भरोसा बहुउद्देश्यीय सहकारी संस्थाले महिला लक्षित बचत योजना अघि सार्दै ‘भरोसा नारी सम्मान’ घोषणा गरेको छ । भरोसा नारी सम्मान क्रमिक बचत खाता सञ्चालनमा ल्याएको सहकारीले बर्षभरी उत्कृष्ट कारोबार गर्ने उक्त खाता सञ्चालकका लागि ‘भरोसा नारी सम्मान’ प्रदान गर्ने घोषणा गरेको हो ।
‘महिलाको आर्थिक सशक्तिकरणका लागि भरोसाले विभिन्न उत्प्रेरणात्मक कार्यक्रम गर्दैछ’, मंगलवार आर्थिक बर्षको पहिलो दिन ‘भरोसा नारी सम्मान क्रमिक बचत खाता’ सुरुवात गरिएको जानकारी दिंदै भरोसाका सिइओ तेज बहादुर रावलले दैनिक नेपालगन्जसँग भने, ‘आर्थिक सशक्तिकरण बिना महिला सशक्तिकरण सम्भव नभएकाले थोरै भएपनि योगदान दिने हाम्रो प्रयास हो ।’
न्यूनतम सय रूपैयाँमा खोलिने खाताबाट तमाम उपलब्धीहरू दिन खोजिएको जानकारी दिंदै सिइओ रावलले त्यसबाहेक पनि विभिन्न सामाजिक, आर्थिक गतिविधिहरूसँग खाता सञ्चालक महिलालाई जोडेर उपलब्धीमूलक सहकार्य गरिने योजना सुनाए ।
मंगलबार प्रदेशसभा सदस्य अम्बिका काफ्लेले ‘भरोसा नारी सम्मान क्रमिक बचत खाता’ शुभारम्भ गरिन् । कार्यक्रममा बोल्दै सांसद काफ्लेले आर्थिक गतिविधिमा महिला सहभागिता आवश्यक रहेको औंल्याइन् । त्यसका लागि बैंक तथा वित्तीय संस्थाहरूले उत्प्रेरणात्मक कार्यक्रम ल्याउन उनको सुझाव थियो ।
संस्थाका कोषाध्यक्ष मिना कुमार बोगटीको अध्यक्षतामा भएको कार्यक्रममा बाँके जिल्ला घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष मधु खड्का, भरोसाका उपाध्यक्ष टंक बहादुर विष्ट, भरोसाका अधिकृत इन्दिरा बुढामगर लगायत सहभागी थिए । कार्यक्रममा पछिल्लो आर्थिक बर्ष २०८०÷०८१ मा उच्चतम कारोबार गर्ने बचतकर्ता महिलाहरूको तर्फबाट विभिन्न उपहार सहित देवी सिंहलाई सम्मान गरिएको थियो । प्रमुख अतिथि सांसद काफ्लेले सम्मानित व्यक्तित्व सिंहलाई सम्मान पत्र सहित उपहार प्रदान गरिन् ।