला तथा कानुन मन्त्रालय मन्त्री दिनेश पन्थी, जिल्ला प्रशासन बाँकेका प्रमुख खगेन्द्र रिजाल, जिल्ला प्रहरी कार्यालय बाँके प्रमुख तुल बहादुर कार्की, सशस्त्र प्रहरी बल कार्यालय बाँकेका बिमल डाँगी, विउ विजन प्रायोशाला प्रमुख दिपक सापकोटा लगायतको उपस्थिति रहेको थियो । कृषि ज्ञान केन्द्र बाँकेका प्राविधिक अधिकृत प्रेम बहादुर वलीले कार्यक्रमको सहजीकरण गरेका थिए ।






























