महेन्द्र पुस्तकालयले सामुदायिक विद्यालयमा पछिल्लो कक्षा १२ का छात्राहरू मध्ये उत्कृष्ट नतिजा ल्याउने त्रिभुवन मावि कोहलपुरकी छात्रा संगीता कटुवाललाई पुरस्कृत गरेको छ । डा. कृष्णजंग राणाले स्थापना गरेको शान्ता राणा शैक्षिक पुरस्कार’ पछिल्लो कक्षा १२ को परीक्षामा जिल्लामै सबैभन्दा बढी ३.५८ जिपिए प्राप्त गरी जिल्ला सर्वोत्कृष्ट हुने छात्रा संगीतालाई प्रदान गरिएको महेन्द्र पुस्तकालयका सचिव मणिदेव अर्यालले जानकारी दिए ।
पुस्तकालयका अध्यक्ष बलराम यादवको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेपालगन्ज उपमहानगरपालिकाका कार्यवाहक नगर प्रमुख कमरुद्दिन राई, बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी र अध्यक्ष यादवले संयुक्त रूपमा सम्मान तथा पुरस्कृत गरे । पुरस्कार बारे पुस्तकालयका सदस्यले प्रकाश पारेका थिए भने उपाध्यक्ष पंकज कुमार श्रेष्ठले सहभागीलाई स्वागत मन्तव्य व्यक्त गरे ।
कार्यक्रममा पूर्व प्रधानाध्यापक विष्णुमान श्रेष्ठ, प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्य सशीराम कार्की, वरिष्ठ लेखक नरेन्द्रजंग पिटर लगायतले सामुदायिक शिक्षा र पठन संस्कृति लगायतका विभिन्न विषयमा आफ्ना धारणा राखेका थिए । प्रजिअ जोशीले पुस्तकालयको महत्वबारे धारणा राखेका थिए भने अध्यक्ष यादवले आगामी योजना समेत कार्यक्रममा प्रकाश पारेका थिए ।































