सहकारीले आर्थिक विकासको आधार तयार गर्ने भएकाले त्यसतर्फ सम्बद्ध सदस्यहरू नै गम्भीर हुनुपर्ने औंल्याइएको छ । नेपालगन्जमा शनिबार भरोसा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको तेस्रो बार्षिक साधारणसभामा उपस्थित सहकारी क्षेत्रका विभिन्न प्रतिनिधिहरूले राम्रो काम गर्ने सहकारीको चर्चा भन्दा बिगार्नेहरूको चर्चाले आन्दोलन कमजोर भएको टिप्पणी गरे । उनीहरूको भनाइ थियो, ‘सीमित खराब सहकारीका कारण सिंगो सहकारी आन्दोलनलाई नै बदनाम गरिंदा आर्थिक विकासको आधार कमजोर हुने जोखिम देखा पर्यो ।’
सहकारी आन्दोलनको आधार बलियो बनाउँदै सदस्यहरूलाई आफु, आफु सम्बद्ध संस्थामा सक्रिय हुन सचेत बनाउनु पर्ने सहकारी अभियन्ताहरूको भनाइ छ । ‘राज्यको नियामक निकाय गैर जिम्मेवार हुँदा सहकारी आन्दोलनमा खराब व्यक्तिहरूले प्रश्रय पाए’, सहकारीका विज्ञहरू भन्छन्, ‘त्यही निहुँमा सिंगो सहकारी आन्दोलनलाई नै कमजोर बनाउने खेल सुरु भयो ।’ उनीहरूले सहकारी स–साना वित्तिय कारोबारका लागि निकै महत्वपूर्ण भएकाले त्यसतर्फ गम्भीर हुँदै प्रत्येक बचतकर्ता सदस्य र प्रत्येक ऋणि सदस्य जिम्मेवार तथा जवाफदेही भएर सहकारी बलियो बनाउनु पर्नेमा जोड दिए ।
भरोसा बहुउद्देश्यीय सहकारी संस्थाको तेस्रो साधारणसभा उद्घाटन गर्दै जिल्ला सहकारी संघ बाँकेका उपाध्यक्ष मिना सिग्देलले खराब काम गर्ने सहकारीहरूलाई निगरानी गरेर नियमनका लागि सचेत बनाउँदै आएको बताइन् । प्रदेश सहकारी संघको उपाध्यक्ष समेत रहेकी सिग्देलले राम्रा सहकारीलाई बलियो बनाउँदै आर्थिक विकासको आधार मजबुत बनाउनु पर्ने भावना राखिन् ।
नेफ्स्कुन सदस्य सेवा कार्यालय बाँकेका प्रमुख छत्र प्रसाद धमलाले सहकारी सचेतनाका लागि आवश्यक प्रशिक्षण दिंदै भरोसाका शेयर सदस्यहरू बीच विभिन्न जानकारी प्रस्तुत गरेका थिए । उनले सञ्चालकका भरमा सहकारी बलियो नहुने भएकाले प्रत्येक शेयर सदस्य जागरुक हुनुपर्ने औंल्याए ।
राष्ट्रिय सहकारी बैंक लिमिटेड नेपालगन्ज शाखा प्रबन्धक प्रकाश थपलियाले सहकारीहरू मार्फत भैरहेको आर्थिक कारोबारको ठूलो हिस्सा उत्पादनमूलक काममा लागेको बताए । सीमित सहकारीका कमजोरीलाई राम्रो सहकारीका असीमित योगदानसँग जोडेर सहकारी आन्दोलनलाई कमजोर बनाउन नहुने तर्क थपलियाको थियो ।
भरोसाका अध्यक्ष बम बहादुर रावलको अध्यक्षतामा भएको साधारणसभा उद्घाटन कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत तेज बहादुर रावलले हालसम्मको आर्थिक कारोबार, लगानीका क्षेत्र, प्राथमिकता र आगामी कार्ययोजनाको प्रस्तुतिकरण दिएका थिए । कार्यक्रममा आर्थिक बर्ष २०८०÷०८१ मा उत्कृष्ट कारोबार गर्ने शेयर सदस्यहरू कमल प्रसाद पौडेल, रामकुमार सिंह राठौर, मो. सरिफ बागवान, पदम बहादुर विक, राजन ढुंगाना, भीम बहादुर चौधरीलाई कदर पत्र प्रदान गरी सम्मान गरिएको थियो ।
त्यस्तै, भरोसा स्मार्ट मोबाइल बैंकिङ्ग एप तथा एसएमएस बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको भरोसाले त्यसमा उत्कृष्ट कारोबार गर्ने देवी सिंहलाई पुरस्कृत गर्यो । उत्कृष्ट बचतकर्ताका रूपमा धर्मेन्द्र बहादुर सिंह तथा लगानीकर्ता तर्फ शंकर शाह, कृष्ण प्रसाद काफ्ले, रिया कार्की र मो. आवेश जसगढलाई सम्मान गरिएको भरोसाका प्रमुख कार्यकारी अधिकृत रावलले जानकारी दिए ।
शनिबार नै बन्दसत्रले अघिल्लो आर्थिक बर्षको प्रतिवेदन पारित गर्दै आगामी आर्थिक बर्षको बार्षिक लक्ष्य, बजेट र योजना तथा कार्यक्रम समेत पारित गरेको प्रमुख कार्यकारी अधिकृत रावलले बताए । उनका अनुसार, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन लेखा समिति संयोजक समिर पौडेल र आर्थिक प्रतिवेदन कोषाध्यक्ष मिना बोगटीले प्रस्तुत गरेकी थिइन् । अध्यक्ष बम बहादुर रावलले आगामी कार्ययोजना प्रस्तुत गर्दै १ हजार ५ सय ७४ शेयर सदस्यता ३ हजार ५ सय पुर्याउने प्रक्षेपण गरे । सदस्यता खाता समेत पाँच हजार पुर्याउने योजना बनाइएको प्रमुख कार्यकारी अधिकृत रावलले जानकारी दिए ।
साधारणसभाले सञ्चालक समितिको सचिवमा विकास भट्टराईलाई चयन गर्दै लेखा सुपरिवेक्षण समितिको सदस्यमा मो. सहवाज हलवाई र उपेन्द्र प्रताप सिंहलाई नियुक्त गरेको छ । अघिल्ला जिम्मेवार पदाधिकारीले दिएको राजिनामा स्वीकृत गर्दै साधारणसभाले नयाँ नियुक्ति गरेको अध्यक्ष रावलले जानकारी दिए ।