हिजो राती जयन्दु बाल सुधार गृहमा भएको झडपमा ६ जना घाइते भएपछि स्थिति नियन्त्रणमा लिन पुगेको प्रहरीमाथि नै ढुंगामुढा भएको छ ।
बाँके प्रहरी प्रमुख तुल बहादुर कार्कीले पटकपटक वार्ताको आव्हान गरिरहेपनि बालबिज्याईकर्ताले प्रहरीमाथि नै ढुंगामुढा गरिरहेका छन् । प्रहरीले सुधार गृहबाहिरबाटै माइकिङ्ग गरी बालबिज्याईकर्तालाई संयमित हुन आग्रह गरिरहेको छ ।
जयन्दु बाल सुधार गृहमा रहेका बालबिज्याईकर्ताले बाल सुधार गृह तोडफोड गर्नुको साथै आगजनी गरेका छन् ।
सुरक्षा फौज भित्र पस्न नसकेको अवस्थामा बाल सुधार गृह भित्र के भइरहेको छ भन्ने बारेमा एकिन जानकारी आइसकेको छैन भने बाँकेका सिडिओ धर्मराज जोशी र सशस्त्र प्रहरीका एसपी शोभाकान्त खनाल पनि घटनास्थलमै रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।
गएरातिदेखि सुरु भएको झडपमा घाइते भएका ६ जनाको भेरी अस्पतालमा उपचार भइरहेको बाँके प्रहरीले जानकारी दिएको छ । बाल सुधार गृह बाहिर नेपाल र प्रहरी सशस्त्र प्रहरी ठूलो संख्यामा तैनाथ छन् ।































