बाँकेमा ठूलो परिणाममा रकम बोकेर हिड्ने प्रहरीको निगरानीमा पर्दै आएका छन् । बाँके प्रहरीले ठूला परिणाममा नेपाली तथा भारतीय रूपैयाँ बोकेर हिडेको थाहा पाए स्रोतको सोधखोज गर्ने र स्रोत नखुले नियन्त्रणमा लिने गरेको छ ।
बाँके प्रहरीले शुक्रबार मात्रै स्रोत नखुलेको करिव ४ लाख भारतीय रूपैयासहित एकजना नियन्त्रणमा लिएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नं. ४ स्थित एउटा किराना पसल खानतलासी गरेको प्रहरीले ३ लाख ८८ हजार भारतीय रूपैयाँ सहित एक व्यक्तिलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख तथा प्रहरी उपरिक्षक तुलबहादुर कार्कीले सुराकीले दिएको सूचनाको आधारमा धिरेन्द्र सिंजापतिले सञ्चालन गरेको किराना पसलमा खानतलासी गर्दा उक्त रकम फेला परेको बताएका छन् ।
प्रहरीले सिजापतिको किराना पसलबाट ५ सय दरका ६ सय ५० र २ सय दरका ३ सय १६ वटा नोट गरी जम्मा भारतिय रूपैया ३ लाख ८८ हजार २ सय बरामद गरेको जानकारी दिएको छ ।
बाँके प्रहरीले सिजापतिलाई रकम सहित आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय कोहलपुर बाँकेमा पठाएको जानकारी दिएको छ ।