वीरेन्द्र जैसी
नेपालगन्ज गुलरिया सडकको स्तरोन्नतिले यात्रामा सहजता ल्याइरहँदा बाँकेको खजुरा बजार क्षेत्रको सडकले यस सडकमा यात्रा गर्ने सबैलाई हैरानी दिन्छ । निर्माण कम्पनी गजुरमुखिको लापरबाही र निर्माण कम्पनीलाई गुणस्तरीय काम गराउन नसक्ने सडक विभागको लाचारीले यस क्षेत्रको सडक गुणस्तरहीन बनेको छ । त्यसैमाथि उक्त बजारको मध्य भागमा पर्ने पेडारी नालाको पुलको योजना सडक स्तरोन्नति गर्दा छुटाइँदा अहिले यो सडक हुँदै यात्रा गर्ने बाँके बर्दियावासीहरुले हैरानी खेप्नुपरिरहेको छ । साँघुरो र जीर्ण पुल कतिबेला भत्किने हो ठेगान छैन ।
बुधबार निरन्तरको वर्षापछि पेडारी नालामा बाढी आयो । हरेक वर्षजस्तै पानी सडकमाथिबाट गग्न थाल्यो । मानिस र दुईपांग्रे सवारी साधनसमेत बगाउन सक्ने पानी सडकबाथिबाट बग्न थालेपछि खजुरा गाउँपालिकाले स्काउट विद्यार्थीहरुलाई उक्त स्थानमा मानिसहरुलाई सघाउन सहकार्य गर्याे । एउटा ट्रयाक्टर मानिसहरुलाई वारपार गराउन तैनाथ गराइयो । एसईईको मौका परीक्षा दिने विद्यार्थीहरुदेखि लिएर महिला, बालबालिका र ज्येष्ठ नागरिकहरुले बुधबार दिनभर कष्टपूर्ण यात्रा गर्नुपर्याे ।
भेल तर्नका लागि गाउँपालिकाको ट्याक्टरमा बसेका एक स्थानीयले नेताहरुप्रति आक्रोश पोखे । उनले नेताहरुको लाचारी र जनतालाई दिइरहेको सास्तिले आजित भएर बंगलदेशको जस्तै अवस्था निम्तन सक्ने बताए । यो त उनीहरुका लागि लाजमर्दाे हुनुपर्ने हो । रमिता हेरिरहेका होलान् । श्रीलंका र बंगलादेशमा भयो । अब सुरुवात हुँदैछ ।
यात्रुहरुलाई सघाउन खटिएका नेपाल स्काउट लुम्बिनी प्रदेश सदस्य एवं आदर्श माविका शिक्षक गोपाल प्रसाद अधिकारीले नेपालगन्ज गुलरिया सडक आर्थिक करिडोर भएपनि यसलाई राज्यले बेवास्ता गरेको उदाहरण पेडारी नालाको पुलको अवस्था रहेको बताए । खजुरा गाउँपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र मल्लले खजुराबाट प्रतिनिधित्व गर्ने साँसदहरुले र स्थानीय तहले प्रभावकारीरुपमा उक्त पुल स्तरोन्नतिका लागि आवाज उठाउन नसकेका कारण नागरिकहरुले दुःख पाइरहेको बताए । उनले सबैले मिलेर उक्त पुलको सधारका लागि यथासम्भव लाग्नुपर्नैमा जोड दिए ।