जिल्ला प्रहरी कार्यालय बाँकेले मेघा बचत तथा ऋण सहकारी संस्था लिमिटेड नेपालगन्ज–२ का बचतकर्तासँग उजुरी माग गरेको छ । लामो समयदेखि संस्था नै बन्द गरी सञ्चालक बेपत्ता भएपछि संस्था विरुद्ध कारवाही प्रक्रिया अघि बढेको थियो ।
बाँके प्रहरी प्रवक्ता, प्रहरी नायब उपरीक्षक दिपक पातलीले सहकारी दर्ता अधिकारीको कार्यालयलाई उद्धृत गर्दै उजुरी माग गरेका हुन् ।
मेघा बचत तथा ऋण सहकारी संस्था लिमिटेड संचालक समिति तथा पदाधिकारीहरूले कार्यालय बन्द गरी सम्पर्क बिहिन भएको, आर्थिक अनियमितता गरेको, बचतकर्ताको बचत फिर्ता नगरेको बिषयमा सहकारी दर्ता अधिकारीको कार्यालय देउखुरी दाङबाट अनुगमन तथा निरीक्षण गर्न टोली गठन भएको थियो । उक्त टोलीले मेघा बचत तथा ऋण सहकारी संस्था लिमिटेड नेपालगञ्जमा सहकारी सिद्दान्त र मूल्य मान्यता विपरित कारोबार भएको, कानूनको परिपालना नभएको यथाशीघ्र लेखा परिक्षण गराई विज्ञहरूको संलग्नतामा छानविन समिति गठन गरी संस्थाका अध्यक्ष तथा पूर्व कर्मचारीहरू उपर अवश्यक अनुसन्धान गर्नुपर्ने औंल्याएपछि कानुनी प्रक्रिया अगाडि बढाइएको हो ।
प्रहरीले मेघा बचत तथा ऋण सहकारी संस्था नेपालगन्जका बचतकर्तालाई १५ दिनभित्र प्रमाण सहित जिल्ला प्रहरी कार्यालय बाँकेमा दरखास्त सहित सम्पर्क गर्न सूचना जारी गरेको हो ।